काठमाडौँ/ईकान्तिपुर — दसैं बिदापछिका दुई कारोबार दिनमा मात्र नेप्से परिसूचक झन्डै १ सय ४ अंकले घटेको छ । मंगलबार ५८.५५ र बुधबार ४५.३६ गरेर दुई दिनमा कुल १०३.९१ अंकले नेप्से घटेको हो । दसैंअघि असोज १२ आइतबार नेप्से करिब साढे ११ अंकले बढेर बन्द भएको थियो । तर, दसैंपछिको बजारमा भने लगानीकर्ताको आत्मविश्वास बढ्न सकेन । जसकारण दुई दिन निरन्तर नेप्से उच्च अंकले घटेको छ ।
त्यसो त यही कारणले सेयर बजार ओरालो लागेको हो भन्ने पनि स्पष्ट छैन । जेन–जी आन्दोलनका कारण धेरै संरचनामा क्षति पुगे पनि तीमध्ये सूचीकृत भएका कम्पनी निकै कम छन् ।
Advertisement
सूचीकृत भएका कम्पनीहरूको पनि बजार हिस्सा निकै कम छन् । यसकारण सेयर बजार घट्नुको कारण यही हो भन्न सकिने अवस्था छैन । तर, विगतमा जस्तो फेरि पनि मुलुकमा राजनीति अस्थिर बनेको छ । यसले लगानी वातावरण बिग्रिएकाले लगानीकर्ताको आत्मविश्वास बढ्न नसकेको एक धितोपत्र ब्रोकरले बताए । लगानीको वातावरण नभएसम्म अल्पकालमा केही लगानी भित्रिएको देखिए पनि उनीहरू लगानीकर्ता नभई कारोबारी (ट्रेडर) मात्र हुने र त्यसले बजारको दिगो विकास हुन नसक्ने उनको भनाइ छ ।
अघिल्लो दिनको तुलनामा ४५.३६ अंक अर्थात् १.४७ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ५ सय ५९.५९ अंकमा ओर्लेको छ । बुधबार पनि नेप्से करिब ५८ अंकले घटेको थियो ।
सो दिन कारोबारमा आएकामध्ये १८ कम्पनीको सेयर मूल्य बढ्दा २३२ कम्पनीको घटेको छ भने एउटाको स्थिर छ । यसरी सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनी धेरै भएपछि समग्र नेप्से उच्च अंकले घटेको हो ।
बुधबार ६३ हजार ५ सय ९ पटकको कारोबारमा १ करोड ३७ लाख ४९ हजार ५ सय ४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ७६ करोड २७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । मंगलबार ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।
घटेको बजारमा पनि सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ऋणपत्र, आत्मनिर्भर लघुवित्त, थ्रीस्टार हाइड्रोपावर हाइड्रोपावरलगायत १८ कम्पनीका लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको छ । ती कम्पनीको सेयर मूल्य बढेपछि लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको रूपमा विश्लेषण गरिएको हो ।
प्रभु इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, फस्ट माइक्रोफाइनान्स लघुवित्त, सयपत्री हाइड्रोपावरलगायत २ सय ३२ कम्पनीका लगानीकर्ताको भने सम्पत्तिको मूल्य घटेको छ । किनकि यी कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा बुधबार नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अघि छ । यो कम्पनीको २६ करोड १६ लाख रुपैयाँ कराबरको सेयर कारोबार भएको छ ।
गएको दुई दिनमा सेयर बजार घटेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि करिब पौने २ खर्बले खुम्चिएको छ । दसैंअघि ४४ खर्ब ५२ अर्ब रुपैयाँ रहेको रहेको कुल बजार पुँजीकरण बुधबार ४२ खर्ब ७८ अर्ब कायम भएको छ । यसले सेयर बजारको आकार १ खर्ब ७३ अर्बले खुम्चिएको देखाउँछ ।









