बारा /ईकान्तिपुर— कर्फ्यु अवज्ञा गर्दै बाराको सिमरामा प्रदर्शन चर्किएपछि प्रहरीले ६ सेल अश्रुग्यास र २ राउन्ड हवाइ फायर गरेको छ । सिमरामा सशस्त्र र नेपाल प्रहरी व्यापक रूपमा परिचालन गरिएकाे छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी वेदप्रकाश जाेशीले आफूसहित आधा दर्जन प्रहरी घाइते भएको बताए । प्रदर्शनकारीतर्फ भने प्रहरीकाे लाठी चार्जबाट २ जना घाइते भएको जेन-जीका संयाेजक सम्राट उपाध्यायले बताए ।
Advertisement
अहिले पनि कर्फ्यु उल्लंघन गरी प्रदर्शन जारी छ ।
सिमरामा बुधबार भएकाे झडपकाे विषयलाई लिएर आज बिहानदेखि नै तनाव भएकाे छ । जेनजीले प्रदर्शन चर्काउन थालेपछि दिउँसाे पाैने १ बजेदेखि कर्फ्यु लगाइएकाे छ ।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार बिहीबार दिउँसाे १२:४५ देखि साँझ ८ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ । पथलैयादेखि दक्षिण जितपुरकाे ललका पुलसम्म राजमार्गकाे ५ सय मिटर दाँयाबाँया र एयरपाेर्ट क्षेत्रकाे ५ सय मिटर आसपास कर्फ्यु छ ।
बुधबार जेनजी र एमाले कार्यकर्ताबीच भएकाे झडपमा ६ जना जेनजी समूहका घाइते भएका थिए ।









