बर्दिया दक्षिण भकारी घटना : आमा र नानाले ज्यान गुमाएपछि अनिताको जन्म दर्ता

बर्दिया । बर्दिया बढैयाताल गाउँपालिका ४ दक्षिण भकारीका आमा र नानाले ज्यान गुमाएको एक महिनापछि बालिका अनिता थारुको जन्मदर्ता बनेको छ ।

 

Advertisement

नागरिकताबाट वञ्चित भएपछि बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिको रोहबरमा उनको जन्म दर्ता बनेको हो ।

समितिका संयोजक सुरेश पन्थीको नेतृत्वमा सदस्यहरुसहितको टोली बढैयाताल गाउँपालिका–४ स्थित घटनास्थल पुगेर समग्र वस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरेको छ ।

छानबिन समितिको सहयोगमा मृतक अञ्जु थारुकी सात वर्षीया छोरी अनिताको जन्म दर्ता र आमा अञ्जुको मृत्यु दर्ता भएको छ । समिति सदस्य कुलशेखर अर्यालका अनुसार टोलीले घटनास्थलमा आएर पीडित परिवारलाई सहजीकरण र घटनाका बारेमा छानबिन थालेको छ ।

घटनापछि अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा दर्ता भएको छ । उनलाई पक्राउ गर्न अदालतबाट अनुमति प्राप्त भइसकेको छ । सो घटनाका बारेमा राष्ट्रिय मानवअधिकार आयोगले पनि छानबिन गरिरहेको छ ।

सो घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले यही मङ्सिर २१ गते सहसचिव पन्थीको संयोजकत्वमा, उपसचिव अर्याल र बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी सदस्य रहेको समिति गठन गरेको थियो । समितिलाई पाँच दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन भनिएको छ ।

बर्दियाको बढैयाताल–४ की २२ बर्सिया अन्जु थारुले गाउँकै अनिल थारुसँग बिहे गरेकी थिईन । अञ्जुले श्रीमान विरुद्ध अंश मुद्दा दर्ता गरेकामा अदालतले अंश दिने फैसला गरे पनि नागरिकता नभएका कारण अंश पाउन सकेनन । नागरिकता नहुँदा उहाँकी छोरीको जन्मदर्ता हुन सकेन ।

अदालतले अंश दिन आदेश गरे पनि वडा कार्यालयले नागरिकताको सिफारिस गरेन । आमाको नामबाट सन्तानको जन्मदर्ता हुनसक्ने कानुनी व्यवस्था भए पनि अञ्जुले सात वर्षकी छोरीको जन्म दर्ता गर्न सकिन्न।

स्थानीय तह र प्रशासनबाट निरन्तर असहयोग भएपछि अञ्जुले माइतीमै गत कात्तिक २२ आत्महत्या गरेकी थिईन। अञ्जुले आत्महत्या गरेको चार दिनमै छोरीको मृत्युको शोकमा रहेकी ६१ वर्षीय बाबु कान्छा थारुले पनि आत्महत्या गरे ।

जन्म दर्ता र नागरिकता सिफारिस नदिने वडा अध्यक्षमाथि उजुरी गरिएको छैन ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु