शितलहरः लाज नमानौ, पुरानो भए पनि लगाऔ

बाँके— ‘पुरानो कपडा हो भन्दैमा लगाउन लाज नमान्नुस । तपाईसंग जे छ त्यही पहिरनुस् । सकेसम्म बाक्लो लुगा लगाएर शरिर न्यानो राख्नुस । सकिन्छ हावा पास हुने स्थानमा आगो तापौँ ।’ शीतलहरले यहाँको जनजीवन कष्टकर बनेपछि चिकित्सकहरुले चिसोबाट जोगिने यस्तो सुझाव दिन थालेका छन् ।

खासगरी चिसोका कारण आर्थिक अवस्था कमजोर रहेका सर्वसाधारण बढी प्रभावित भएका छन् । चिसोबाट जोगिन उनीहरुसंग प्रयाप्त न्यानो कपडा नभएपछि चिकित्सकले पुरानै भएपनि लगाउन सुझाव दिएका हुन । ‘जस्तो सुकै पुरानो होस सफा गरेर कपडा लगाउँदा जीउ न्यानो हुन्छ । चिसोबाट जोगिनका लागि सकेसम्म बाक्लो कपडा लगाउनु पर्छ,’ चिकित्सकहरुको सुझाव छ,‘चिसोले लाज हेर्दैन । चिसोले छोयो भने नराम्ररी विरामी भईन्छ । कठग्रिएर ज्यान जान सक्छ ।’

Advertisement

हिटर, बाक्लो कपडा खरिद गर्न नसक्ने आर्थिक अवस्थाका सर्वसाधारणलाई चिसोबाट जोगिन स्वास्थ्यकर्मीले यस्तो सल्लाह दिन थालेका हुन । आर्थिक अवस्था राम्रो भएका व्यक्तिले चिसोमा नयाँ बाक्लो कपडा लगाउँछन् । हिटर तापेर ज्यान न्यानो पार्छन । कोठामा लगाएको तातो एसीमा उनीहरु रमाईलो गर्छन् । तर काम गरेर साँझ बिहानको छाक चलाउनेहरुलाई चिसो कष्टकर बनेको हो । उनीहरु एकाबिहानै पतलो कपडा लगाएर कामका लागि जान बाध्य छन् । त्यसैले त्यस्ता व्यक्ति र बालावालिका बढी विरामी हुने गरेको चिकित्सकले बताएका छन् ।

‘जतिनै जाडो भएपनि काम नगरि हुँदैन । परिवार पाल्नै प¥यो । आगो तापेर पेट भरिदैन,’ बर्दियाका रामकुमारी चौधरीले भनिन्,‘चिसो महिना गरिव र धनि छुट्याउने सीजन हो । हुनेले बाक्लो लगाउँछन् । नहुनेले चिसो सहेर बस्छन् ।’ उनले चिसोबाट जोगिन पतलो लुँगी जिउमा बेरीकी थिईन ।
चिसोका कारण अस्पतालमा विरामीको चाँप बढेको छ । सरकारी, निजी अस्पताल र स्वास्थ्यचौकीमा निमोनिया र रुघाखोकीका विरामी आउने क्रम बढेको स्वास्थ्यकर्मीले बताएका छन् । निमोनिया र रुघाखोकीबाट पीडित हुनेमा बढीजसो बालवालिका छन् । चिसोले जेष्ठ नागरिकलाई पनि बढी सताएको छ ।

चिसोबाट जोगिने खानपीनमा पनि ध्यान दिन स्वास्थ्यकर्मीहरुको सुझाव छ । तालो झोल पदार्थ बढी खा“दा शरिर न्यानो हुने उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु