ईकान्तिपुर- गायिका ज्योति मगरले नेपालमा आफूजति साइबर बुलिङ कसैलाई नभएको दाबी गरेकी छन्।
उनले डिजिटल हिंसाबाट मानसिक तनाव र प्रतिष्ठामा आँच पुगेको अनुभव सुनाउँदै, यस्तो समस्याको समाधानका लागि गलत कुरालाई महत्व नदिने रणनीति अपनाउने बताइन्।
साइबर आक्रमणमा शक्तिशाली समूहको संलग्नता रहेको र यसको जरो उखेल्न जरुरी रहेको उनको भनाइ छ।
पछिल्लो समय कलाकार हुन् वा कन्टेन्ट क्रिएटर वा राजनीतिकर्मी– डिजिटल हिंसाको मार खेपिरहेका छन् । आफूमाथि भइरहेका आक्रमण जत्ति नजरअन्दाज गर्न खोजिरहे पनि उनीहरू मानसिक रूपमा आहत बन्दै गइरहेका छन् । तर यस्तो हिंसाविरुद्ध उजुरी पर्ने र कारबाही नै पर्ने अवस्था भने देखिएको छैन।
Advertisement
गायिका ज्योति मगर आफूलाई गलत कुराको पछि लागेर समय ‘बर्बाद’ गर्नु हुन्न भन्ने लाग्ने गरेको बताउँछिन्। ‘योबाहेक मेरो धेरै जिम्मेवारी छन् । सबैभन्दा ठूलो ट्याकल भनेको त्यो चीजलाई भ्यालु नदिनु हो । मेरो कुरामा म सही छु, यी गलत कुरा आफैं हराएर जान्छन् भन्नेमा म ढुक्क छु । केही नगर्नु नै मैले ट्याकल गर्नु हो जस्तो लाग्छ,’ उनी भन्छिन् ।
यसबारे गायिक मगरसँग कान्तिपुरले गरेको संक्षिप्त कुराकानी :
तपाईंका डिजिटल हिंसा कसरी हुने रहेछन् ?
आजभन्दा १५ वर्ष अघिदेखि ममाथि डिजिटल हिंसा हुँदै आइरहेको छ । यसको जिम्मेवारचाहिँ हामी सबै हौं । डिजिटल मिडिया हामीले प्रयोग गर्ने हो, दुरुपयोग गर्ने हैन भन्नेबारेमा हामी जानकार रहेनौं । मुख छाड्नु मात्र साइबर बुलिङ हैन, प्रत्यक्ष/अप्रत्यक्ष कसैको सामाजिक सञ्जालमा अभिव्यक्ति वा सानो लेखाइले पनि अर्को मान्छेलाई त्यतिकै असर पारिरहेको हुन सक्छ । नेपालमा साइबर बुलिङ मलाई जति कसैलाई भएको छैन होला ।
हाम्रो मानहानि भयो भनेर साइबर ब्युरोमा जान्छौं । त्यहाँनिर पनि थोरै शक्तिको खेल हुन्छ । साइबर बुलिङ गर्ने एउटा शक्तिशाली समूह छ । त्यो समूहले एउटा मान्छेलाई हेप्ने, कहिलेकाहीँ साइबर अपराधका नाममा चाहिने–नचाहिने आरोप लगाएर थुनिदिने । नसक्नेले केही गर्न सकिरहेको छैन, सक्नेले चाहिनेभन्दा बढी गरिरहेको छ । साइबार सेना भन्ने पनि हुँदो रहेछ । उनीहरूको प्रोफाइल आक्रमणकै लागि ‘क्रिएट’ गरेको हुँदो रहेछ । यो साइबरसम्बन्धी सञ्जालमार्फत गर्ने/जान्ने मान्छेहरूको समूह छ ।
सुरुमा तपाईंलाई कस्ता खालका आक्रमणले पीडा दियो ?
मैले भोगेअनुसार नियतवश गरिने बुलिङ हो । २०१३/०१४ तिर ‘ढाडे बिरालो’ भन्ने गीत निकाल्ने बेला केही मेरै फिल्डका नजिकका मान्छे थिए, जसले समाचार बनाए– ज्योति मगरलाई महिला समूहले कुटपिट गरेर जेलमा हालेको छ । त्यो अफवाहले मलाई सबैभन्दा ठूलो असर गरेको छ । मेरो आमासमेत सुत्न सक्नुभएन । म कति दिन निदाउनै सकिनँ । डिप्रेसनमा गएँ । त्यतिबेलाको मानसिक तनाव अहिलेसम्म पनि सञ्चो भइसकेको छैन । म के हो भन्ने मलाई थाहा हुन्छ । मेराबारे भ्रम फैलाउँदा मलाई मान्छेले हेर्ने दृष्टिकोण, दिने इज्जत, सम्मान, प्रतिष्ठामै आँच आउँछ । सबैभन्दा मान्छेलाई दुख्ने भनेको प्रतिष्ठामा आँच आउँदा हो । यो सबैभन्दा सहन गाह्रो कुरा हो ।
कस्ता मान्छेहरू यस्तो काममा संलग्न हुँदा रहेछन् ?
जो मान्छे अहिले समाजमा ज्ञानी भएर बसिरहनुभएको छ, उहाँहरूले नै यस्ता खालका समूह निर्माण गर्नुभएको छ । मैले पनि आफ्नो प्रोफाइल हेर्छु । कसैका बारेमा मैले आफ्नो केही धारणा राखें, मलाई गलत लाग्यो भने उसको सेनाले अट्याक गर्छ । हामीले हाँगा काट्ने काम गरिरहेका छौं । यसको जरो उखेल्न जरुरी छ ।
तपाईंलाई यो कुरासँग लड्नुपर्छ भन्ने कुरा कहिलेदेखि अनुभूति भयो ?
मैले गलत कुराको पछि लागेर समय बर्बाद गर्नु हुन्न भन्ने लाग्यो । योबाहेक मेरा धेरै जिम्मेवारी छन् । सबैभन्दा ठूलो ट्याकल त्यो चीजलाई भ्यालु नदिनु नै हो । मेरो कुरामा म सही छु, यी गलत कुरा आफैं हराएर जान्छन् भन्नेमा म ढुक्क छु । केही नगर्नु नै मैले ट्याकल गर्नु हो जस्तो लाग्छ ।









