धान खरिदका लागि कोटा लागू गरेपछि मर्कामा बाँकेका किसान

 

नेपालगञ्ज/ईकान्तिपुर — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका किसानले उत्पादन गरेको धान खरिदका लागि मूल्य निर्धारणसँगै कोटा लागू गरेपछि किसानहरू मर्कामा परेका छन् ।

Advertisement

यस वर्ष बाँकेमा अनुमानित १ लाख ५६ हजार २ सय मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० हजार क्विन्टल मात्र खरिद गर्ने भएपछि उनीहरू मर्कामा परेका हुन् ।

जानकी गाउँपालिका-२ का रामकिशोर वर्माले गत वर्षको तुलनामा यस वर्ष उत्पादन पनि बढे पनि अवस्थामा खाद्यले भण्डारण समस्या देखाउँदै सीमित कोटामा धान खरिद गर्ने भएपछि आफूहरू मर्कामा परेको बताए ।

‘यस वर्षको धान बिक्री नहुने चिन्ताले सताएको छ,’ उनले भने, ‘उत्पादन बढेको छ । बाहिर व्यापारीले सरकारी मूल्यमा खरिद गर्दैनन् । राख्नलाई घरमा ठाउँ पनि छैन कसरी व्यवस्थापन गर्ने चिन्ताले सताएको छ ।’

 

राप्तीसोनारी-७ का किसान कालुराम थारुले धान बिक्रिका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड आइपुग्दा कोटा सकिएकोले धान खरिद नहुने भन्ने जवाफ पाएको बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका प्रमुख रामशरण लामिछानेले धान मूल्य निर्धारण गरी आइतबारदेखि मात्रै किसानबाट धान खरिद सुरु गरिएको बताए । कम्पनीले यस वर्ष मोटा धान १५ हजार क्विन्टल र मध्यम धान ५ हजार क्विन्टल किसानबाट खरिद गर्ने कोटा निर्धारण भएको बताए । उनले भने, ‘हामीले हाम्रो भण्डारण गर्ने क्षमताको आधारमा धान सरकारी मूल्यमा खरिद गर्ने हो ।’

 

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङको अध्यक्षतामा बसेको खरिद समितिको बैठकले मोटा धान प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम धान प्रतिक्विन्टल तीन हजार ६ सय २८ रुपैयाँ ३३ पैसामा खरिद गर्ने गरी मूल्य निर्धारण गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु