बर्दिया सिमा: भारतमा नेपाली सवारीसाधन आउजाउमा प्रतिबन्ध

 

बर्दिया /ईकान्तिपुर—भारतमा नेपाली नम्बरका सवारी साधन बर्दियाको गुलरिया र भारतको मुर्तिहाबाहेक सबै ठाउँमा प्रवेशमा एसएसबी(भारतीय सीमा सुरक्षाबल)ले प्रतिबन्ध लगाएको छ ।

Advertisement

उत्तर दक्षिण राजमार्ग स्थित गुलरिया नगरपालिका–१० को रजनवा हुँदै भारत जाने नाकामा नेपाली र भारतीय सवारी साधनमा आउजाउ रोक लगाएको प्रहरीले जनाएको छ ।

साताअघि रुपैडिहामा नेपालगन्ज हुँदै दुई विदेशी नागरिक राहदानी विना प्रवेश गर्दा पक्राउ परेका थिए । दिल्लीमा भएको बम विस्फोटपछि भारतीय सुरक्षकर्मीले रोक लगाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

निर्वाध रुपमा भारतीय सीमाको बजार मिहींपुरुवासम्म नेपाली सवारी साधन आउजाउको सुविधा दिँदै आएकोमा प्रतिबन्ध लगाएको छ । भारतीय सुरक्षाकर्मीले यसअघि नै लौकाही चित्लहवा, बलैगाउँ लगायत सीमावर्ती भारतीय बाटो हुँदै नेपाली सवारी साधनलाई आउजाउमा रोक लगाएको प्रहरीले जनाएको छ ।

भारतमा भएको आतंकवादी गतिविधिको कारणले शान्ति सुरक्षामा असर पर्ने भएकोले मुख्य नाकाबाहेक अन्य परम्परागत बाटो हुँदै सवारी साधन प्रतिबन्ध लगाएको भारतीय सुरक्षाकर्मीले बताएका छन् ।

मुर्तिहा हुँदै भारतीय सवारी साधनलाई भने नेपाल प्रवेशमा रोक भने छैन । तर नेपाली नम्बरको चार पांग्रे सवारी साधन आउजाउमा प्रतिबन्ध लगाएको छ । गुलरियासँग जोडिएको भारतको मुर्तिहाबाहेक सबै ठाउँमा प्रतिबन्ध लगाउदा सर्वसाधरण सास्ती भोग्न बाध्य छन् ।

भारतीयहरु सवारी साधन नेपाल भित्र प्रवेश गर्दै आएका छन् । नेपाली सवारी साधनलाई रोक लगाएपछि भारतीय नम्बरका सवारीसाधन पनि रोक लगाउनुपर्ने गुलरिया–१० का मनोहर लोधले बताए ।

नेपाली सीमा क्षेत्रमा अधिकांश नेपाली नागरिकले अवैद्यरुपमा भंसार राजश्व नबुझाएर दर्जनौं भारतीय सवारी साधन राखेका छन् । नेपाल प्रहरीसँग यसको तथ्यांक भने छैन । प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले सवारी साधन रोक लगाएको सम्बन्धमा भारतीय समकक्षीसँग जानकारी लिने बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु