कर्णाली विकास बैंक घोटालाको फाइल सीआईबीमा कसले नष्ट गर्‍यो ?

काठमाडौँ/ईकान्तिपुर— जेन–जी आन्दोलनका बेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को आर्थिक अपराध अनुसन्धान गर्ने ‘पिलर’ मा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणका केही कागजात नष्ट भएको खुलेको छ। लाजिम्पाटस्थित सीआईबीको भुइँतलामा रहेको आर्थिक अपराधसम्बन्धी पिलरमा तोडफोड गर्दै प्रदर्शनकारीले कर्णाली विकास बैंकको ९ सय पृष्ठको मिसिल सडकमा ल्याएर आगो लगाएको पाइएको हो ।

ब्युरोका प्रहरी उपरीक्षक (एसपी) निरञ्जनदत्त भट्टका अनुसार बैंकको अनियमितता प्रकरणबारे अनुसन्धानपछि तयार गरिएका बयान र सोधपुछका कागजातसहितका मिसिल जलेका छन् । ‘बयान भएको ९ सय पृष्ठको कागजात बाहिर निकालेर उडाएको सीसी टीभी फुटेजमा देखिन्छ,’ उनले भने, ‘सिसा फुटाएर ती मिसिल लगेको देखिन्छ ।’ उनका अनुसार कतिपय कागजमा आगोसमेत लगाइएको थियो ।

Advertisement

सीआईबीले यो अनियमितता प्रकरणमा दुई महिनाअघि नै अनुसन्धान सकेर ३ अर्ब २० करोड रुपैयाँ घोटाला भएको निष्कर्षसहितको प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालय, बाँकेमा बुझाएको थियो ।

सीआईबीले यस प्रकरणमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय, तत्कालीन प्रमुख वित्त अधिकृत वेदप्रकाश सिंह ठकुरी, तत्कालीन सञ्चालक समिति अध्यक्ष पशुपति दयाल मिश्र र भुवन बस्नेतलाई पक्राउ गरेको थियो । उनीहरूसहित १ सय ७ जनालाई प्रतिवादी बनाएर बैंकिङ कसुरको मुद्दा दायर गरिएको थियो ।

यस प्रकरणका प्रतिवादी मिश्र एमालेका केन्द्रीय सदस्यसमेत हुन् । उनी २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके–२ बाट उम्मेदवार बनेका थिए । त्यसबेला एमालेको चुनाव चिह्न मात्र लिएका उनी पराजित भएका थिए । उनी पछि पार्टी प्रवेश गरे । नेपालमा बैंक घोटाला गरेर भागेका रायचाहिँ भारतको लखनउमा अपार्टमेन्ट लिएर बसेका थिए ।

प्रहरीका अनुसार उनी बैंकिङ कसुरमा संलग्न रहँदै विभिन्न राजनीतिक दलसँग समेत निकट थिए । कुनै बेला राप्रपासँग जोडिएका उनी २०७९ सालतिर एमाले प्रवेश गरेका थिए । त्यही वर्ष उनी सल्यानबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए । चुनावमा पराजय भोगेपछि उनी एमाले छाडेर नागरिक उन्मुक्ति पार्टीमा लागेका थिए । पछिल्लो पटक उनी माओवादी केन्द्रतिर प्रवेश गरेका थिए ।

नेपालगन्जमा प्रधान कार्यालय रहेको यो बैंक १० पुस २०८१ मा संकटग्रस्त घोषित भएको थियो । त्यसपछि राष्ट्र बैंकले पठाएको पत्रअनुसार सीआईबीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा बैंकका कर्मचारीले भल्ट र काउन्टरबाट सिधै नगद झिकेर लगेकोदेखि नक्कली ऋणी खडा गरेरसमेत रकम अपचलन गरिएको फेला पारेको थियो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, ऋणीका नाममा जग्गा पास भएपछि धितो राख्ने गरेरसमेत औद्योगिक कर्जा प्रवाह गर्ने र त्योसमेत उद्योगका लागि प्रयोग नगर्ने गरेको पाइएको थियो । बचतकर्ताको रकम अन्य बैंकमा जम्मा गरेको भन्दै कागजात बनाएर रकम जम्मा नै नगरिएको समेत फेला परेको अधिकृतहरू बताउँछन् ।

सीआईबीले यस प्रकरणको अनुसन्धानका क्रममा राष्ट्र बैंकका पूर्वअनुगमन अधिकृत भुवन बस्नेतलाई समेत पक्राउ गरेको थियो । बैंक गम्भीर संकटमा भएका बेलासमेत उनले बैंकको अवस्था ठीक रहेको भन्दै प्रतिवेदन दिएको आरोप प्रहरीले लगाएको थियो । बैंक संकटमा परेका बेलासमेत ठीकठाक रहेको भन्दै अनुगमनमा खटिएका कर्मचारीले दिएको प्रतिवेदन फेला परेपछि सीआईबीले त्यसतर्फ छानबिन अघि बढाएको थियो ।

‘उनलाई कर्णाली विकास बैंकका अधिकृतहरूले विभिन्न प्रलोभन देखाएको पाइएको छ, उनको खातामा करिब १० लाख रुपैयाँ गएको समेत भेटिएको थियो,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘बयानमा उनले त्यो रकम आफ्नो सम्पत्ति बेचेर आएको जिकिर गरेका थिए ।’

यो प्रकरण उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा विचाराधीन छ । अदालतले प्रारम्भिक सुनुवाइपछि पूर्वप्रमुख कार्यकारी अधिकृत राय, पूर्वअध्यक्ष मिश्र र वित्त विभाग प्रमुख ठकुरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । राष्ट्र बैंकका पूर्वकर्मचारी बस्नेतलाई चाहिँ २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको थियो ।

बैंकका संस्थापक अध्यक्षसमेत रहेका रायविरुद्ध २ अर्ब ६३ करोड ३२ लाख १६ हजार ५ सय ९७, पूर्वअध्यक्ष मिश्रका नाममा ८२ करोड ४६ लाख २९ हजार र बैंकका वित्त शाखा प्रमुख सिंह ठकुरीका नाममा २४ करोड ६३ लाख ९९ हजार रुपैयाँ बिगो कायम गरिएको थियो ।

गम्भीर प्रकरणको मिसिल नष्ट गर्नु पछाडि स्वार्थ समूहको संलग्नता हुन सक्ने कतिपय जानकारहरू शंका गर्छन् । ‘अदालत र सरकारी वकिलको कार्यालयमा समेत निश्चित फाइल जलाइएको कुरा आएको छ, त्यसले जेन–जी आन्दोलनका नाममा अरू स्वार्थ समूह छिरे कि भन्ने शंका गर्ने ठाउँ दिन्छ,’ सीआईबीका पूर्वप्रमुखसमेत रहेका हेमन्त मल्ल ठकुरी भन्छन्, ‘त्यसैले अनुसन्धान प्रतिवेदन, अदालतमा भएका मिसिललगायतमा कसरी आगजनी भयो भन्ने विषयमा विस्तृतमा जाँच गर्नुपर्छ ।’

कर्णाली विकास बैंकको फाइलबाहेक सीआईबीको तीन वटा सीपीयूमा क्षति पुगेको छ । त्यसको हार्डडिस्क रिकभरीका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाइएको अधिकृतहरू बताउँछन् । ‘दुई वटा ल्यापटप र एउटा मोबाइलसमेत लगिएको छ, ती सबैबारे जाँच भइरहेको छ,’ ब्युरोका एसपी भट्ट भन्छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु