
बाँके, नेपालगन्ज ११ कात्र्तिक २०८२
नेपालगन्ज गुलारिया हुलाकी सडक खण्ड अन्र्तगत पर्ने बाँकेको खजुरा स्थित पेडारी नालामा नयाँ पुल निर्माणको काम शुरु भएको छ । ३३ मिटर लामो, २२ मिटर चौडाई सहित ४ लेनको बक्स ब्रिज पुल निर्माण हुने हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जका प्रमुख लीला बहादर भण्डारीले बताउनुभयो ।
Advertisement
८ करोड ७५ लाखमा निर्माणको ठेक्का पाएको मरायनम निर्माण सेवा बाँकेले अहिले पुलको दुवै साइडको सरसफाई, रुख कटान, बिजुलीको पोल सार्ने र डाईभर्सन निर्माण गर्ने काम गरिरहेको छ । निर्माणको कार्य गर्दा केही दिन यातायातमा असहजता हुक्ने कार्यालयले जनाएको छ । सवारी साधन र यात्रुको चाँपलाई मध्यनजर गरेर ३ महिनामा पुल सम्पन्न गर्ने बताइएको छ । ठेक्काको म्याद भने २०८३ असार मसान्त सम्म रहेको छ ।

पुरानो पुल जिर्ण र पानीको निकास एकदमै साँगुरो भएकाले बाढी आउँदा आसपासका सडक डुवान हुदां आवातजावत् गर्ने यात्रुलाई सास्ती हुदै आएको थियो । नयाँ बन्न लागेको पुल पुरानो पुल भन्दा एक मिटर अग्लो र १०÷१० मिटरको ३ खण्ड पानीको निकास हुने गरी बनाउन लागिएको प्रमुख भण्डारीले बताउनुभयो । यद्दपी पुल निर्माणले मात्रै बाढीको समस्या समाधान नहुने भएकाले पुलको तला नालाको निकासलाई समेत फाराकिलो गराउनु पर्ने भएकाले त्यसका लागि गाउँपालिकासंग समन्वय भैरहेको प्रमुख भण्डारीले जानकारी दिनुभयो । पुल निर्माणसंगै अगाडी पछाडी दुबैतिर ५०÷५० मिटर पहुँच रोड समेत निर्माण गरिने भएको छ ।










