बर्दिया ।गुलरिया नगरपालिका–८ सर्जुनदी टपरास्थित उखुबारीमा बच्चासहितको चितुवाले बासस्थान बनाएको छ । अघिल्लो साता उखुबारीमा घाँस काट्न गएको बेला दुई बच्चासहितको चितुवा देखेको स्थानीयले बताएका छन् ।
यस क्षेत्रमा लागतार चितुवा आक्रमणका घटना हुन थालेपछि स्थानीय त्रसित बनेका छन् । दिनहुँ पशुचौपायालाई शिकार बनाउँदै आएको चितुवाले बालबच्चालाई आक्रमण गर्न सक्ने जोखिम बढेको गुलरिया नगरपालिका–८ का इन्जात अलि मनिहारले बताए । ‘बस्ती वरिपरी देखिने चितुवाको त्रासले बाहिर निस्कनसमेत डर लाग्छ,’ उनले भने,‘बालबच्चालाई कसरी जोगाउने मुस्किल भइसकेको छ ।’
Advertisement
पुस ५ गते साढे ३ बजेको समयमा बाख्रा चराइरहेको बेला उखुबारीबाट निस्केको चितुवाले आँखै अगाडिबाट सब्बिर धोबीको बाख्रा लगेको गुलरिया नगरपालिका–७ का अब्दुल समद धोबीले बताए ।
यस्तै पुस ७ गते राति गुलरिया नगरपालिका–८ सर्जुनदी टपराका सलिम खानको घरमा बाँधेको बाख्रा चितुवाले लगेको छ । केही महिनादेखि गुलरिया नगरपालिका–८ भन्सार टोल, आशापुर, सुरजपुर र वडा ७ गुलरिया गाउँमा कुकुर, बाख्रा र पशुचौपायालाई चितुवाले शिकार बनाउँदै आएको छ ।









