बिबिसी । पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १३३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।
शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको र आफूहरूको ध्यान उद्धार तथा खोजमा केन्द्रित रहेको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले बीबीसीलाई बताए।
Advertisement
नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले भूकम्पका कारण जाजरकोटमा ९५ जना र रुकुम पश्चिममा ३८ जनाको ज्यान गएको बीबीसीलाई बताए।
उनका अनुसार दुई जिल्लामा गरी १४० जना भन्दा बढी घाइते भएका छन्।
राष्ट्रिय भूकम्प मापन केन्द्रले ६.४ म्याग्निट्यूड मापन गरेको उक्त भूकम्पपछि केही साना परकम्पहरू केन्द्रबिन्दु आसपास गएका थिए।
उद्धार कार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका अधिकारीहरू खटिएका छन् भने हेलिकोप्टरसमेत परिचालन गरिएको छ।
अमेरिकी निकाय यूएसजीएसले उक्त भूकम्पको केन्द्रबिन्दु जुम्लाभन्दा ४२ किलोमिटर दक्षिण रहेको र त्यसको म्यागनिच्यूड ५.६ रहेको जनाएको छ।
सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि सबैभन्दा घातक भुइँचालोका रूपमा शुक्रवार रातिको भूकम्पलाई लिइएको छ।
भूकम्पको केन्द्रविन्दु
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले भने, “स्थानीय क्षेत्रमा रहेका सबै फौजहरू भूकम्प गएका ठाउँमा खटाइएका छन्। आठवटा प्लाटुन र सुर्खेतमा रहेको हेलिकोप्टर पनि उद्धार तथा खोजमा केन्द्रित छ।”
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टरसहित सुरक्षाकर्मी खटाइएको बताए।
उनले भने, “अहिलेसम्म सबैभन्दा धेरै क्षति जाजरकोट र रुकुम पश्चिममा भएको विवरण छ। त्यहाँ धेरै घरहरू भत्किएका छन् भने ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या पनि बढी छ।”
उनले सुर्खेतमा रहेको गणबाट पनि सुरक्षाकर्मी खटाइएको र केन्द्रमा परिचालन हुनका लागि स्वास्थ्यकर्मीहरूको टोली तयार भएर बसेको पनि बताए।
स्थानीय समय अनुसार राति ११:४७ मिनेटमा गएको सो भूकम्पको धक्का राजधानी काठमाण्डूमा पनि महसुस गरिएको थियो।
त्यसबाहेक छिमेकी भारतको दिल्लीसहित कतिपय सहरहरूमा पनि उक्त भूकम्पलाई महसुस गरिएको थियो।
भेरी अस्पतालमा मात्रै गम्भीर घाइतेहरूको उपचार सम्भव नभए नेपालगन्ज नर्सिङ होम र मेडिकल कलेज कोहलपुरमा समेत उपचार गर्ने व्यवस्था मिलाइएको छ।
राँझास्थित नेपाली सेनाको अस्पताल, नेपालगन्जको प्रहरी अस्पताल र भेरी अस्पतालमा घाइतेहरूको उपचारका लागि १०५ वटा शय्या खाली गराइएको अधिकारीहरूले बताएका छन्।
बिरामीलाई आवश्यक रगतको व्यवस्था गर्नका लागि सुरक्षाकर्मीलाई रक्तदानका लागि तयारी अवस्था राखिएको अधिकारीहरूलाई उद्धृत गर्दै नेपालगन्जस्थित संवाददाता बिमला चौधरीले बताएकी छन्।
उक्त भूकम्पको केन्द्रबिन्दु जाजरकोट रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ
कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले भूकम्पलगत्तै प्रभावित क्षेत्रमा प्रहरी लगायतका सुरक्षाकर्मीले घाइतेलाई उद्धार गर्ने काम थालेको जानकारी दिए।
उनका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उद्धारका लागि ५६ जनाको टोली पठाइएको छ।
प्रहरी अस्पतालबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ हिँडिसकेको डीआईजी ढकालले बताए।
उनले भने, “ठाउँ-ठाउँमा सुक्खा पहिरो गएको हुँदा उद्धारमा कठिनाइ भइरहेको छ। हवाई उद्धारका लागि पनि प्रयासहरू भइरहेको छ।”
जुम्लामा पनि क्षति
जाजरकोटको छिमेकी जिल्ला जुम्लामा पनि भूकम्पले क्षति पुर्याएका विवरणहरू आइरहेका छन्।
जाजरकोटसँग सिमाना जोडिएको तातोपानी गाउँपालिकाका धेरै घर चर्किएका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताए ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार क्षतिबारे विवरण सङ्कलन गर्न प्रहरी टोली घटना स्थलतर्फ गएको छ।
प्रधानमन्त्री प्रचण्डले उद्धार एवं राहतमा जुट्न अपिल गरेका छन्
यसैबीच प्रधानमन्त्री प्रचण्ड भूकम्पबाट प्रभावित क्षेत्रमा उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गरेका छन्।
उनले उक्त भूकम्पबाट भएको मानवीय एवं भौतिक क्षतिले मर्माहत भएको र घाइतेहरूको तत्काल उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई परिचालन गरिएको उनको समाजिक सञ्जाल फेसबुकको खातामा उल्लेख गरिएको छ।
प्रधानमन्त्रीसहित ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको टोली उद्धार, स्वास्थ्य सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रतर्फ लागेको उनको सचिवालयले जनाएको छ।
मोदीद्वारा दुःख व्यक्त
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पले पुर्याएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
“यो दुःखको घडीमा भारत नेपालसँगै छ र सक्दो सबै सहयोग गर्न तयार छ,” मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना पनि गरेका छन्।









