चिसो बढेसँगै भाइरल सङ्क्रमण पनि बढ्दो, बालबालिका, वृद्ध र दीर्घरोगी अधिक जोखिममा

बीबीसी – पछिल्ला एक सातामा राजधानी काठमाण्डूस्थिति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका निम्ति भर्ना गरिएकामा दीर्घकालका दम, खोकी र श्वासप्रश्वासका बिरामी धेरै रहेको त्यहाँका चिकित्सकहरूले बताएका छन्।

“खासगरी मङ्सिर लागेपछि यस्तो अवस्था देखिन्छ,” टिचिङ अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा निरज बमले भने।

Advertisement

“प्रदूषण पनि छ, तुवाँलो लागेको छ र घाम पनि पर्याप्त देख्न सकिएको छैन। यस्तोमा खासगरी श्वासप्रश्वासबाट बढ्ने भाइरल सङ्क्रमण र ब्याक्टेरियाको सङ्क्रमण बढेको छ।”

डिसेम्बर लागेपछिको समय हिउँद मानिने भए पनि मनसुनपछिको एक महिनाभित्रै अधिकतम र न्यूनतम दुवै तापक्रम घटिरहेको पाइएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारी बताउँछन्।

“तर तराईमा कडा शीतलहर सुरु हुने वा अझै तापक्रम घट्ने खास अवस्था अझै सुरु नै भएको छ।”

शनिवार राजधानी काठमाण्डूमा न्यूनतम तापक्रम ७ डिग्री सेल्सिअर थियो भने शुक्रवार ६.५ डिग्री सेल्सिअस मापन गरिएको थियो।

स्थ्यमा चिन्ता
प्रदूषण र चिसो मिसिएको समयमा धूँवा धूलोमा टाँसिएर इन्फ्लूएन्जा, राइनो, डडिनोजस्ता भाइरसहरूको सङ्क्रमण बढ्ने डा बम बताउँछन्।

यस्तो बेला रोग प्रतिरोधी क्षमता कमजोर भएका बिरामीहरू थप जोखिममा हुन्छन्।”

प्रतिरोधी क्षमता कम भएका व्यक्तिमा क्यान्सरका बिरामी, कलेजोका बिरामी, मृगौलाको डायलासिस गराइरहेका बिरामी, अक्सिजन लिइराखेका दीर्घ खालका दमका बिरामी, गर्भवती, सुगरका बिरामी, मुटु रोगका बिरामी, स्ट्रोक तथा पक्षघात भएर बसेकाहरू पर्ने बताइन्छ।

“टिचिङ अस्पतालमा पछिल्लो एक साताजतिमा सबैभन्दा धेरै भर्ना हुने भनेकै दीर्घकालका श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू छन्,” डा बम भन्छन्।

“सङ्क्रमणबाट बच्न स्वास्थ्यका मापदण्ड पालना गर्ने, सामाजिक दूरी कायम गर्ने, धूलोधूँवा एकदमै धेरै भएकाले बाहिर निस्कँदा मास्कको प्रयोग गर्नुपर्छ। यस्तो समयमा पोषणयुक्त खानेकुरा निकै खान आवश्यक छ। खाइरहेका दीर्घ रोगका औषधि टुटाउनु हुँदैन।”

चिकित्सकहरू सकेसम्म बिहानै वा राती चिसोमा बाहिर हिँडडुल नगर्न र जेष्ठ नागरिकहरूलाई सबेरै चिसो पानीले ननुहाउन सुझाउँछन्। चिसो निकै बढेको हो?

 

“अहिले अस्पताल आउने धेरैजसोमा १० वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका जेष्ठ नागरिकहरू छन्। उनीहरूमा भाइरल सङ्क्रमण बढेको पाइन्छ,” उनले भने।

चिसो अचाक्ली बढेको अवस्था नरहे पनि न्यूनतम तापक्रम भने तीव्र गतिमा घटिरहेको देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरू बताउँछन्।

“यो बेला अधिकतम र न्यूनतम तापक्रम दुवै बिस्तारै घट्दै जाने नै हो,” विभागका मौसमविद् अधिकारी भन्छन्, “लामो समयको औसतको तुलनामा यतिखेरको तापक्रम बरु केही बढ्ता छ।”

मौसमविद् अधिकारीले आउँदो साता अधिकतम र न्यूनतम तापक्रम थप घट्न थाल्ने देखिएको बताए पनि त्यसलाई “असामान्य” भन्न भने नमिल्ने बताउँछन्।

नोभेम्बर १ मा अधिकतम तापक्रम २१ डिग्री सेल्सिअस हुँदा न्यूनतम तापक्रम १४-१५ डिग्री सेल्सिअस रहेको थियो। नोभेम्बर १० तिर न्यूनतम तापक्रम १०-१२ डिग्री सेल्सिअसतिर झरे तापनि अधिकतम भने बढेर २३ डिग्री सेल्सिअस पुगेको थियो।

नोभेम्बर १५ तारिखमा न्यूनतम ८-१० डिग्री सेल्सिअस पुगेको थियो भने अधिकतम २० डिग्री सेल्सिअस पुगेको देखिन्छ।

२० तारिखमा न्यूनतम ९-११ डिग्री सेल्सिअस तापक्रम पुगेको थियो भने अधिकतम २० डिग्री सेल्सिअसकै आसपास थियो। त्यस्तै २५ तारिखमा न्यूनतम तापक्रम ७-९ डिग्री सेल्सिअस थियो भने अधिकतम १९ डिग्री सेल्सिअस थियो।

सुख्खा याममा प्रदूषित वायुमण्डल
चौबीस घण्टाको अवधिमा दिउँसो १-२ बजे आसपास अधिकतम तापक्रम मापन गरिन्छ भने सामान्य दिनमा मध्यरातपछिको समयमा न्यूनतम तापमान रेकर्ड हुने गरेको छ।

“तराईमा भने चन्द्रगढी, विराटनगर, सिमरा, भैरहवाजस्ता ठाउँमा अझै ३० डिग्री सेल्सिअस आसपासमै छ। बादल लाग्दाका दिनमा अधिकतम तापक्रम पनि धेरै माथि जान पाउँदैन। न्यूनतम पनि खासै घट्दैन। आकाश खुला भएको दिनमा चिसो बढ्छ,” मौसमविद् अधिकारी भन्छन्।

“तर तराईका प्राय: ठाउँमा हुस्सु र कुहिरो देखिन थालिसकेको अवस्था पनि छ।”

सामान्यतः कुहिरोमा एक किलोमिटरसम्म पनि केही देखिँदैन। करिब पाँच किलोमिटरसम्म केही देखिने तर त्यसपछि केही पनि नदेखिने स्थितिलाई हुस्सु लागेको भनिन्छ।

सबैभन्दा सुख्खा महिनाका रूपमा नोभेम्बरलाई लिइन्छ।

यस्तो अवस्थाको जोखिमबारे मौसमविद् अधिकारी भन्छन्, “पानी निकै कम पर्ने वा नपर्ने अवस्था भनेकै स्थिर वायुमण्डल हुने समय हो। यस्तोमा फोहोरहरू जम्मा भएर बसेको हुन्छ। डढेलो र आगलागी हुने पनि यही समय भएकाले वायुमण्डल थप दूषित पार्ने गर्छ।”

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु