तेजेन्द्र के.सी./रातोपाटी
बुटवल । शनिबार राति कपिलवस्तुको चन्द्रौटाबाट प्रहरीले एक जनालाई कटुवा पेस्तोलसहित नियन्त्रणमा लियो, डाँका मुद्दामा अदालतबाट कैद सजाय तोकिएका ती व्यक्तिलाई घरबाटै प्रहरीले पक्राउ गरेको थियो ।
यस्तै शनिबार दिउँसो दाङको लमहीमा गोली चल्यो । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली चल्दा पसल सञ्चालक १८ वर्षीय दीपक सुनार घाइते भए । गोली चलाएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको भए पनि उनको नाम सार्वजनिक गरेको छैन ।
Advertisement
यसैगरी शुक्रबार राति रुपन्देहीमा कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गैडहवा गाउँपालिका–३ पोहवाचोकस्थित दरबार होटेल एन्ड रेस्टुरेन्टबाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर सदरथाना डिहवाका ५२ वर्षीय महमद रमजान र भारत थानाबासी मरचहवाका ४२ वर्षीय सञ्जय पासी रहेका छन् ।
केही दिनअघि बाँकेको नेपालगञ्ज बसपार्कमा ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यी पछिल्ला घटनाहरूले लुम्बिनी प्रदेशका, विशेषगरी तराईका जिल्लाहरूमा, साना हतियारको व्यापक उपस्थिति रहेको बलियो प्रमाण देखाउँछ ।
यी साना हतियारको त्रासबिच फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन भयरहित होला ? प्रश्न उठेको छ । रातोपाटीसँगको अनौपचारिक र औपचारिक कुराकानीमा प्रहरी अधिकृतहरूले बजारमा साना हतियारको उपलब्धतालाई निर्वाचनको मुख्य चुनौती मानेका छन् ।
उनीहरूका अनुसार यी हतियार भारतको खुला सीमा प्रयोग गरी भित्र्याइन्छ र कतिपय अवस्थामा भारतीय अपराधीहरूले नै नेपालमा ती हतियार प्रयोग गरेको उदाहरणसमेत छन् । केही दिनअघि भैरहवाको एक क्यासिनोमा भारतीय नागरिकले गोली चलाएको भए पनि ती नागरिक अझै पक्राउ परेका छैनन् ।
कपिलवस्तुका एसपी सन्तोष आचार्यले रातोपाटीलाई बताएअनुसार खुला सिमानाका कारण भारतबाट तुलनात्मक रूपमा सस्तो र सहज रूपमा साना हतियार भित्रिरहेका छन् । ती हतियार निर्वाचनका बेला मात्र नभई अन्य समयमा पनि सधैँ चुनौतीका रूपमा रहन्छन् ।
साना हतियार सहज रूपमा पाइने र विगतमा फरार तथा अपराधी पृष्ठभूमि भएका व्यक्तिहरू निर्वाचनका बेला मुख्य चुनौती हुने भएकाले प्रहरीले फरार अपराधीहरूको खोजी कार्यलाई तीव्रता दिएको आचार्य बताउँछन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बाँके, कपिलवस्तु र रुपन्देही जिल्लालाई सुरक्षा दृष्टिकोणले अति संवेदनशीलका रूपमा राखेको छ । यस्तै, नवलपरासी, दाङ र बर्दियालाई पनि संवेदनशील क्षेत्रका रूपमा राखिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख डीआईजी राजेन्द्र प्रसाद भट्ट पनि प्रदेशमा साना हतियार निर्वाचनका लागि मुख्य चुनौती रहेको स्विकार्छन् । साना हतियारले निर्वाचनका बेला मात्र नभएर सधैँ समाजमा त्रास सिर्जना गर्ने भएकाले नेपाल प्रहरी गम्भीर रहेको उनी बताउँछन् ।
