हाम्रो नेपालमा: गैरदलितसँग विवाह गरेका युवक प्रहरीको थुनामा

 

सिरहा —सिरहामा गैरदलित युवतीसँग प्रेम विवाह गरेका युवकलाई प्रहरीले थुनामा राखेको पाइएको छ । सुखीपुर नगरपालिका-५ का २१ वर्षीय अमृतकुमार मोचीलाई प्रहरीले गैरकानुनी ढंगले शुक्रबार रातिदेखि थुनामा राखेको हो ।

Advertisement

 

अमृतलाई हिजो राति ११ बजे नै सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीको पुल छेउबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई विवाह मण्डपबाटै इलाका प्रहरी कार्यालय, बन्दिपुरको टोलीले इलाका प्रहरी कार्यालय, गोलबजार पुर्‍याएको थियो ।

त्यहाँ हिरासतमा राखिएका उनलाई स्थानीय अगुवाहरूको पहलपछि शनिबार साँझ मात्रै आफन्तको जिम्मा लगाइएको हो। अमृतसँगै उनकी पत्नी धनगढीमाई नगरपालिका-२ की २० वर्षीया कोसिकाकुमारी साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । रातभर गोलबजारस्थित सेफ हाउसमा राखिएकी उनलाई पनि अमृतकै परिवारलाई जिम्मा लगाइएको छ ।

विगत एक वर्षदेखि प्रेममा रहेका उनीहरूलाई शुक्रबार विवाहका लागि आफन्त र गाउँलेले जनकपुरस्थित जानकी मन्दिर लगेका थिए । तर, त्यहाँ विवाह सकिन लागेका बेला युवतीका बुबा फुलगेन साहसहित १५-२० जनाको समूह पुगेर विवाद गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालय, धनुषामा लगेको थियो ।

धनुषा प्रहरीमा उनीहरुले उमेर पुग्ने कागजात देखाउँदै राजीखुसी विवाह गरेको बताएपछि प्रहरीले दुवैलाई शनिबार युवकको परिवारलाई जिम्मा लगाइदिएको थियो ।

तर, अमृतकी आमा रुकमिनी मोचीले भने सिरहा प्रहरीले छोरा र बुहारीलाई अपहरण शैलीमा नियन्त्रणमा लिएको आरोप लगाइन् । राजीखुसी विवाह गरेका छोरा-बुहारीलाई छुटाउने नियतले प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको उनको दाबी छ ।

‘हामीले नागरिकता देखाएपछि धनुषा प्रहरीले छाडिदिएको थियो । सुरक्षित ढंगले घर पुर्‍याइदिनुको साटो सिरहा आइपुगेपछि यहाँका प्रहरीले मेरो छोरालाई थुनेर राखे,’ रुकमिनीले कान्तिपुरसित भनिन्, ‘प्रहरी प्रभावमा परेर मेरो छोरा-बुहारीलाई छुटाउन खोजेको देखिन्थ्यो, सायद हामी दलित भएर यस्तो व्यवहार भयो ।’

सिरहा प्रहरीले भने शान्ति सुरक्षाका लागि युवक र युवतीलाई नियन्त्रणमा राखिएको दाबी गरेको छ । ‘उनीहरूलाई छाड्दा दुई पक्षबीच विवाद हुन सक्थ्यो, त्यसैले नियन्त्रणमा राखेका हौं,’ जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले भने, ‘यसमा अरू त्यस्तो केही छैन ।’

मधेश पुस्तकालयका संरक्षक आभाष गुरु प्रहरीले कसैलाई पनि बिनाकारण अपराधी जसरी थुनामा राख्नु गैरकानुनी कार्य भएको बताए । प्रहरीले नागरिकलाई असुरक्षा भए घरमै सुरक्षाको प्रत्याभूत गर्नेगरी व्यवस्था मिलाउनुपर्नेमा थुनेर राख्नु निन्दनीय रहेको उनको भनाइ छ ।

परिवारको जिम्मा लगाइए पनि उनीहरू अझै गोलबजार प्रहरी कार्यालयबाट निस्कन सकेका छैनन् । युवकका छिमेकी रामउदगारका अनुसार, युवतीका बुबासहित एउटा समूह प्रहरी कार्यालयको गेटमै घेरा हालेर बसेको छ । ईकान्तिपुर ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु