बर्दिया — हिउँद लागेपछि कर्णाली नदीको भंगालो गेरुवा नदीमा पानी सुक्दै गएको छ । गेरुवा नदीमा तीव्र गतिमा बग्ने गरेको पानी ८ वर्षयता सुक्दै गएपछि बर्दिया राष्ट्रिय निकुञ्जका गैंडालगायत वन्यजन्तु पलायन हुन थालेका छन् ।
करिब २ दशकअघिसम्म बाह्रै महिना बेगले बग्ने गेरुवा नदीमा पानी विस्तारै सुक्दै गएको छ । गैंडाका लागि प्रशस्त आहालसमेत नभएपछि छिमेकी मुलुकसँग जोडिएको कतरनियाघाट आरक्षमा पलायन हुँदै पुगेका छन् ।
Advertisement
त्यहाँ प्रशस्त आहाल भएका कारण यहाँका गैंडाका लागि बासस्थान बन्दै गएको संरक्षणकर्मी कृष्णप्रसाद भट्टराईले बताए । गेरुवा नदीमा प्रशस्त पानी नबगेसम्म वन्यजन्तु भारतीय आरक्षमा पलायन भई बर्दिया निकुञ्ज शून्यको अवस्थामा पुग्ने उनले बताए ।
हालै निकुञ्जले गरेको अनुगमनका क्रममा २० वटा गैंडा बर्दियासँग जोडिएको उत्तर प्रदेश राज्यको बहराइच जिल्लाअन्तर्गत कतरनियाघाट वन्यजन्तु आरक्षमा पुगेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा वन्यजन्तुको लागि पानीको मुख्य स्रोत गेरुवा नदी थियो । पानी सुक्दै गएपछि बर्दिया राष्ट्रिय निकुञ्जका गैंडा तथा डल्फिन भारतीय सीमावर्ती कतरनियाघाटतर्फ पलायन भएका छन् ।
सीमावर्ती भारतको कतरनियाघाट वन्यजन्तु आरक्षमा २० वटा गैंडा बर्दिया निकुञ्ज हुँदै त्यसतर्फ गएको अनुमान बर्दिया निकुञ्जका सूचना अधिकारी वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । चैत महिनामा गैंडाको गणना भएपछि वास्तविकता बाहिर आउने उनले जनाए ।
भारतीय आरक्षमा गैंडाका लागि पानीको आहाल राम्रो रहेको र त्यहाँ निर्माण गरिएको कर्णाली नदीको बाँधका कारण पर्याप्त पानीमा डल्फिन पुगेका छन् । कर्णाली नदीमा दुई दशक अघिसम्म प्रशस्त डल्फिन भएकोमा हाल आएर तीन वटा मात्र देखिएको वरिष्ठ संरक्षण अधिकृत पौडेलले बताए । विगतमा गेरुवा नदीमा डल्फिन साथै दुर्लभ माछा तथा जलचर पंक्षी पर्याप्त थिए । अब यहाँ डल्फिनलगायत जलचर प्राणी पाइने छाडेको छ । अधिकांश जलचर प्राणी भारतमा पलायन भइसकेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसी बताउँछन् ।
चिसापानीदेखि करिब ३ किमी दक्षिणतर्फबाट कर्णाली नदी विभाजन भएर पूर्व र पश्चिमतर्फ बग्ने गर्छ । गेरुवा थुनिएपछि निकुञ्जसँग जोडिएको पश्चिम क्षेत्रमा पानी खोला-नालामा सुक्न थालेको छ । स्थायी रूपमा गिट्टी, ढुंगा हटाई पक्की बाँध बाधेर पानी बाँडफाँट नभएसम्म गेरुवामा पानीको समस्या भइरहने ठाकुरबाबा-८ का रामाशंकर थारूले बताए । ‘एकातिर वन्यजन्तु र अर्को तिर किसानले खेतीका लागि पानी पाएका छैनन्,’ उनले भने, ‘बाह्रै महिना प्रशस्त पानी बग्न गिट्टी, ढुंगा र बालुवा हटाई लालमटियामा पक्की बाँध बाध्नु जरुरी छ ।’
बर्दिया निकुञ्ज हुँदै बबई र कर्णालीको भंगालो गेरुवा नदी बग्ने गर्छ । बबई भने निकुञ्जको पूर्वी सीमाना बासगढी नगरपालिका–१ चेपाङ हुँदै परेवा ओडारबाट गुलरिया तर्फ बग्ने गरेको छ । निकुञ्जभित्र वन्यजन्तुको लागि ५२ वटा पोखरी, ५५ वटा सोलार बोरिङ जडान गरी वन्यजन्तुका लागि पानीको व्यवस्था गरिए पनि कतिपय पोखरी सुकिसकेका छन् ।
कतिपय ठाउँमा हात्तीले हानेर सोलार भत्काएको निकुञ्जले जनाएको छ । ९६८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको बर्दिया निकुञ्जमा वन्यजन्तुको संख्या बढ्दो छ । निकुञ्जको पछिल्लो गणनामा बाघ १ सय २५ रहेको छ । हात्ती झन्डै १ सय २० भएको अनुमान गरिएको छ । तर पर्याप्त पानीको स्रोत हुँदाहुँदै गेरुवामा थुनिएका गिट्टी, ढुंगा, बालुवा र काठ नहटाउँदा मानव र वन्यजन्तुबीच द्वन्द्व बढिरहेको वन उपभोक्ता महासंघका सचिवालय सदस्य मोहम्मद कर खाँले बताए । ईकान्तिपुर









