कहाँ पुगे बर्दिया कर्णालीका डल्फिन ?

बर्दिया — कर्णाली नदीमा करिब तीन दशक अघिसम्म ठूलो संख्यामा डल्फिन खेलिरहेका भेटिन्थे । नदीमा विचरण गर्ने जलचर प्राणी डल्फिनको संख्या अहिले ३ वटा मात्रै छ ।

 

Advertisement

गेरुवा नदीको पाताभार क्षेत्रमा एउटा मात्र भएको अध्धयनले देखाएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । प्राकृतिक दोहनसँगै कर्णालीको भँगालोमा जलस्तर निकै कम भएका कारण डल्फिनको संख्या कम भएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । हालै भएको सर्वेक्षणले कर्णाली नदीको दक्षिण भेगमा ३ वटा डल्फिन फेला परेका छन् ।

२०७३ सालमा डल्फिनको संख्या यकिन गर्न सरकारी स्तरबाट अनुगमन गरिएको थियो । त्यस समय कर्णालीमा गणना गर्दा ५ वटा फेला परेका थिए । करिब अढाई वर्ष अघिसम्म पूर्वी भँगालो गेरुवा नदीमा पनि डल्फिन खेलिरहेका हुन्थे ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्फाहाम्फेका अनुसार गत वर्ष गेरुवाको लालमटियामा एउटा डल्फिन फेला परे पनि यस वर्ष देखिएन । हालै इको ल्याबको सहयोगमा कोषले कैलालीको मोहना नदीमा सर्वे गर्दा ५४ वटा डल्फिन फेला परेको प्रमुख तुम्फाहाम्फेले बताए ।

लामो अनुसन्धानपछि पनि गेरुवा नदीमा डल्फिन नभेटिएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले जनाएको छ । कोषका अनुसार गेरुवामा पानी सुक्दै गएपछि डल्फिन लोप हुँदै गएको हो ।

 

निकुञ्जको सीमा हुदै बग्ने कर्णाली नदीमा सन् १९८० दशकसम्म ठूलो संख्यामा डल्फिन पौडिरहेका देखिन्थे । गेरुवामा पानी सुक्दै गएपछि त्यो संख्या घटेर अहिले न्यून भएको कोषले जनायो । सीमावर्ती क्षेत्रमा बनाइएका बाँधबाट बगेका डल्फिन फर्केर नआउने तथा कर्णाली, गेरुवामा जलस्तर हुँदा लोप हुँदै गएको जानकार बताउँछन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार करिब दुई दशक अघिसम्म मनाउघाट, गोलाघाट र कोठियाघाट, गेरुवा नदीमा डल्फिन देख्न सकिन्थ्यो ।

 

अत्यन्त बुद्धिमान्, स्तनधारी जीव डल्फिन मानिससँग नजिकको मित्रता गाँस्न सक्ने जीवका रुपमा प्रख्यात छ । चमत्कारी प्रकृतिमा आधारित भएर धेरै मुलुकमा डल्फिनलाई विभिन्न खेल खेलाइन्छ । नेपालमा नारायणी, कोशीजस्ता ठूला र कम प्रदूषित नदीमा यदाकदा डल्फिन पाइए पनि कर्णाली र गेरुवा नदीमा डल्फिन प्राय: न्यून हुन थालेको छ । ईकान्तिपुर ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु