देउखुर, दाङ — माघी पर्व नजिकिँदै जाँदा दाङको देउखुरी क्षेत्रका थारु बस्तीमा यसको तयारी सुरु भएको छ।
थारु समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा अनुसार पर्व आउनु एक महिना अघिदेखि नै तयारी थाल्ने चलन छ। यसका कारण अहिले थारु बस्तीमा स्थानीयको चहलपहल र व्यस्तता बढेको छ।
Advertisement
माघ नजिकिँदै जाँदा थारु समुदायसँग सम्बन्धित सङ्घसंस्थाले सांस्कृतिक महोत्सवको तयारी पनि तीव्र पारेका छन्।
थारु समुदायमा माघी पर्वका अवसरमा गाउँका अगुवा (महतवा)को घरमा भेला भएर वर्षभरिका योजना बनाउने परम्परा रहेको घोराही उपमहानगरपालिका–७ शुक्रबारकी रमा चौधरीले बताइन्।
‘माघीको तयारीका लागि वनबाट दाउरा, पात ल्याउने गरेका छौँ। पातको दुनाटपरी गाँस्ने काम भइरहेको छ,’ उनले भनिन्, ‘ढिक्री, रोटी र जाँड बनाउन धान–चामल कुट्ने र पिसाउने काम पनि सुरु भइसकेको छ।’
थारु समुदायमा माघेसंक्रान्तिदेखि चार–पाँच दिनसम्म माघी पर्व मनाउने चलन छ। यसका लागि खानाका विभिन्न परिकार बनाउन एक महिना अघिदेखि नै तयारी गरिन्छ।
घोराही–२ का सुशील चौधरीका अनुसार माघीलाई थारु समुदायले विशेष पर्वका रूपमा लिइन्छ। ‘यस अवसरमा गाउँको मुखिया, घरमूली चयन गरिन्छ, चौकीदार तोकिन्छ र नयाँ नियम लागू तथा पुराना नियम संशोधन गरिन्छ,’ उनले भने । माघीलाई वर्षभरि गरिएका कामको समीक्षा र आगामी कार्ययोजना बनाउने पर्वका रूपमा पनि लिने गरिन्छ।
थारु समुदायका पुरुषले माघीको अघिल्लो दिन आगोको धुनी बालेर ताप्ने चलन छ। गाउँभरिका मानिस एक ठाउँमा भेला भएर आगो ताप्ने र भालेबाँसेसँगै नदी वा खोलामा स्नान गर्ने प्रचलन रहेको छ। स्नानपछि आफूभन्दा ठूलालाई ढोगभेट गरी आशीर्वाद लिने र घरमा ‘खिचडी’ दान गर्ने परम्परा रहेको थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीले जानकारी दिए।
खिचडीमा मासको दाल, चामल र नुन राखिन्छ। यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याउने गरिन्छ। ‘छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन,’ अध्यक्ष चौधरीले भने, ‘यसलाई पाहुर (कोसेली)का रूपमा चेलीबेटीका घरमा पुर्याइन्छ।’
माघीको अघिल्लो दिन बिहानै गाउँघरका मानिस भेला भई बङ्गुर तथा सुँगुर मारेर (जतिया मार्ना) बराबरी बाँड्ने चलन छ। यस अवसरमा घोंगी, गंगटा र माछाका विशेष परिकार बनाएर खाने तथा ‘मघौटा नाच’ नाच्ने प्रचलन छ।
घोराही–६ का थारु अगुवा भीमबहादुर चौधरीका अनुसार थारु समुदायमा माघ महिनालाई नयाँ वर्षका रूपमा लिइन्छ। ‘पुस मसान्तमा लेनदेन र हरहिसाब चुक्ता गरिन्छ र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गरिन्छ,’ उनले भने। माघीको अवसरमा परिवार र गाउँ समुदायस्तरमा खेतीपातीसहित अन्य व्यवहारको नवीकरण पनि गरिन्छ।
थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीको अवसरमा यही पुस १९ गते घोराही उपमहानगरपालिका–१५ स्थित सहिद पार्कमा माघी महोत्सव आयोजना हुने भएको छ।
थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष चौधरीका अनुसार थारु भाषा, साहित्य, लोककला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। यस अवसरमा थारु सम्बत् २६४९ पनि मनाइनेछ।
महोत्सवमा मघौटा नाचसहित विभिन्न थारु सांस्कृतिक नृत्य, झाँकी प्रदर्शन र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ। साथै घोंगी, माछा, गंगटा, ढिक्री, अनदीको रोटीलगायत थारु परिकारको बिक्री तथा वितरण गरिनेछ। थारु भाषाका विभिन्न पुस्तक र हस्तकलाका सामग्रीको प्रदर्शनी तथा बिक्री पनि गरिने आयोजकले जनाएको छ। रासस









