बाँके— तीहार नजिकिदै गर्दा भारतबाट मजदुरी गरी घर फर्किने नेपालीहरुको लार्को लाग्न थालेको छ । दसैंमा घर आउन नसकेका उनीहरु तीहारको मुखमा नेपालगन्ज नाका भएर धमाधम फर्किरहेका छन् । आर्थिक अवस्था कमजोर भएका पहाडी जिल्लाका हजारौ नेपाली भारतको सिमला, कालापहाड लगायतका क्षेत्र मजदुरी गर्न जाने गरेका हुन ।
तीहार मनाउन भारतबाट मजदुरी गरी दैनिक करिव पाँच सय नेपाली घर फर्किरहेको सीमास्थित जमुनाहा प्रहरी कार्यालयले जनाएको छ । दसैंमा पनि नेपालगन्ज सीमा नाकाबाट हजारौ नेपाली घर फर्केका थिए ।उनीहरुले वर्ष दिनको चाडपर्व परिवारसंग बसेर मनाउन घर फिर्ता भएको बताए ।
Advertisement
एक वर्षअघि मजदुरीका लागि भारत गएको उनीहरुको भनाई छ । ‘घरको खेतबारीले खाना नपुगेपछि नचाहेर पनि पैसा कमाउन भारत जाने गरेका छौ । चाडपर्व मनाएर फेरि मजदुरी गर्न उतै जानु पर्ला,’ भारतमा मजदुरी गरी घर फर्किरहेका सल्यानका सुनिल डांगीले भने,‘चाडपर्वमा मात्रै आफ्नो घरपरिवारसंग बस्न पाईन्छ ।’
उनले आफू जस्तै हजारौ नेपालीहरु भारतका विभिन्न स्थामा मजदुरी गरिरहेको बताए । सयौं नेपाली वर्षौदेखि घर नपर्किन नपाएको सुनिलको भनाई छ ।