नेपाल प्रहरी मात्र नभई अन्य सुरक्षा निकायसँग सहकार्य गरेर साना हतियार खोज्ने तथा हतियार भित्रिने ठाउँहरूमा चेकजाँचमा कडाइ गर्ने काम भइरहेको उनले जानकारी दिए । निर्वाचनमा सुरक्षाका हिसाबले धेरै चुनौतीहरू रहे पनि जुनसुकै बेला जे पनि हुन सक्ने भएकाले प्रहरी चनाखो भएको उनको भनाइ थियो ।
फरार कैदीहरू
केहीअघि प्रधानमन्त्री सुशीला कार्कीसँग प्रदेशका मुख्यमन्त्रीहरूको छलफलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले फरार कैदी र हतियार फिर्ता नहुँदासम्म निर्वाचनको वातावरण नबन्ने भन्दै सरकारलाई ध्यानाकर्षण गराएका थिए ।
मुख्यमन्त्री आचार्यले भनेजस्तै लुम्बिनी प्रदेशका नवलपरासी, कपिलवस्तु, दाङ र बाँके जिल्लाबाट फरार रहेका १७ सय बन्दीमध्ये ५ सयभन्दा धेरै नियन्त्रणमा आउन बाँकी रहेका लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ, यद्यपि यहाँबाट हतियार लुटिएका थिएनन् । यहाँका फरार कैदीहरूबाट अन्य अपराधका साथै निर्वाचनका बेला पनि समस्या आउन सक्ने प्रहरीको आकलन छ ।
प्रदेशका डीआईजी भट्टले अन्य ठाउँबाट लुटिएर ल्याइएका हतियार यहाँ पनि प्रयोग हुन सक्ने भएकाले प्रहरी सतर्क रहेको प्रस्ट पारे । उनले यस प्रदेशबाट नलुटिए पनि अन्य ठाउँबाट लुटिएका हतियारको प्रयोग हुन सक्ने भएकाले आफूहरू सतर्क रहेको पनि उनले बताए ।त्यस्तै फरार बन्दीहरूले अन्य अपराध गराउन सक्ने त्रास पनि रहेको उनको भनाइ छ । ‘जेनजी आन्दोलनमा फरार रहेका व्यक्तिहरूले लुटेर लगेका हतियार विभिन्न ठाउँमा नियन्त्रणमा आउने क्रम जारी छ,’ उनले भने, ‘कतिपय भारतमा भए पनि भारतीय प्रहरीसँग समन्वय गरेर ल्याउने काम भइरहेको छ ।’
अर्कोतिर, भारतबाट सस्तो र सहज रूपमा अपराधीहरूले भित्र्याउन सक्ने साना हतियार प्रहरीका लागि अर्को चुनौती बनेको छ ।
जेनजी आन्दोलनमा हतियार लुटिँदा र चौकीहरूमा तोडफोड र आगजनी हुँदा प्रहरीको मनोबल गिरे पनि पछिल्लो समय निर्वाचनलक्षित सुरक्षा सुरक्षा रणनीति बनाइरहेको छ ।
तर डीआईजी भट्ट निर्वाचनमा साना हतियारकै कारण समस्या ठुलो नआउने तर्क गर्छन् । ‘अहिलेसम्म ठिकै छ, तर अब अन्य कारण आए पनि हतियारका कारण निर्वाचनमा समस्या आउँदैन,’ उनी विश्वास व्यक्त गर्छन् ।
जसअनुसार निर्वाचनकेन्द्रित गरी विगतमा अपराधी पृष्ठभूमि भएका व्यक्तिहरूलाई नोटिस गर्ने, फरार बन्दीलाई नियन्त्रणमा लिने, विभिन्न मुद्दामा फरार रहेका तथा शङ्कास्पद व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिइएको उनले बताए ।
अन्य सुरक्षा निकायसँग सम्पर्कमा रहेर थप काम गरिरहेको पनि उनको भनाइ छ ।









