बर्दियामा मान्छेमाथि आक्रमण गर्ने चितुवा बाँके राष्ट्रिय निकुञ्जमा छाडियो

 

 

Advertisement

बर्दिया/ईकान्तिपुर — डिभिजन वन कार्यालय, बर्दियाले नियन्त्रणमा लिएको समस्याग्रस्त चितुवालाई शनिबार बाँके राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ । दर्जनौँ पशु चौपाया मारेको र मानिसलाई घाइते बनाएको चितुवा जनजागृति वन, बारबर्दिया–११ मा राखिएको केजमा पसेको थियो ।

गाउँ नजिकको वनमा राखिएको केजमा रहेको बाख्रा खान खोज्दा चितुवा भित्र पसेको थियो । डिभिजन वन कार्यालयका वरिष्ठ संरक्षण अधिकृत गोपाल चौधरीले नियन्त्रणमा लिएको भाले चितुवालाई बाँके राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको बताए ।

समस्याग्रस्त चितुवा गुलरिया, मधुवन लगायत पालिकाको वन क्षेत्रमा अझै पनि भएकोले वनमा केज राखिएको छ । अझै पनि ढुक्क नहुन स्थानीयलाई सचेत गराउँदै वनका कर्मचारीले नियमित अनुगमन गरिरहेको उनले बताए । वनका कर्मचारीका अनुसार भाले भएको ठाउँमा पोथी चितुवा हुने गर्छ । त्यसैले सजक रहन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

चितुवा निकै चलाख वन्यजन्तु भएका कारण नियन्त्रणमा लिन त्यति सहज नभएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्फाहाम्फेले बताए । वनमा घना झाडी र गाउँ आसपासमा पाक्दै गरेको मकै भएकाले चितुवा लुक्न उपयुक्त स्थल भएको उनले जनाए । विगत २ वर्ष यता चितुवाको आक्रमणले स्थानीयवासी त्रसित छन् । यसै अवधिमा तीनवटा समस्याग्रस्त चितुवा नियन्त्रणमा लिई बाँके निकुञ्जमा स्थानान्तरण गरिएको डिभिजन वन कार्यालय, बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु