बिबिसि । एघार वर्ष अघि उच्च प्रतिस्पर्धी देखिएको नेकपा एमालेको नवौँ महाधिवेशनबाट ४४ मतको साँघुरो अन्तरले पहिलो पटक नेतृत्वमा निर्वाचित भएका केपी शर्मा ओली सोमवार तेस्रो कार्यकालका लागि मनोनयनको तयारीमा जुटेका छन्।
राजधानीमा जारी एमालेको ११औँ महाधिवेशनका लागि निर्वाचन आयोगले बिहान १०:३० बजेबाट उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ। जसमा पुस १ गते मतदान हुने कार्यतालिका छ। पार्टी अध्यक्ष सहित पदाधिकारीका १९ र केन्द्रीय सदस्यका ३०१ पद एमालेको यो महाधिवेशनबाट चयन हुँदै छन्।
Advertisement
गएको भदौमा घटाएर १५ पुर्याइएको पदाधिकारी र २५१ केन्द्रीय सदस्यको पद आइतवार अन्तिम समयमा विधान संशोधन गरेर थप गरिएको थियो।
अध्यक्षमा दुई पक्ष, पदाधिकारीमा अझै अस्पष्ट
नेकपा एमालेका नेताहरूतस्बिर स्रोत,RSS
नेतृत्वमा दाबी गरिरहेका अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवै पक्षका नेताहरूले चुनावबाटै नयाँ नेतृत्व चयन हुने करिब निश्चित देखिएको बताएका छन्।
पार्टी अध्यक्षमा ओली र कुनै समय ओली निकट रहेका पोखरेलबीच प्रतिस्पर्धाको तयारी चलिरहे पनि अन्य पदाधिकारीमा भने नवौँ महाधिवेशनमा जसरी समूहगत प्रतिस्पर्धा हुन्छ वा एक्लाएक्लै भन्ने प्रस्ट भइसकेको छैन।
दशकअघिको नवौँ महाधिवेशनमा केपी ओली र माधव नेपाल समूहले प्यानल नै बनाएर अध्यक्ष सहित पार्टी पदाधिकारीमा प्रतिस्पर्धा गरेका थिए। त्यस बेला अध्यक्षमा ओली निर्वाचित भए पनि समग्र पदाधिकारीमा दुवै पक्षका सात-सात जना निर्वाचित भएका थिए।
त्यसपछिको दशौँ महाधिवेशनमा ओलीलाई भीम रावलले टक्कर दिए पनि माधव नेपालले जस्तो समूह बनाएर प्रतिस्पर्धा गरेनन्।
“टीम कस्तो बन्छ अहिले नै भन्न सकिन्न। उम्मेदवारी ककसको हुन्छ त्यसपछि मात्रै यो विषय टुङ्गो लाग्ला,” पछिल्लो समय पोखरेल समूहमा खुलेर देखिएका नेता विनोद ढकाल भन्छन्।
ओली निकट नेता राजन भट्टराईले पनि अहिले नै प्यानलगत प्रतिस्पर्धा हुने वा नहुने प्रस्ट नदेखिएको बताए।
“अहिलेसम्म घोषणा गरेको चाहिँ केपी ओली र इश्वर पोखरेलले हो। अरूले व्यक्तिगत रूपमा घोषणा गरे पनि यो प्यानलबाट उठ्छु भन्नुभएको छैन,” भट्टराई भन्छन्।
एमालेका आम प्रतिनिधिको चाहना प्यानलगत प्रतिस्पर्धा नहोस् भन्ने रहेको नेता ठाकुर गैरेले बताए।
“हाम्रो अपेक्षा चाहिँ व्यक्तिगत प्रतिस्पर्धा नै होस् प्यानलगत नहोस् भन्ने छ। आम प्रतिनिधिहरूको पनि त्यही छ। प्यानल बनाउँदा पनि प्यानलमा अट्ने भन्दा ठूलो सङ्ख्या मनोनयन हुने देख्छु,” गैरे भन्छन्।
जिल्ला र प्रवासबाट छानिएर आएका एमाले महाधिवेशन प्रतिनिधिहरूमा आफ्नो समर्थन धेरै रहेको केपी ओली पक्षका नेताहरूले दाबी छ।
पछिल्लो समय ओली र पोखरेल दुवै खेमामा प्रस्ट नखुलेका नेता ठाकुर गैरे बन्द सत्रको माहोल र महाधिवेशन प्रतिनिधिहरूको मनोभाव हेर्दा चुनाव प्रतिस्पर्धी हुने आफूलाई लागेको बताउँछन्।
“म चाहिँ दुई जना प्रतिस्पर्धामा जाँदा कुनै एक जनाले जित्नुहुन्छ भन्न सकिने स्थिति देख्दिनँ। किनभने मैले भेटघाट गरेका आम प्रतिनिधिहरू चाहिँ रिजर्भ बसिरहेको देखेँ। प्रतिस्पर्धा हुन्छ,” उनले भने।
तर ओली निकट मानिने नेता राजन भट्टराईले बन्द सत्रको माहौल आफूले ओलीकै पक्षमा देखेको बताए।
“हलको माहौल हेर्दा केपी ओलीको आवश्यकता अहिलेको निम्ति छ भन्ने प्रतिनिधिहरूको धारणा बलियो देख्छु,” भट्टराईले भने।
भट्टराईले अधिकांश महाधिवेशन प्रतिनिधिहरू चयनका क्रममा नै एउटा वा अर्को पक्षमा खुलेका र कतै नखुलेकाको सङ्ख्या २० प्रतिशत भन्दा कम रहेको बताए।
तर सुदूर पश्चिमबाट प्रतिनिधित्व गर्ने एमाले नेता झपटबहादुर रावल कुनै पक्षमा नखुलेका महाधिवेशन प्रतिनिधिहरूको सङ्ख्या ३० प्रतिशत भन्दा धेरै रहेको र ती महाधिवेशन प्रतिनिधिहरू नेतृत्व चयनमा निर्णायक हुन सक्ने दाबी गर्छन्।
“दुई पक्षमा धेरै मानिसहरू खुलेका छन्। अहिले पनि ३२ देखि ३३ प्रतिशत मतदाता मौन छन्। त्यो मत जता खुल्छ उसैले चुनाव जित्ने स्थिति छ,” रावलले भने।
दोस्रो पटक नेतृत्वमा चुनिन ओलीले भृकुटीमण्डपमा भएको नवौँ महाधिवेशन जस्तो ठक्कर सामना गर्नु परेन। चितवनको सौराहामा २०७८ सालमा भएको १०औँ महाधिवेशन ओलीका लागि सहज साबित भयो।
उनीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका भीम रावलले २२३ मत ल्याउँदा ओलीले १८३७ मत पाए।
एक दशकपछि तेस्रो पटक पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा गर्न लागेका ओलीले यो पटक पनि मतदानका लागि आफू पहिलो पटक अध्यक्ष बनेको भृकुटीमण्डप नै रोजेका छन्। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा भए पनि बन्दसत्र काठमाण्डूको भृकुटीमण्डपमा राखियो।
यो पटकको प्रतिस्पर्धामा त्यस बेला ओली पक्षबाट उपाध्यक्ष बनेका विद्या भण्डारी र बामदेव गौतम, महासचिव बनेका इश्वर पोखरेल उपमहासचिव बनेका घनश्याम भुसाल लगायतका नेताहरू अहिले ओली समूहमा छैनन्। जसमध्ये गौतम र भुसाल एमालेबाट अहिले अलग भइसकेका छन्।
कुनै समय आफू निकट रहेकी भण्डारीको पार्टीमा पुनरागमन गर्ने प्रयास ओलीले नै रोकिदिएका थिए।
नवौँ महाधिवेशनमा प्रतिस्पर्धा गरेका माधव नेपाल र दशौँ महाधिवेशनमा चुनौती दिएका भीम रावल दुवै एमालेबाट अलग भइसकेका छन्।
अहिले ओलीलाई चुनौती दिइरहेका पोखरेल दशकअघि भृकुटी मण्डपबाट ओली अध्यक्षमा चुनाव लड्दा उनकै समूहबाट महासचिवमा निर्वाचित भएका नेता हुन्।
उनलाई त्यस बेला उपाध्यक्षमा निर्वाचित भएकी र राष्ट्रपति बनेपछि पार्टीको प्रत्यक्ष राजनीतिबाट अलग रहेकी विद्या भण्डारीले समर्थन गरेको विवरण आएका छन्।









