लुम्बिनीमा पदाधिकारीका लागि दौडधुप, कसको के छ दाउ ?

बुटवल/ईकान्तिपुर । नेकपा (एमाले) को ११औँ महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौँमा हुँदै छ । हालसम्म एमालेको नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि दुवै पक्षबाट अन्य पदमा नेताहरूले आकांक्षीका रूपमा आफूलाई सार्वजनिक गरेका छैनन् ।

तर आन्तरिक रूपमा नेताहरूको दौडधुप धेरै छ । यो महाधिवेशनबाट अघिल्लोभन्दा धेरै पदाधिकारी लुम्बिनी प्रदेशले पाउनेछ वा भएका पदाधिकारी पनि घट्नेछन् ? कार्यकर्ताहरूले चासोका साथ हेरेका छन् ।

Advertisement

लुम्बिनी प्रदेशबाट १९१ जना राष्ट्रिय प्रतिनिधि छनोट भएका छन् । उनीहरूसँग हाल केन्द्रमा रहेका प्रदेशका ६ जना पदाधिकारीले आफू औपचारिक रूपमा कुन पदमा जाने भन्ने स्पष्ट जानकारी गराएका छैनन् । तर भित्री रूपमा मैदानमा जाने संकेत भने प्रतिनिधिसँग गरेका छन् ।

लुम्बिनी प्रदेश एमालेका अध्यक्ष राधाकृष्ण कँडेलले अहिलेसम्म यहाँबाट केन्द्रमा पुगेका पदाधिकारीहरू कुन पदमा उठ्ने भन्ने विषयमा मिडियामा आएको भन्दा बाहेक अन्य ढंगबाट जानकारी नआएको रातोपाटीलाई बताए । उनले भने, ‘१०औँ महाधिवेशनबाट हाल केन्द्रमा पुगेका पदाधिकारीहरूले ठ्याक्कै यही पदमा उठ्ने सहयोग गर्नुपर्‍यो भनेर आग्रह गरेको अवस्था छैन, तर केही मिडियामा चर्चा सुनिन्छ । त्योभन्दा थप खुलेको अवस्था देखिँदैन ।’

को–को पदाधिकारीहरू कता लाग्न सक्छन् ?
१०औँ महाधिवेशनबाट एमालेमा अहिले उपाध्यक्षद्वय युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल लुम्बिनी प्रदेशका नेता हुन् । यस्तै महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट र छविलाल विश्वकर्मा छन् । टोपबहादुर रायमाझी सचिव नै रहे पनि अहिले निलम्बित रही पुर्पक्षका लागि थुनामा छन् ।

ती पदाधिकारीहरूमध्ये को–को अहिले उम्मेदवार बन्नेछन् भन्नेमा धेरै कार्यकर्ताहरूले चासो दिएका छन् । तर एमाले दुई पक्ष भएर निर्वाचनमा जाने भएपछि लुम्बिनी प्रदेशबाट नयाँ पदाधिकारी पाउने सम्भावना कम छ । बरु हाल रहेका पदाधिकारीहरूमध्ये केही आउट हुनसक्ने आकलन गरिएको छ ।

अध्यक्षमा ओली र पोखरेल पक्षधर बनेर निर्वाचनमा जाँदा हाल प्रदेशबाट केन्द्रमा पुगेका पदाधिकारीहरू दुई खेमामा छन् ।

हालसम्म पोखरेलको पक्षमा लुम्बिनीबाट युवराज ज्ञवाली र गोकर्ण विष्ट देखिन्छन् भने ओली पक्षतिर महासचिव शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र छविलाल विश्वकर्मा देखिएका छन् ।

रायमाझी हाल थुनामा परेका कारण उनी ११औँ महाधिवेशनमा आउट हुनेछन् । यदि दुई धार बनेर निर्वाचनमा जाने अवस्था आए ओली पक्षबाट शंकर पोखरेल नै महासचिवमा दोहोरिएर मैदानमा जाने सम्भावना धेरै छ ।

यदि ओलीले आफ्ना पक्षका नेताहरूलाई व्यवस्थापन गर्न समस्या देखिए शंकरलाई उपाध्यक्ष बनाउन अन्तिम अवस्था रहन सक्ने एक केन्द्रीय सदस्यले बताए । त्यो अवस्था आए लुम्बिनीबाट प्रदीप ज्ञवाली महासचिवको उम्मेदवार बन्न सक्नेछन् । किनकि विष्णु पौडेलले अध्यक्ष र महासचिव नबन्ने र उपाध्यक्ष बस्ने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेशबाट ओली पक्षमा रहेका हालका पदाधिकारी विश्वकर्माले पदाधिकारीमा निरन्तरता पाउने निश्चितजस्तै छ । तर ओलीका सधैँ बफादार शंकरलाई नै महासचिव दोहोर्‍याएर अन्य नेताहरू पनि प्रायः पुरानै पदमा दोहोर्‍याउने सम्भावना उस्तै रहेको बुझिन्छ ।

यता ईश्वर पक्षतिर देखिएका ज्ञवालीले उपाध्यक्षमा दोहोरिएर उम्मेदवार बन्ने तयारी गरिरहेका छन् । यस्तै दुई पटक सचिव भएका गोकर्ण विष्ट पनि महासचिवमा ईश्वर पक्षबाटै जाने आन्तरिक तयारी गरेको उनीनिकट कार्यकर्ताहरू बताउँछन् ।

तर, टिम व्यवस्थापन गर्दा कुन पोस्टमा जान सकिन्छ भन्ने अझै दुई पक्षको स्पष्ट खाका आएको अवस्था छैन । पुराना सचिवमध्ये गोकर्णले अब त्यो पदमा नबस्ने बताइसकेका छन् । यस आधारमा लुम्बिनी प्रदेशमा १०औँ महाधिवेशनबाट आएका पदाधिकारीहरू ‘अपग्रेड’ हुने सम्भावना कम देखिन्छ ।

रुपन्देहीका युवा विश्लेषक देवराज पोखरेल लुम्बिनी प्रदेशबाट ११औँ महाधिवेशनमा पदाधिकारीहरू अपग्रेड हुने सम्भावना कम रहेको बताउँछन् । ‘अहिलेको परिदृश्य हेर्दा १०औँ महाधिवेशनमा भन्दा ११औँ महाधिवेशनमा लुम्बिनीबाट पदाधिकारी धेरै आउने सम्भावना कम छ, बरु घट्न सक्नेछन्,’ उनले बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु