नेपालगन्ज, पुस १३ गते । बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बाँकेमा रहेका विभिन्न स्थानीय तह, सङ्घसंस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीहरूको विवरण माग गरिएको जानकारी दिनु भयो ।
जिल्लामा छ हजारको सङ्ख्यामा अस्थायी मतदाता रहेको अनुमान छ । एक साताअघिबाट अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
Advertisement
जिल्लामा ९५४ जनाको दोहोरो नाम हटाएपछि जिल्लामा नयाँ मतदाताको सङ्ख्या १५ हजार १५० कायम भएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रहनु भएको शाहीले जानकारी दिनु भयो । “मतदाता नामावलीमा परिचयपत्रका आधारमा नाम दर्ता गराउने पनि छन्”, उहाँले भन्नु भयो ।
प्रमुख शाहीका अनुसार नेपालगन्ज उपमहानगरपालिका, वैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको पाइएको थियो । बाँकेमा साविकका तीन लाख ३३ हजार ९३४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, नेपालगन्जले जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचानका लागि निर्वाचन आयोगले असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म विशेष मतदाता नामावली सङ्कलन गरेको थियो । रासस









