एनपीएल दोस्रो सिजनको विशेषता के हुने छ ?

 

बीबीसी न्यूज नेपाली- मङ्सिर महिनाभरि क्रिकेट समर्थकहरूको ध्यान अब कीर्तिपुर क्रिकेट रङ्गशालामा हुने नेपाल प्रिमिअर लीग एनपीएल २ मा केन्द्रित हुने देखिन्छ।

Advertisement

चल्तीका विदेशी खेलाडीहरू, भर्खरै टी२० विश्वकपमा छनोट हुन सफल राष्ट्रिय खेलाडीहरूको जोश, ‘ट्यालेन्ट हन्ट’ बाट छानिएका युवा अनि विदेशी प्रशिक्षकहरूबीच हुने कडा प्रतिस्पर्धाले नेपालको सबैभन्दा ठूलो मानिएको फ्रेञ्चाइज क्रिकेट प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान छ।

आठवटा फ्रेञ्चाइज टोलीबीच २७ दिनसम्म चल्ने प्रतियोगितामा यसपालि विभिन्न नयाँ व्यवस्थाहरू देख्न सकिने छ। फ्लड लाइटको कृत्रिम उज्यालोका माझ व्यवस्थित सीटमा बसेर दर्शकहरूले पहिलो पटक कीर्तिपुरमा क्रिकेटको आनन्द लिन पाउने छन्।

खेलाडी र प्रशिक्षकको घम्साघम्सी बेग्लै छ। जनकपुर बोल्ट्सले शिवनारायण चन्दरपाउललाई भित्र्याउँदा पुराना प्रशिक्षक पुबुदु दशानायके विराटनगर किङ्ग्स पुगेका छन् भने प्रमुख खेलाडी जिम्मी निशम पोखरा उडेका छन्।

फ्रेञ्चाइज क्रिकेटको अर्को पाटो भनेको आम्दानी हो। पहिलो सिजनमा झन्डै एक अर्ब रुपैयाँ कारोबार भएको ठानिएको यो व्यावसायिक क्रिकेट खेलको यसपालि आम्दानी तेब्बर पुग्ने क्रिकेट सङ्घका पदाधिकारीले बताइरहेका छन्। उसो भए यसपालि एनपीएलका विशेषताहरू केके हुने छन्?

नयाँ रङ्गशाला

नेपाल सरकारले विशेष प्राथमिकता दिएपछि फास्ट ट्र्याकमा निर्माण भएको कीर्तिपुर क्रिकेट मैदान कीर्तिपुर क्रिकेट रङ्गशालामा परिणत भएको छ।

यसमा १० हजारवटा सीट जडान गरिएको छ। विगतमा घाँसमा बसेर हेर्दा १२ हजार जनासम्म दर्शक अटाउने कीर्तिपुरमा अब दुई हजारले दर्शक क्षमता कम हुने छ। तर रङ्गशाला अब पहिलाभन्दा व्यवस्थित र सुरक्षित बनेको छ।

फ्लड लाइट
फ्लड लाइटको कृत्रिम प्रकाशमा खेल हुनु एनपीएल २ को अर्को मुख्य विशेषता हुने छ। रङ्गशालामा छटा फ्लड लाइट जोडिएको छ।

एनपीएल-२ का कुल ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा खेलाइने तालिका नेपाल क्रिकेट सङ्घले सार्वजनिक गरिसक्दा पनि फ्लड लाइट जोड्ने काम सकिएको थिएन। तर शुक्रवार चाहिँ लाइट हालेर त्यसको परीक्षण सम्पन्न गरिएको छ।

दिवारात्रि रूवरूपमा हुने क्रिकेटले दर्शकमा नयाँ स्वाद मात्र दिने होइन, यसले प्रतियोगिताको नतिजामा समेत प्रभाव पार्ने गर्छ।यसपालि फ्लड लाइट जडान गरिएको छ

कस्तो असर?
अहिले काठमान्डूको तापक्रम साँझमा तल झर्न थालिसकेको छ र रातमा मैदानमा शीत पर्ने हुँदा त्यसले प्रतिस्पर्धामा फरक पर्ने देखिन्छ।

विशेषत: शीतका कारण मैदान भिज्ने हुँदा बल गहुँगो हुने छ र बल चाहेजसो स्विङ हुने छैन। यसले बलरहरू अप्ठेरोमा पर्न सक्छन् भने फिल्डरहरूलाई पनि बल समात्न गाह्रो हुन सक्छ।

त्यसको फाइदा भने ब्याटरलाई हुने छ। त्यसैले रात्रिकालीन क्रिकेटमा जसले टस जित्ने छ, त्यो टिमले शुरूमा बलिङ गर्न रुचाएको दृश्य धेरै देख्न पाइने छ।

विदेशी खेलाडी
एनपीएलको विशेषता भनेकै विदेशी नामहरू नै हुन्। कुन टोलीले कस्ता विदेशी खेलाडी भित्राए अनि विदेशी खेलाडी चल्नु वा नचल्नुले नै टिमको स्थान तय हुने गर्छ।

दोस्रो संस्करणमा एउटा टोलीले छना विदेशी खेलाडी भित्र्याउन पाउने छ। तर एक पटकमा चार विदेशी मात्र मैदानमा राख्न पाउने छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‌ आईसीसीले एनपीएललाई पूर्ण मान्यता नदिएकाले गत वर्षझैँ टेस्ट खेलेर दुई वर्ष नपुगेका चार खेलाडीभन्दा बढीलाई एनपीएल खेल्न स्वीकृति दिएको छैन।

यसपालि आठ टोलीले झन्डै तीन दर्जन विदेशी खेलाडीलाई अनुबन्धित गरिसकेका छन्, जसमा असोसिएट राष्ट्रका खेलाडीलाई पनि मौका दिइएको छ।

गत वर्ष भारतका शिखर धवनको प्रवेशले एनपीएलको चर्चा चुलिएको थियो।

यसपालि दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस र इमरान ताहिर, अफगानिस्तानका नजिबुल्लाह जाद्रान र गुलबद्दीन नैबजस्ता खेलाडीहरू चर्चामा छन्।

अर्को तथ्य के हो भने विदेशी खेलाडीका लागि टिमले जतिसुकै रकम पनि खर्चिन पाँउछ।

विदेशी प्रशिक्षक

विदेशी प्रशिक्षकबीचको प्रतिस्पर्धा पनि उस्तै छ। नेपाली राष्ट्रिय टोली सम्हालिसकेका पुबुदु दशानायके यसपालि विराटनगर किङ्ग्समा पुगेका छन्।

गत वर्ष उनले जनकपुर बोल्ट्सलाई च्याम्पिअन बनाएका थिए। त्यस्तै चर्चित प्रशिक्षक मोन्टी देशाई काठमान्डू गोर्खाजमा पुगेका छन्।

यद्यपि यसपालि सबैको आँखा भने वेस्ट इन्डिजका पूर्वप्रख्यात खेलाडी शिव नारायण चन्दरपावल नै हुने छन्।

एनपीएलको बजेट
एनपीएलको पहिलो संस्करणको कुल बजेट एक अर्ब रुपैयाँ पुगेको भनिएको थियो।

त्यसमा क्यानले २७ करोड रुपैयाँ आम्दानी गर्दा २५ करोड रुपैयाँ खर्च भएको बताइएको थियो।

यसपालि प्रायोजकहरूको चासो बढेकाले आम्दानी तीन गुणाले बढ्ने क्यानको अनुमान छ।

थपिएका प्रायोजक, टिकट विक्री, ओटीटी प्याल्टफर्मको आम्दानी, ब्रोड्कास्टिङबाट हुने कमाइले आम्दानी बढ्ने क्यान पदाधिकारीहरूले बताएका छन्।

विवाद सँगसँगै
चर्चासँगै एनपीएलमा विवादले पनि स्थान पाएका छन्। टेलिभिजन प्रसारण, ओटीटी अधिकार वितरण जस्ता काममा क्यानले नियमविपरीत काम गरेको भन्दै सार्वजनिक आलोचना भइरहेको छ।

यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परिसकेको छ। गत संस्करणमा पनि टेलिभिजन प्रसारणकै विषयले विवाद उत्पन्न भएको थियो।

आदिल आलम
गत वर्ष खेल्न नपाएका आदिल आलम यसपालिको एनपीएलमा नेपाली खेलाडीहरूमध्ये चर्चित नाम बन्यो।

मिनी अक्शनमा आठवटा टोलीले दुई करोड ७८ लाख ७५ हजार रुपैयाँ खर्च गरेका थिए। तर आदिललाई आठवटै टोलीले बोली (१५ लाख रुपैयाँ) लगाएको विषयले चर्चा पायो।

फिक्सिङ कान्डमा फसेका कारण गत वर्षको एनपीएल गुमाएका आदिलले त्यसपछि राष्ट्रिय टोलीमा पनि स्थान बनाउन सफल भए।

समग्रमा एनपीएल अहिले नेपाली खेलकुदको सबैभन्दा चर्चित प्रतिस्पर्धाको रूपमा देखिएको छ।

भर्खरै तेस्रो पटक टी२० विश्वकपमा छनोट भएको नेपाल र क्रिकेटमा पछिल्ला समयमा देखिएको क्रेजका माझ एनपीएल नेपाली खेलकुदको ठूलो खेल स्पर्धा बनेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु