कहाँबाट आयो नेपालगञ्जमा गोलीका २ हजार खोका ?

काठमाडौँ/ईकान्तिपुर—बाँकेको नेपालगञ्जमा बरामद भएको गोलीको खोका प्रहरीको तालिम केन्द्रबाट लगिएको पाइएको छ । नेपालगञ्ज–३, एकलैनीमा बरामद २ हजार ९६ वटा गोलीका खोकाको स्रोत खोज्दै जाँदा त्यो कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रको भएको पाइएको हो । यो तालिम केन्द्र नेपालगञ्जमै छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी अंगुर जिसीका अनुसार, प्रहरीको तालिम केन्द्रमा प्रयोग भइसकेका गोलीका खोका लिलाम गरेर बिक्री गर्ने गरिन्छ ।

Advertisement

‘यो घटनामा त्यसरी बिक्री भएको खोका चोरी गरेर उनीहरुले लगेको पाइएको छ, चोरीमा संलग्न दुईजना पक्राउ परेका हुन्,’ उनले कान्तिपुरसँग भने, ‘हामीले लिलामीमार्फत लैजाने मान्छेसँग समेत सोधपुछ गरेका छौं ।’

प्रहरीले एक साताअघि शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा भारतीय नागरिक ३५ वर्षीय राजु कुछबन्धिया र बारबर्दिया नगरपालिकाका मोहिनुदिन शेषलाई पक्राउ गरेको थियो । त्यसक्रममा उनीहरुको साथमा प्रयोग भइसकेको अवस्थामा गोलीका खोका बरामद भएका थिए ।

प्रहरीका अनुसार, प्रयोग भइसकेको गोलीका खोका भाडाकुँडा बनाउन काम लाग्छ । त्यसैले यसको किनबेच हुने गरेको छ । प्रहरीले सुरुमा उनीहरुलाई अभद्र व्यवहारको कसुरमा म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो । अहिले चोरी वा अन्य कसुरमा मुद्दा चल्नसक्ने स्थिति छ । तर, जाहेरी आएको छैन ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु