Advertisement
काठमाडौँ — सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन-जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ । बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कर्फ्यु आदेश जारी गरेका हुन् ।
गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यु आदेश जारी गरिएको प्रजिअ मिश्रले बताए । अहिले पनि दुई समूहबीच झडप भइरहेको उनले जानकारी दिए ।
अहिले सिमरा जाने र सिमराबाट काठमाडौं उड्ने जहाजहरू रोकिएका छन् । प्रजिअ मिश्रले भने, ‘अहिले अवस्था सामान्य छैन । नियन्त्रणको प्रयास गरिरहेका छौँ ।’
सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारी कार्यालयलगायत निजी सम्पत्ति क्षति हुन नदिन र परिस्थिति थप बिग्रन नदिन कर्फ्यु जारी गरिएको प्रजिअ मिश्रले बताए । कर्फ्युको समय बुधबार दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्म लागि जारी गरिएको छ ।
एमाले नेताहरू सिमरा आउने जानकारी पाएपछि जेन-जी युवाहरूले प्रदर्शन गरेका हुन् । त्यसक्रममा एमाले समर्थक युवाहरूबीच झडप भएको हो । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बाराको परवानीपुरमा हुने भनिएको कार्यक्रममा सहभागी हुन सिमरा विमानस्थल हुँदै जान लागेको सूचना पाएपछि जेन-जी युवाहरूले प्रदर्शन गरेका हुन् ।










