बाँकेबाट भागेका २२३ कैदीबन्दी अझै फरार

नेपालगन्ज । बाँके जिल्लाका दुई वटा बालसुधार गृह र एउटा कारागारबाट भागेका कैदीबन्दीहरुमध्ये २२३ जना अझै पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले जेनजी आन्दोलनको क्रममा गत भदौ २४ बाँकेको नौबस्ता बालसुधार गृह, नौबस्ता कारागा र डुडुवाको आसमानपुरस्थित जयेन्दु बालसुधार गृहबाट भागेका ३४० जना कैदीबन्दी मध्ये २२३ जना अझैपनि पक्राउ नपरेको बताउनुभयो ।

Advertisement

उहाँले तीमध्ये केही भारतमा प्रवेश गरेको र अन्यहरु नेपालमै कतै लुकेर बसेको हुन सक्ने जनाउँदै खोजी कार्य भइरहेको पनि बताउनुभयो ।

प्रहरी प्रमुख प्रहरी उपरीक्षक जिसीका अनुसार बाँकेको डुडुवा गाउँपालिकाको आसमानपुरस्थित बाल सुधारगृहबाट भागेका ६६ जना बालबन्दी अझै नियन्त्रणमा आएका छैनन् भने नौबस्ता बाल सुधारगृहबाट भागेका ४४ जना बालबन्दी पनि पक्राउ परेका छैनन् ।

सोही प्रकारले नौबस्ता कारागारबाट भागेका ३६ कैदीहरू नियन्त्रणमा आएको र अझै ११३ जना नियन्त्रणमा आउन बाँकी रहेको प्रहरी प्रमुख जिसीले बताउनुभयो ।

भदौ २४ गते जिल्लाका कारागार र बालबन्दीहरु मध्ये डुडुवास्थित जयन्दु बालसुधार गहृबाट ११५ जना, नौबस्ता बाल सुधारगृहबाट ७८ जना र नौबस्ता कारागारबाट १४७ जना बालबन्दी र कैदीहरु फरार भएका थिए ।

भाग्ने क्रममा सुरक्षाकर्मीहरुमाथि आक्रमण गर्दा सुरक्षाकर्मीले चलाएको गोली लागेर नौबस्ता बाल सुधारगृहका पाँच जना बालबन्दीको मृत्यु समेत भएको थियो ।

जिल्लाको पुरानो कारगार नेपालगन्जस्थित कारगारबाट भने भदौ २५ गते कैदी बन्दीले भाग्ने प्रयास गरेपनि नेपाली सेनाले कारगारको सुरक्षा गरेकोले भाग्ने प्रयास असफल भएको थियो ।

सो क्रममा सेनाले गोली चलाउँदा भाग्न खोज्ने एकजना कैदीको खुट्टामा गोली लागेको थियो ।

जिल्लाका विभिन्न कारगार र बालसुधार गृहबाट भागेका मध्ये केहीलाई बाँकेबाटै, केहीलाई नेपाल भारत जमुनाहा नाकाबाट र केहीलाई अन्य जिल्लाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । गोरखापत्र अनलाइन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु