बिबिसी । नेपालका मध्य तथा पूर्वी जिल्लाहरूमा जङ्गली धान लोप हुँदै गइरहेको भनिएका बेला पश्चिम नेपालमा प्रशस्त मात्रामा फेला परेको छ। बाँकेमा मात्र करिब चार बिघा क्षेत्रफलमा प्राकृतिक रूपमा उम्रिने जङ्गली धान फेला परेको धानका विज्ञहरूले बताएका छन्।
Advertisement
पश्चिम नेपालमा एक्कासि धेरै मात्रामा जङ्गली धान फैलिएको जानकारी पाएपछि नेपाल राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको अनुवांशिक श्रोत केन्द्र, खुमलटारले बाँकेसहितका केही जिल्लामा जङ्गली धानको संरक्षण र प्रयोगबारे फेरि अध्ययन सुरु गरेको छ।
केन्द्रले बाँके, बर्दिया, कैलाली, कपिलवस्तु र पाल्पामा पाइने जङ्गली धानको प्रजाति, इतिहास र विशेषताबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
बाँकेमा स्थलगत अवलोकन गर्दै नमुना सङ्कलन गरेका केन्द्रका धान प्रजनन विज्ञ डा. मुकुन्द भट्टराईले भने, “बाँकेमा धेरै मात्रामा ‘निवारा’ र ‘रुफिपोगन’ गरी दुई प्रजातिको जङ्गली धान फेला परेको छ, यसको नमुना सङ्कलन गरेर थप अनुसन्धान गर्ने छौँ।”
पछिल्लो समय धेरै क्षेत्रफलमा देखिएको जङ्गली धानको बिउ डीएनए परीक्षण गर्नका लागि कैलालीबाट १० वटा र बाँकेबाट १२ वटा नमुना सङ्कलन गरिएको उनले बताए।
जङ्गली धान बाँके
डा. भट्टराईका अनुसार निवारा प्रजाति सतही पानी वा डेढ मिटरसम्मको पानीमा उम्रिन्छ भने रुफिपोगन करिब २५ फिट सम्मका गहिरा ताल–पोखरीमा पनि पाइन्छ।
उदाहरण दिँदै उनले भने, “पोखराको फेवा ताल, बेगनास ताल र कैलालीको घोडाघोडी जस्तो गहिरो तालमा समेत रुफिपोगन जातको जङ्गली धान फेला परेको छ।”
तराईका विभिन्न जिल्लामा ‘निवारा’ र ‘रुफिपोगन’ जातका धान फेला परेका छन् भने पहाडको जङ्गलमा हुने ‘ग्रानुलाटा’ जातको धान चितवनको लोथरमा मात्र फेला परेको डा. भट्टराईले बताए। ‘ग्रानुलाटा’ सुक्खा सहन सक्ने क्षमता भएको अनुसन्धानबाट पत्ता लगाइएको उनको भनाइ छ।
उनका अनुसार जङ्गली धानमा डुबान सहने, रोग किरा प्रतिरोध गर्ने, असिना पर्दा कम क्षति हुने, फट्याङ्ग्राले नखानेजस्ता विशेष गुण हुन्छन्। यी गुणलाई सामान्य धान वा अन्य अन्नबालीमा सारेर नयाँ प्रजाति विकास गर्न सकिन्छ।
“यसबाट बढी फलाउने, उत्पादन बढाउने होइन, तर रोग प्रतिरोधी वा असिना सहने गुण विकास गर्न जङ्गली धान महत्त्वपूर्ण हुन्छ,” उनले भने।
जङ्गली धानको गुण अर्को धानमा सारेर विकास गर्न करिब १२ वर्ष लाग्ने उनको भनाइ छ।
उनले थपे, “२५ वर्षअघि अर्थात् सन् २००० बाटै म स्वयंले जङ्गली धानको बारेमा अनुसन्धान गर्दै आएको छु।” सुरुमा जीन ट्रान्सफरबारे अनुसन्धान गरिएको र त्यस पश्चात् सफल जीन ट्रान्सफर गरी परीक्षण भइसकेको उनले बताए। उनका अनुसार अहिले धानमा लाग्ने रोग किरा, बाँदरलगायतका जङ्गली जनावरबाट हुने क्षति, बाढी र डुबानलाई मध्यनजर गर्दै जङ्गली धानको गुण अन्य धानमा सार्ने अनुसन्धान अघि बढाइने छ।
डाक्टर भट्टराईका अनुसार जति पनि रैथाने धान छन्, तिनका प्राकृतिक स्रोत जङ्गली धान नै हुन्। उनका अनुसार विश्वमा तीन परिवारका धान मात्र छन्, जसमा नेपालमा प्रयोग हुने ‘ओराइजा सटाइवा’ पनि पर्छ। यही प्रजातिलाई आवश्यकताअनुसार अग्लो–होचो, मसिनो–मोटो, बासना आउने–नआउने, झर्ने–नझर्ने, छिटो–ढिलो पाक्ने गरी विकास गरिएको छ।
दोस्रो प्रजाति ‘ओराइजा जपोनिका’ जापान, चीन, थाइल्यान्डलगायत समुद्री क्षेत्रमा प्रयोग हुने गरेको छ। नेपालमा प्रयोग हुने ‘ओराइजा सटाइवा’भन्दा ‘ओराइजा जपोनिका’ मानिसहरूले बढी रुचाउने गरेको पाइएको उनले बताए।
यस्तै तेस्रो प्रजाति ‘जपोनिका’ इन्डोनेशिया लगायतका देशमा पाइने उल्लेख गर्दै उनले भने, “विश्वमा विकास भएका यी तीन परिवारका धानबाट पछिल्लो समय धेरै गुण भएका धान विकास भएजस्तै जङ्गली धानको विशेषता पनि फरक–फरक रहेको अनुसन्धानले देखाइरहेको छ।”
बाँकेको नेपालगन्ज, कोहलपुर, पिपरीलगायतका ठाउँहरूमा अहिले खाली जमिन, सडकछेउ र पानी जम्ने स्थानमा प्रशस्त मात्रामा जङ्गली धान पाक्ने क्रममा देखिएको छ।
दाना क्रमशः खस्ने भएकाले बिउ सङ्कलनमा कठिनाइ हुने तर यसको विशेषता भनेको पानीभित्र खसे पनि बीउ एक वर्षसम्म सुरक्षित रहनु र अर्को सिजनमा पुनः उम्रनु हो।
नेपालमा करिब दुई सय वर्षअघि नै जङ्गली धान रहिआएको अनुमान गरिएको विज्ञहरूले बताएका छन्। अघिल्ला पुस्ताले यसलाई “चोखो धान” मानेर व्रतमा खाने परिकारका रूपमा प्रयोग गरेको पाइन्छ।
अहिले पनि कपिलवस्तुमा यसको प्रयोग भइरहेको डा. भट्टराईले बताए।
तर, स्थानीय तहमा यसको महत्त्वबारे पर्याप्त जानकारी छैन।
बाँकेको कोहलपुर नगरपालिका–८ का वडाध्यक्ष लालबहादुर रानाले आफ्नो घरछेउमै करिब १० वर्षदेखि बर्खामा आफैँ उम्रिने जङ्गली धान देखिँदै आएको बताए।
“देख्दा दुरुस्त धानजस्तो लाग्छ, तर खान मिल्छ कि मिल्दैन भन्ने जानकारी थिएन,” उनले भने।
कोहलपुर क्षेत्रका पानी जम्ने खाली जमिनमा अहिले धेरै मात्रामा जङ्गली धान देखिएको छ।
उनले थपे, “यदि विभिन्न धानका प्रजाति विकास गर्न जङ्गली धान महत्त्वपूर्ण हुने हो भने यसलाई संरक्षण गर्न स्थानीय सरकार तयार छ।”
जङ्गली धान बाँके
कोहलपुरकै धर्मकुमारी रानाले घरछेउमा करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको जङ्गली धान देखाउँदै भनिन्, “पहिले पातलो मात्र देखिन्थ्यो, अहिले भने बाक्लो र फैलावट बढेको छ।
उनले यसअघि दाना निकालेर कुखुरालाई खुवाएको अनुभव पनि सुनाइन्, तर खान मिल्ने हो कि होइन भन्ने जानकारी नभएको बताइन्।
जङ्गली धान संरक्षण अभियन्ता पुरमल बस्नेतका अनुसार बाँकेमा सडकछेउ, पोखरी र सामुदायिक वन क्षेत्रमा करिब ४–५ बिघा जमिनमा जङ्गली धान फैलिएको छ।
तर घरधुरी बढ्दै जानु र साना ताल तलैया पुरिँदै जानुले अहिले प्रशस्त देखिएको जङ्गली धान लोप हुन सक्ने चिन्ता उनले व्यक्त गरे।
दीर्घकालीन संरक्षणका लागि समुदाय र सरकारी निकायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
विशेषज्ञहरूका भनाइ अनुसार जङ्गली धान नेपालकै मौलिक सम्पदा हो।
चीन र भारतले यसलाई आफ्नो क्षेत्रमै रहेको दाबी गर्दै आए पनि अन्यत्रभन्दा नेपालमै ठूलो सङ्ख्यामा पाइएकाले यसको उद्गमस्थल नेपाल नै भएको ठहर अनुसन्धानले गर्ने अपेक्षा विज्ञहरूले गरेका छन्।
नेपालमै पाइने यो अमूल्य धानको गुण संरक्षण गरी नयाँ प्रजाति विकास गर्न सकिए देशको खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने विज्ञहरू बताउँछन्।
तर हालैका अध्ययनअनुसार कैलालीको घोडाघोडी ताल, पाल्पाको प्रवास ताललगायतका क्षेत्रमा यो धान बिस्तारै मासिँदै गएको छ।
डा. भट्टराई भन्छन्, “धेरै पहिले अध्ययन गरिएको जङ्गली धान पाल्पा र पोखरामा ८० प्रतिशत लोप भइसकेको छ। यदि संरक्षण गर्न सकिएन भने तराईका जिल्लाहरूमा पनि जङ्गली धान हराउने खतरा छ।”









