प्रमाणपत्रमा फरक विवरण हुँदा वर्षौँदेखि हैरानी, अब सुल्झिएला?

बीबीसी – आमाबुवाले राखिदिएको एकजना स्कुले छात्रको अङ्ग्रेजी नामलाई लिएर साथीहरूले जिस्काउन थाले किनकि त्यसले निराशाजनक अर्थ दिन्थ्यो। त्यसैले ती छात्रले एसईईको फर्म भर्ने बेला अर्कै नाम लेखिदिए।

“तर जन्मदर्तामा पुरानै नाम थियो,” राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक तथा सूचना अधिकारी मुकेशकुमार केशरी उक्त घटना सम्झिन्छन्, “त्यस्ता घटना दर्तामा रहेका फरक विवरण अब सच्याउने बाटो खुलेको छ।”

Advertisement

मन्त्रिपरिषद्ले जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता, सम्बन्धविच्छेद र बसाइँसराइ प्रमाणपत्रको विवरण संशोधन गर्ने व्यवस्था गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली संशोधन कार्तिक २४ गते सोमवार स्वीकृत गरेको छ।

उक्त संशोधन सोमवार राजपत्रमा प्रकाशित भएसँगै नयाँ बाटो खुलेको छ। यसअघि घटना दर्ता भएको एक वर्षभित्र मात्रै विवरण सच्याउन सकिने व्यवस्था थियो।

निर्देशक केशरीका अनुसार जन्मदर्ता संशोधन गर्न नपाउँदा एसईईको फर्म भर्न १४ वर्ष पुगेको हुनु पर्ने व्यवस्थाका कारण बर्सेनि ५० हजारजति विद्यार्थीलाई अप्ठेरो पर्ने गरेको अनौपचारिक विवरण उनको कार्यालयले पाउने गरेको थियो।

“त्यस्तै विदेशमा स्थायी बसोबासको आवेदन दिएकाहरूले जन्मदर्ता र नागरिकताको विवरण फरक परेर अप्ठेरो बेहोरिरहेका सहित अन्य हजारौँ व्यक्तिहरू समस्यामा थिए,” समस्याको उदाहरण दिँदै उनी भन्छन्, “नागरिकता प्राप्त गरिसकेको व्यक्तिको विवरण संशोधन नागरिकताकै आधारमा हुन्छ। विदेशीको हकमा पासपोर्टको आधारमा हुन्छ।”

उच्च ओहदाका ठूलाबडादेखि विद्यार्थीहरूको पीडा

तर शैक्षिक प्रमाण पत्रमा रहेको विवरण सच्याउन चाहनेहरूको समस्या फरक छ। त्यो समस्या सुल्झाउन उमेर, नाम र जात सच्याउने नियमहरू, २०१७ सरकारले २०८० भदौ १८ गते संशोधन गरेको थियो।

राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी नारायण पोख्रेल भन्छन्, “११ र १२ कक्षाको प्रमाणपत्रको विवरण सच्याउन चाहनेले एसईईको विवरण अनुसार गर्न सक्छन्।”

संशोधित नियममा शैक्षिक प्रमाणपत्र लिएको पाँच वर्षभित्र त्यसमा उल्लेखित उमेर, नाम र जात सच्याउन पाउने व्यवस्था छ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा-१०का नियन्त्रक टुकराज अधिकारीका अनुसार एसईई प्रमाणपत्रको विवरण सच्याउन प्रतिमहिनामा सरदर १०० देखि १५० जति विद्यार्थी उनको कार्यालय पुग्ने गरेका छन्।

“तर पाँच वर्षअघि प्रमाणपत्र लिएकाहरूको सच्याउन चाहनेहरूको समस्या ठूलो छ,” उनी अनुभव सुनाउँछन्, “डाक्टर, प्राध्यापक र सहसचिवहरू लगायतका वरिष्ठले पनि दुख पाउनु भएको छ। विद्यार्थीहरू पनि भिसा लागिसक्यो, विदेश जाने टिकट लिइसकेँ भनेर रुन आउँछन्। तर सहयोग गर्न सकिन्न।”

त्यस्ता समस्या भएकाहरूको निम्ति संशोधित नियम राजपत्रमा प्रकाशित भएको दुई वर्षभित्र सच्याइ पाउन दरखास्त दिन सक्ने उल्लेख गरिएको थियो।

तर कानुन मन्त्रालयले त्यो व्यवस्था कार्यान्वयन नगर्न परिपत्र गरेपछि बाटो बन्द भयो। अहिले त संशोधित व्यवस्था राजपत्रमा प्रकाशित भएको पनि दुई वर्ष नाघिसक्यो।

‘ठूलो समस्या हल हुन्छ’

त्यसैले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली तयार हुँदा आफ्ना कार्यालयमा आउने गरेका समस्या समाधानको निम्ति राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा सम्बन्धित अधिकारीहरूलाई आग्रह गर्न पुगेका पनि थिए।

राजपत्रमा प्रकाशित राष्ट्रिय परिचयपत्र र पञ्जीकरण नियमावलीको दोस्रो संशोधनले त्यो समस्या सम्बोधन नगर्ने अधिकारीहरू बताउँछन्।

विभागका अधिकारीहरूले त्यसमा राष्ट्रिय परिचयपत्र र ५ किसिमका घटनादर्ता मात्र सच्याउन सकिने व्यवस्था रहेको जनाएका छन्।

“शैक्षिक प्रमाणपत्रमा रहेको फरक विवरणको समस्या ठूलै देखिन्छ,” नेपाल बार अशोसियसनका पूर्वउपाध्यक्ष आशा राई भन्छिन्, “त्यो समस्या पनि समाधान गर्नु पर्ने खाँचो छ।”

घटनादर्ता प्रमाणपत्रमा कुनै संशोधन गर्नुपर्ने भएमा शैक्षिक प्रमाण पत्र वा नागरिकताअनुसार संशोधन गर्ने बाटो भने खुलेको छ।

त्यस्तै नागरिकता वा जन्मदर्ताको विवरणअनुसार शैक्षिक प्रमाणपत्र पाँच वर्षभित्र सच्याउन सकिने व्यवस्था पनि छ।

तर नागरिकता, राहदानी वा राष्ट्रिय परिचयपत्रको विवरण सच्याउने प्रावधान के छ?

गृहमन्त्रालयको नीति, योजनाअनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख रहेका सहसचिव सुरेश पन्थीका अनुसार नागरिकतामा उल्लेख गरिएका थरहरू अपमानजनक भएको भन्दै गुनासो आएपछि केही वर्ष अघिदेखि प्रमुख जिल्ला अधिकारीलाई उक्त अधिकार दिइएको छ।

“खास गरेर दलित आयोगको अनुसूचीभित्रबाट लिन चाहेको एउटा थर संशोधन गर्ने निर्णय कार्यान्वयनमा छ,” उनले भने, “नागरिकता र राष्ट्रिय परिचयपत्रको आधारमा जारी गरिने भएकाले राहदानीको हकमा भुलबस फरक विवरण परेको रहेछ भने नागरिकताको विवरणअनुसार परिचयपत्र सच्याउँदा राहदानी पनि सच्चिन्छ।”

त्यस्तै नागरिकतामा पनि ‘सानातिना त्रुटि’ सच्याउन सकिने कानुनी व्यवस्था छ। नागरिकता ऐन र नियमावलीअनुसार त्यसमा ‘कुमार-कुमारी, देवी-देव, बहादुर, प्रसाद’ जस्ता शब्द वा आकार, इकार जस्ता त्रुटि पर्छन्।

ऐनको दफा १७ मा भनिएको छ, “कुनै व्यक्तिले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेखित थर वा उमेर शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक पर्न गएमा वा नागरिकताको प्रमाणपत्रमा सानातिना त्रुटि भई सो विवरण सच्याउन चाहेमा आवश्यक प्रमाणसहित तोकिएको अधिकारी समक्ष निवेदन दिनु पर्ने छ।”

त्यस्तै विवाह वा सम्बन्धविच्छेद भएकी महिलाले थर, वतन र अन्य विवरण संशोधन गर्न पाउने व्यवस्था पनि कानुनमा छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु