शितलहरबाट बाँकेका ग्रामणि क्षेत्र बढी प्रभावित हुने अनुमान

नेपालगन्ज । जिल्ला विपत् व्यवस्थापन समिति बाँकेले यस वर्षको चिसोमा बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शीतलहरबाट प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ । त्यसका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । शीतलहरबाट जिल्लामा ३५ हजार ५७२ परिवारका एक लाख ७९ हजार २२० सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

जिल्ला विपत् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बाँकेका सबै स्थानीय तह शीतलहरबाट प्रभावित हुन सक्ने देखिएको जनाउँदै त्यसको सबैभन्दा बढी प्रभाव सहरीभन्दा ग्रामीण क्षेत्रका बासिन्दालाई पर्ने देखिएको जनाए  । शीतलहरबाट सबैभन्दा बढी प्रभावित हुने पालिकामा नरैनापुर, राप्तीसोनारी , जानकी , डुडुवा र बैजनाथ गाउँपालिका रहेको छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिका अन्य पालिकाभन्दा कम प्रभावित हुने अनुमान गरिएको छ ।

Advertisement

शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजनामा गरिएको पूर्वानुमान अनुसार शीतलहरबाट नेपालगन्जमा आठ हजार ५२४ परिवारका ४२ हजार ६२०, कोहलपुर नगरपालिकामा चार हजार १३८ परिवारका २० हजार ६९४ जना, खजुरा गाउँपालिकाका तीन हजार १९३ परिवारका १५ हजार ९६७ जना, जानकी गाउँपालिकाका तीन हजार ८८९ परिवारका १९ हजार ४४८ जना प्रभावित हुने देखिएको छ ।

बैजनाथ गाउँपालिकाका तीन हजार ५२० परिवारका १७ हजार ६०३ जना, राप्तीसोनारी गाउँपालिकाका तीन हजार ८७२ परिवारका १९ हजार ३६३ जना, नरैनापुर गाउँपालिकाका चार हजार २१८ परिवारका २२ हजार १३४ जना, डुडुवा गाउँपालिकाका चार हजार २१८ परिवारका २१ हजार ९१ जना शीतलहरबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु