वन कार्यालय, भोजपुरका अधिकृतबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टङ्गाल, काठमाडौं
मिति: २०८२।०७।१७ गते ।
प्रेस विज्ञप्ति

विषय: आरोपपत्र दायर गरिएको ।

Advertisement

 

डिभिजन वन कार्यालय, इलाममा डिभिजनल वन अधिकृत (अधिकृत दशौ तह) पदमा कार्यरत रही हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत रहँदै आएका दान वहादुर श्रेष्ठले पदीय अख्तियारिको दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादी दान बहादुर श्रेष्ठले सुरू नियुक्ति मिति 2048।03।26 देखि सम्पत्ति विवरण फाराम भरी बुझाएको मिति 2080।11।16 गतेसम्म निज र निजको एकाघर परिवारका सदस्यहरुले उक्त अवधिमा आर्जन गरेका वैधानिक आय (Lawfully Obatained) तथा सोही अवधिमा निजले बिभिन्न शिर्षकहरुमा गरेको प्रमाणित (Verified) खर्चहरुलाई व्ययको रुपमा गणना गरी समग्र अध्ययन विश्लेषण गर्दा प्रतिवादी दान बहादुर श्रेष्ठको पारिश्रमिक/तलव बचत, दैनिक भ्रमण भत्ता, छोराको पारिश्रमिक/तलब बचत, भत्ता वापत, श्रीमतीको बीमा अभिकर्ता कमिशन वापत, छोरीको पारिश्रमिक, बुहारीले प्राप्त गरेको पारिश्रमिक रकम, घर/जग्गा बिक्री आय, ऋण/सापटी लिएको, घर/जग्गा बहाल आय, शेयर बिक्रीबाट, विमा परिपक्क/समर्पण आय, व्याज आय, बन पैदावार बिक्री वापतको आय, कृषि आयबाट प्राप्त रकम गरी जम्मा रु.२,१६,८५,५५७।९६ (दुई करोड सोह्र लाख पचासी हजार पाँच सय सन्ताउन्न रुपैयाँ छयानब्बे पैसा मात्र) आय आर्जन गरेको र यसैगरी व्ययतर्फ जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन खरिद, सुन/चाँदी खरिद, विमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, विवाह/पास्नी/उपहारमा खर्च, ऋण तिरेको, व्यवसाय/कम्पनीको लगानी, विद्युतीय उपकरण खरिद, बैँक मौज्दात, विदेश भ्रमण खर्च वापतको रकम गरी जम्मा रु.३,६०,०४,४९५।४८ (तीन करोड साठी लाख चार हजार चार सय पंचानब्बे रुपैंया अठ्चालीस पैसा मात्र) व्यय खर्च देखिएकोले समग्रमा कुल आय भन्दा कुल व्यय जम्मा रु.१,४३,१८,९३७।५२ (एक करोड त्रिचालीस लाख अठार हजार नौ सय सैंतीस रुपैया बाउन्न पैसा मात्र) ले बढी भई स्रोत पुष्टि हुन नसकेको हुँदा उक्त रकम बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको तथ्य निजले प्रचलित कानून बमोजिम पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक भएकोले मनासिव कारण बिना वैधानिक आयको तुलनामा अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको स्थापित भएको हुँदा निज प्रतिवादी दान बहादुर श्रेष्ठले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिएबमोजिमको कसूर गरेकोले निजलाई बिगो रु.१,४३,१८,९३७।५२ (एक करोड त्रिचालीस लाख अठार हजार नौ सय सैंतीस रुपैयाँ बाउन्न पैसा मात्र) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, 2017 को दफा 15 ले निर्देश गरेबमोजिम सोही ऐनको दफा 3 तथा दफा 29 को उपदफा (२) र तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को पहिलो संशोधनको दफा २० को उपदफा (२) बमोजिम कैद र बिगोबमोजिम जरिवाना हुनका साथै साविक भ्रष्टाचार निवारण ऐन, 2017 को दफा ३, दफा १६ग. र दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 20 को उपदफा (2) र दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको रु.१,४३,१८,९३७।५२ मूल्य बराबरको सम्पत्ति जफत हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रतिवादी दान बहादुर श्रेष्ठले राष्ट्रसेवक पदमा बहाली भएपश्चात वार्षिक रुपमा पेस गरेको सम्पत्ति विवरण फारममा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुठ्ठा विवरण पेस गरेको पाइएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसूरमा सोही ऐनको दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी यसरी लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुन तथा निजले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा 15 ऐ. ऐनको दफा 29 को उपदफा (२) र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 20 को उपदफा (२), ऐ. ऐनको दफा ४७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गरी असूल उपर हुनसमेत मागदाबी लिइएको छ।

यसैगरी प्रतिवादी दान वहादुर श्रेष्ठले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरूबाट निजको पत्नी नरमाया श्रेष्ठ, बुहारी भावना वरुवाल र निज भावना वरुवाल संचालक रहेको फरेष्ट एण्ड इन्भारोमेन्ट रिसर्च अर्गनाइजेशन प्रा.लि., भक्तपुरको नाममा लगानी तथा खरिद गरिएका सम्पत्तिहरु साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा 15 ऐ. ऐनको दफा 29 को उपदफा (२) र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 16 को उपदफा (2), ऐ. ऐनको दफा 20 को उपदफा (२), ऐ. ऐनको दफा ४७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. समेतको प्रचलित कानूनबमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र नरमाया श्रेष्ठ, भावना वरुवाल र फरेष्ट एण्ड इन्भारोमेन्ट रिसर्च अर्गनाइजेशन प्रा.लि. भक्तपुरलाई प्रतिवादी कायम गरिएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु