गनी अन्सारी
बीबीसी – विदेशमा रहेका नेपालीहरूको मताधिकारबारे विभिन्न तह र तप्काबाट खास गरी चुनावको सेरोफेरोमा चासो व्यक्त हुने गरेको छ।
उदाहरणका लागि फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचनमा पनि त्यस्ता मतदातालाई समेट्नुपर्ने विषयमा आवाज उठिरहेको छ। तर कामको सिलसिलामा देशभित्रै आफ्नो जिल्ला एवं निर्वाचन क्षेत्रबाहिर रहने मतदाताबारे खासै चासो दिने गरेको पाइँदैन।
Advertisement
विदेशमा रहेका नेपाली मतदातालाई मतदानमा सहभागी गराउनुपर्ने माग उठ्दै आएकामा देशभित्रै आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रबाहिर रहने ठूलो सङ्ख्यामा मतदाताहरू मताधिकारबाट वञ्चित हुँदै आएका छन्।
निर्वाचनमा खट्ने सुरक्षाकर्मी तथा सरकारी कर्मचारीहरू चाहिँ अपवादमा पर्ने गरेका छन्, जसले एउटा निर्वाचन प्रणालीअन्तर्गत मत हाल्न पाउने गरेका छन्।
विगतमा चुनावका लागि खटिने सुरक्षाकर्मी र कर्मचारीहरूले चाहिँ समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्ने अभ्यास रहेको देखिन्छ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार अस्थायी मतदाता नामावली तयार गरेर ती व्यक्तिहरूलाई मतदानमा सहभागी गराउँदै आइएको हो।
‘अध्ययन भइरहेको छ’
देशभित्रै रहेर पनि मतदान गर्न नपाउने मतदातालाई आसन्न चुनावमा समेट्न सकिने वा नसकिनेबारे आयोगले स्पष्ट रूपमा केही भनिसकेको छैन।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले त्यसबारे आयोगले आवश्यक अध्ययन गरिरहेको बताए।
“त्यस्ता मतदाताहरूलाई मतदानमा सहभागी गराउने विषयमा अहिले अध्ययन भइरहेको छ। उहाँहरूलाई समेट्ने प्रयास रहन्छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।
उनीहरूलाई आसन्न आमनिर्वाचनमै मतदानको व्यवस्था गर्न सकिने वा नसकिने कुरा अहिल्यै भन्न सक्ने अवस्था नरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई बताउँछन्।
आवधिक निर्वाचनबारे पहिल्यैदेखि जानकारी हुने भए पनि यसपालि अचानक घोषणा भएको चुनावले आयोगलाई चुनौती थपिदिएको भट्टराईको तर्क छ।
“त्यसकारण होला कि नहोला, त्यसै भन्न सकिन्न। तथापि गर्न सकिएला कि भन्ने हिसाबले कोसिस भइरहेको छ। के सकिन्छ, त्यो पछि सार्वजनिक गर्ने छौँ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।
देशभित्रै जिल्ला तथा निर्वाचन क्षेत्रबाहिर हुने मतदाताहरूलाई मतदानमा सहभागी गराउँदा कस्ता अप्ठ्यारा आउन सक्छन् भन्नेबारे अध्ययन भइरहेको भट्टराईले उल्लेख गरे।
आयोगले विदेशमा रहेका नेपाली मतदाताको मताधिकारबारे पनि अध्ययन भइरहेको बताएको छ।
‘अनलाइन माध्यमबाट गर्न सकिन्छ’
विदेशमा रहेका नेपाली मतदाताहरूलाई मताधिकारको प्रयोग गर्न दिनुअघि देशभित्रकै सबै मतदातालाई सहभागी गराउनुपर्नेमा कतिपय जानकारको जोड छ।
भूतपूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती त्यसो गर्न सकिए विदेशमा रहेका नेपाली मतदातालाई पनि मतदान दिने व्यवस्था गर्ने आधार तयार हुने बताउँछन्।
“अफ द कन्स्टिच्युअन्सी, अफ द डिस्ट्रिक्ट मतदातालाई मतदानको व्यवस्था कसरी गर्ने भन्ने यक्षप्रश्न रहिआएको छ। इच्छाशक्ति भए यसै चुनावमा त्यो गर्न सकिन्छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।









