भाद्र २३, सर्लाही — कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई पक्षबीच झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले शनिबार दिउसो ४ बजेदेखि आइतबार बिहान ८ बजेसम्म निषेधाज्ञा जारि गरेको छ ।
Advertisement
शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा मलंगवामा दुई समुदायबीच झडप र ढुंगामुढा भए लगत्तै प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर गर्दै भीड तितरवितर पारेको थियो ।
अबेर राति अवस्था सामान्य बनेपनि शनिबार बिहानैबाट सदरमुकाम मलंगवामा टायर बालेर प्रदर्शन र ढुंगामुढा हुनथालेपछि स्थानीय प्रशासनले थप सुरक्षा बढाउँदै सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो ।
तर पनि प्रदर्शन र ढुंगामुढा नरोकिएपछि स्थानीय प्रशासनले निषेधाज्ञाको तयारी गरिरहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जनाउँदै प्रहरी उपरीक्षक सुवेदी आफैं पनि सुरक्षामा तैनाथ रहेको जानकारी दिए । कुनै अप्रिय घटना हुन नदिन प्रहरी संख्या बढाइएको छ ।
प्रदर्शन र ढुंगामुढाका कारण मलंगवाका पसल तथा बजार बन्द छ । बिहानैदेखि मलंगवाबाट चल्ने साना तथा लामो दुरीका यातायातका साधन चल्न सकेको छैन ।









