आफ्ना बच्चाहरूलाई बाघबाट जोगाउँदै ४ आमाहरू

बीबीसी -गाउँ वरिपरि घना जङ्गल छ। यहाँ सबैजना बाघको डरमा बाँच्छन्। बाघ कहिले र कहाँबाट आउँछ भन्न सकिन्न।

गाउँलाई जङ्गलका जनावरहरूबाट जोगाउन तारको बार लगाइएको छ। यस गाउँको दृश्य यस्तो लाग्छ- जनावरहरू जङ्गलमा स्वतन्त्र छन् र मानिसहरू पिँजडामा छन्।

Advertisement

यो चन्द्रपुर जिल्लाको मोहोर्ली वन क्षेत्रको सीतारामपेठ गाउँको दृश्य हो। यो गाउँ ताडोबा बाघ आरक्ष क्षेत्रभित्र पर्छ।

गाउँबाट बस स्ट्यान्डसम्म ४०० मिटर कच्ची बाटो छ। एकातिर घना जङ्गल छ भने अर्कोतिर खेतबारी छ।

र, बाटोमा एउटा पनि सडक बत्ती छैन। गाउँलेहरूले सधैँजसो यो बाटोमा बाघ देख्छन्। बाघले कहिले गाईबस्तुमाथि आक्रमण गर्छन्, कहिले जङ्गलबाट गाउँमा बाघ आउँदै गरेको देखिन्छ। त्यसैले यो बाटोमा यात्रा गर्न गाउँलेहरू डराउँछन्।

वन विभागका अनुसार यस क्षेत्रमा नियमित रूपमा १०-१२ वटा बाघ देखिन्छन्। बाघको यस्तो खतराको सामना गर्दै गाउँका चार महिलाले आफ्नो गाउँका बालबालिकाहरू विद्यालय जान र सुरक्षित रूपमा घर फर्कन सकून् भनेर पहल गरेका छन्।

रातको घोर अँध्यारोमा जुनसुकै बेला बाघले आक्रमण गर्न सक्ने बाटोमा यी चार महिलाले हातमा काठको लौरो र टर्च लिएर आफ्ना बच्चाहरूलाई जोगाउँछन्।

बाघको आतङ्कका बीच विद्यार्थीहरूको सुरक्षाको लागि उभिने यी चार साहसी महिलाहरूको नाम किरण गेडाम, वेणु रान्डये, रीना नाट र सीमा मडावी हुन्।

यी चार महिलाहरूको साहसिक कार्य हेर्न हामी ताडोबा क्षेत्रमा रहेको सीतारामपेठ गाउँ पुग्यौँ। यो गाउँमा लगभग २०० जना बस्छन्।

यस गाउँका ११ जना विद्यार्थी ७ किलोमिटर टाढा रहेको मुधोलीमा पढ्न जान्छन्। यसका लागि उनीहरूले गाउँबाट ४०० मिटर टाढा रहेको बस स्ट्यान्डमा पुग्नुपर्छ। तर, ४०० मिटरको बाटो जङ्गली जनावरका कारण खतरनाक छ।

यो बाटोमा सबैले बाघ देख्न सक्छन्। कक्षा १० मा पढ्ने विद्यार्थी सुशान्त नाट भन्छन्, “गत महिना, हामी स्कुल जाँदा, गाउँ नजिकै बाघ देख्यौँ। त्यो गाईको पछि दौडिरहेको थियो। बाघ देख्ने बित्तिकै हामी गाउँतिर दौडियौँ। हामीले कराएपछि गाउँलेहरू के भयो भनेर सोध्दै भेला भए। हामीले त्यहाँ बाघ छ भन्यौँ। कहिले बाघ बाटोमा हिँडिरहेको देखिन्छ, कहिले गाईलाई आक्रमण गरिरहेको देखिन्छ। त्यसमाथि हामी साना केटाकेटी हौँ। यसले हामीलाई पनि आक्रमण गर्न सक्छ। हामी कसरी स्कुल जान सक्छौँ? हामी सबै केटाकेटीहरूले गाउँका मानिसहरूलाई भन्यौँ।”

सुशान्त र गाउँका बच्चाहरू पहिले बस स्ट्यान्डबाट गाउँतिर दौडिँदै पुग्थे। तर यो पनि खतरनाक थियो। त्यसैले गाउँका चार महिलाहरू यी विद्यार्थीहरूलाई बचाउन अगाडि सरे।

यसरी अँध्यारोमा बालबालिकालाई सुरक्षित राखिन्छ
बिहान पौने १० बजे मुधोली जाने बस आइपुग्छ। सबै केटाकेटीहरू तयार हुन्छन् र गाउँको चोकमा भेला हुन्छन्। त्यसपछि यी चार महिलाहरूले केटाकेटीहरूलाई बस स्ट्यान्डमा लैजान्छन्। केटाकेटीहरू बीचमा छन् र चारै तिरबाट महिलाहरूले घेरिएका छन्।

बस स्ट्यान्डतिर पनि बाघ देखिन्छन् कहिलेकाहीँ। बस नआउन्जेल यी महिलाहरूले त्यहाँका विद्यार्थीहरूलाई सुरक्षा पनि दिन्छन्। विद्यार्थीलाई आफ्नो घेराभित्र राखेर चारै जना महिलाहरू उभिन्छन् ताकि पछाडिबाट बाघ आयो भने त्यो देख्न सकियोस्।

कञ्चनपुरमा मान्छे मार्ने बाघ सधैँका लागि खोरमा राखिने सम्भावना, चितवनमा समातिएकालाई छाड्न सकिने
बाघको सङ्ख्या तेबर अनि वन क्षेत्र विस्तार गरेकोमा नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाएको ‘ताल’ के हो?
ती विद्यार्थीहरू साँझ पौने ७ बजेतिर आइपुग्ने एस.टी. कर्पोरेसनको बसबाट घर फर्किन्छन्। त्यतिन्जेलसम्म अँध्यारो भइसकेको हुन्छ। गाउँबाट बस स्ट्यान्ड जाने बाटोमा बत्ती छैन। बाघ वा अन्य कुनै जनावर जुनसुकै बेला आउन सक्छ। त्यसैले, काठको लौरो र हातमा टर्च लिएर, चारै जना बच्चाहरूलाई लिन बस स्ट्यान्डमा जान्छन्।

बसबाट बच्चाहरू झरेपछि उनीहरूलाई बीचमा राखेर सुरक्षात्मक घेरा बनाउँछन् र घर लैजान्छन्। सडकबाट आउँदा, महिलाहरूले आफ्नो टर्च बालेर कुनै पनि जनावर छ कि छैन भनेर हेर्छन्। उनीहरूले आफ्नो लाठीले आवाज निकाल्छन्, कराउँछन् ताकि यदि बाघ छ भने भागोस्।

चार महिलामध्ये एक किरण गेडाम भन्छिन्, “रातको अँध्यारोमा बस स्ट्यान्डबाट गाउँसम्मको १५ मिनेटको पैदल यात्रा धेरै खतरनाक छ। हामीलाई कतैबाट बाघ आउला कि भनेर डर लाग्छ। हामी बच्चाहरूलाई लिन जाँदा कहिलेकाहीँ बाघ देख्छौँ। तर, हामी बच्चाहरूलाई भन्दैनौँ। किनभने, बच्चाहरू डराउँछन्। आउँदै गर्दा बाघ देख्दा हामी चिच्याउछौँ वा यदि त्यसको ध्यान अन्यत्र छ भने हामी खुरुखुरु जान्छौँ। हामी गाउँ नपुगुन्जेल डराइरहेका हुन्छौँ।”

तर, किन यी महिलाहरूले आफ्ना बच्चाहरूको सुरक्षाको लागि आफैँले पहल गर्नुपर्‍यो?

गाउँमा सधैँ बाघ घुमिरहेका हुन्छन्। केटाकेटीहरू स्कूल जाँदा सधैँजसो बाघ देख्ने गर्थे।

किरण भन्छिन्, “बालबालिकाहरू बाघले कहिलेकाहीँ गाईवस्तुलाई आक्रमण गर्दै गरेको हेर्दै हिँडेका थिए। तिनीहरू धेरै डराउँथे। तिनीहरू गुनासो गर्थे, हामी धेरै डराएकाले स्कूल जाँदैनौँ। त्यसैले जब वन विभागका मानिसहरू गाउँमा आउँथे, तिनीहरूले हाम्रा बच्चाहरूलाई बस स्ट्यान्डमा लैजान, हाम्रा बच्चाहरूको लागि केही गर्न गार्ड उपलब्ध गराइदिन भन्थ्यौँ। तर, तिनीहरूले केही गरेनन्। त्यसैले हामीले हाम्रा बच्चाहरूलाई आफैँले जोगाउने निर्णय गर्यौं।”

अँध्यारोमा महिलातस्बिर स्रोत,BhagyaShree Raut
स्कूल जाने ११ जना बालबालिका यिनै चारजना महिलाका हुन्। तर उनीहरूले गाउँका सबै बालबालिकाको सुरक्षा गर्छन्।

यद्यपि, यी महिलाहरूलाई जङ्गलको सुरक्षा गर्दा बाघले आक्रमण गर्ने डर छ। त्यसैले उनीहरूले वन विभागलाई सहयोग गर्न माग गरिरहेका छन्।

किरण भन्छिन्, “हाम्रो गाउँमा बस स्ट्यान्डदेखि गाउँसम्मै बत्तीको व्यवस्था गरिनुपर्छ। हामी चार जना महिला र बालबालिकाको सुरक्षाको लागि काम गर्छौं। यसको जिम्मेवारी वन विभागले लिनुपर्छ। त्यसको लागि हामीलाई गार्ड दिनुपर्छ। हामीलाई बिजुलीको लौरो दिनुपर्छ। त्यो लौरोले आवाज निकाल्छ। बाघ त्यससँग डराउँछ। यसले हाम्रो साहस अझ बढाउने छ। हामी बालबालिकालाई अझ बढी सुरक्षितसँग ल्याउन सक्ने छौँ।”

वन विभागको प्रतिक्रिया

बीबीसी मराठीसँग कुरा गर्दै मोहालीका वन अधिकारी सन्तोष थिपेले ताडोबा बाघ आरक्षले पनि यी महिलाहरूलाई ध्यानमा राखेको र नयाँ योजना ल्याउने बताए। उनले ताडोबाका अन्य १०५ गाउँहरूमा यस्तै प्रयोग लागू गरिने जानकारी दिए।

उनले भने, “यो मानव-वन्यजन्तु द्वन्द्व रोक्ने एउटा उत्कृष्ट उदाहरण हो। हाम्रो गाउँमा द्वन्द्व रोक्न सकियोस् भनेर यी महिलाहरू अगाडि आए। उनीहरूले स्कूले बालबालिकाको सुरक्षा गर्छन्।”

“यो काम मिडियामार्फत् जनतामा पुगेपछि, ताडोबा बाघ आरक्ष अन्तर्गत पर्ने १०५ गाउँहरूमा यसलाई कार्यान्वयन गरिने छ। यसरी बालबालिका लैजाने र ल्याउनेहरूलाई प्रत्येकलाई एक हजार रुपैयाँ दिइनेछ। कुल टोलीलाई चार हजार दिइने छ। काम गर्ने महिलाहरूलाई विद्युतीय लट्ठी, ज्याकेट र टर्च दिइने छ।”

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु