बर्दिया /ईकान्तिपुर— बर्दिया राष्ट्रिय निकुञ्जले खौराहा खोलामा १० वटा गोही छाडेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक बुद्धि सागर पौडेल र वन्यजन्तु आरक्ष निर्देशनालयका सहायक रथी पुरन भक्त घले समेतको संयुक्त टोलीले खोलामा गोही छाडेका हुन्।
बर्दिया निकुञ्जको मुख्यालय, ठाकुरद्वारास्थित घडियाल प्रजनन केन्द्रबाट निकुञ्जको कटटस स्थित खौराहा खोलामा छाडेको हो ।
Advertisement
बर्दिया निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले ५ वटा भाले र ५ वटा पोथी गोही खोलामा छाडिएको बताए । छाडिएका गोही ३ देखि ८ वर्ष उमेरका रहेको उनले जनाए । घडियाल प्रजनन केन्द्रमा ठुलो १ सय ५० र सानो ७० वटा रहेका छन्।
सामान्यता एउटा गोहीले वर्षमा एघार वटा सम्म बच्चा जन्माउँछिन् । सरकारले वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार घस्रने जन्तु घडियाल गोहीलाई संरक्षित वन्यजन्तुको सूचिमा सूचीकृत गरेको थियो । नेपालको पश्चिमकै पर्यटकीय गन्तव्यको रूपमा रहेको बर्दिया निकुञ्जमा गोही संरक्षणका लागि गोही प्रजनन केन्द्रको स्थापना गरिएको छ ।
प्रजनन केन्द्र स्थापना गरिएपछि निकुञ्जमा गोहीको पालन पोषण र स्याहार गर्न थालिएको निकुञ्जले जनाएको छ । कर्णाली र बबई नदीको प्राकृतिक वासस्थानमा फेला परेका घाइते गोहीहरू र नदी किनारमा भेटिने गोहीका बेवारिसे अण्डाहरूलाई निकुञ्जको गोही प्रजनन केन्द्रमा राखी उचित स्याहार सम्भार गरिन थालेका कारण गोही संरक्षणमा सहयोग पुगेको छ ।









