काठमाडौं, कात्तिक २० गते
नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघको नयाँ अध्यक्षको जिम्मेवारी निरोज मास्केले पाउनु भएको छ । संघको काठमाडौंमा भएको विस्तारित बैठकले मास्केलाई अध्यक्षको रुपमा जिम्मेवारी दिने निर्णय गरेको हो ।
मास्केले यसअघि संघको कोषाध्यक्ष पदमा रहेर काम गर्नु भएको थियो ।
संघका कार्यवहाक अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षतामा भएको विस्तारित बैठकले नेपाल भलिबल संघको निर्वतमान उपाध्यक्ष निरोज मास्केलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । बैठकले रिक्त रहेको अध्यक्ष पदमा निरोज मास्के, सह–अध्यक्षमा डा. श्रीधर गौतम, उपाध्यक्षमा डा.गोपाल पोख्ररेल, कोषाध्यक्षमा मन्दिरा भण्डारी, सह–कोषाध्यक्षमा दीक्षा पाण्डे, सल्लाहकारमा टासी स्हाङ्मो गुरुङलाई अनुमोदन गरेको थियो ।
Advertisement
सह–कोषाध्यक्ष मन्दिरा भण्डारीले संचालन गरेको बैठकमा कार्यबहाक अध्यक्ष रामेश्वर श्रेष्ठले संघको वर्तमान अवस्थाको बारेमा बताउनु भएको थियो । नवनियुक्त अध्यक्ष मास्केले नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघ सम्पुर्ण सदस्य तथा पदाधिकारी, सल्लाकारलाई धन्यवाद दिदैं आफनो जिम्मेवारी सक्रियताका साथ निर्वाह गर्ने बताउनु भयो ।
अध्यक्ष मास्केले अन्तरक्रिया कार्यक्रम, छलफल र दुई देशको आपसी मित्रता प्रगाढ बनाउँदैं संस्कृतिलाई विकास गर्ने योजना बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । छिटै बृहत भेलाको आयोजना गरेर संघले नयाँ कार्ययोजना बनाएर काम गर्ने उहाँले बताउनु भयो ।
नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघ दुई देश बिच आपसी मित्रता, सद्भाव र संस्कृतिको आदान प्रदान गर्ने योजना सहित गठन गरिएको संस्था हो । २०५९ सालमा स्थापना भएको नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघको मास्के पाँचो अध्यक्ष हुनुहुन्छ ।
पछिल्लो समय हजारौं नेपाली विद्यार्थी र युवाहरुको क्यानडामा रहेको बताउँदै उहाँहरुको समस्याहरुलाई समाधान गर्नमा पनि नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघले पहल गर्ने मास्केले बताउनु भयो । नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघले विभिन्न क्षेत्रमा योगदान गर्नु भएका व्यक्तिहरुलाई सम्मान गर्दै विविध सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।









