बर्दिया । मासुका लागि सामूहिकरुपमा जिता लेखाई सके । सुंगुरबंगुर, खसीबोका खोजीसके । ढिक्रीका लागि चामल तयार छ सांस्कृतिक कार्यक्रम तय भइसकेका छन् । माघी मिलन कार्यक्रम विभिन्न स्थानमा आयोजना गर्ने अन्तिम तयारीमा युवाहरु जुतिसकेका छन् ।
गाउँमा खुसियाली छाएको छ । हालै धान बिक्री गरेकाले किसानलाई तत्कालका लागि आर्थिक अभाव छैन । कामको चाँप नभएकाले उनीहरु आगो ताप्दै माघी बारे छलफल गरिरहेको देखिन्छन् । माघीको अगमनसंगै चहलपहल सुरु भएको छ । थारु समुदाय माघी मनाउनका लागि अन्तिम तयारीमा जुटेका छन् । कामका शिलशिलामा बाहिर रहेका युवाहरु घर फर्किन थालेका छन् । ‘जिता, ढिक्री लगायतका परिकारहरुको लागि तयारी भइसक्यो । गाउँगाउँमा कार्यक्रम हुन थालेका छन्,’ बडघर भन्छन्,‘ थारु समुदायले माघीलाई नयाँ वर्षका रुपमा मनाउँदै आएका छन् ।’
Advertisement
माघीमा घर परिवार र गाउँभरी भए गरिएका वर्षभरीको कामहरु समक्षिा हुने गर्छ । चौकीदार, गुरुवालगायतको कामको समिक्षा गरेर काममा फर्काउने वा नफर्काउने निर्णयपछि बडघर छनौट गर्ने परम्परा छ । पुसको अन्तिम सातासम्म चौकीदार लगायतको चयन प्रक्रिया सकिने छ । माघी मनाएपछि बडघरको सार्वजनिक सुनुवाई सुरु हुने छ । बडघरले वर्षभरी गरेको काम सन्तोषजनक नपाईए हटाएर नयाँलाई बडघर बनाउने परम्परा रहेको अगुवा बताउँछन् । पछिल्लो समय राजनीतिक प्रभाव बढ्दै गएका कारण बडघरका लागि निर्वाचनसमेत हुने गरेको हो ।
‘चौकीदार, गुरुवाको कामकोमात्रै समिक्षा हुँदैन । हामीले पनि वर्षभरीको हिसाबकिताव देखाउनु पर्छ । हाम्रो भूमिकामाथि पनि प्रश्न उठाउन छुट हुन्छ,’ अर्का बडघर सिताराम चौधरी भन्छन्,‘हामीले वर्षमा गरेका कामको प्रतिबेदन तयार गर्न सुरु गरिसकेका छौँ । माघीको एक÷दुई दिनमै गाउँ भेला गरी सार्वजनिक गर्नुपर्छ ।’ पुसको अन्तिम दिन माघी नहान (स्नान) को तयारी गरिएको छ ।
गाउँगाउँमा माघी सम्बन्धि सांस्कृति कार्यक्रमहरु तय गरिएका छन् । पुसको अन्तिम राति चहलपहल ब्यापक हुने गरेको छ । राति १२ वजेपछि तालतलैया, नदीमा गएर स्नान गरी शिवालयमा जल चढाउने परम्परा छ । स्नानपछि आफूभन्दा ठूलालाई ढोग गरी (निस्राउ) चामल छुनु पर्छ । उक्त चामल गरिबगुरुवाहरुलाई बाँड्ने परम्परा छ । माघी रमाईलोमात्रै होईन माघी बहुआयमिक पर्व भएको अगुवा राधेश्याम चौधरी बताउछन् । माघ १ गते परिवारका सबै सदस्यमात्रै होईन चौकीदार, गुरुवा, कामदार सबै स्वतन्त्र हुन्छन् । उनीहरुलाई आत्मनिर्णयको अधिकार दिइन्छ । यसलाई स्वतन्त्रताका पर्व पनि भनिन्छ । ठूलो परिवार त्यही दिन अलग÷अलग हुन सक्छन् । छोराछोरीको विवाहको मिति तय गरिन्छ । घरमुली फेर्न पाउँछन् । गाउँका लागि आवश्यक पर्ने नियमहरु बनाईन्छ ।
थारु समुदायले परिवारबीचको (खोज्नीबोज्नी) सकेपछि गाउँमा सामूहिक लोकतन्त्रको अभ्यासमा जुट्छन् । गाउँभरीका किसानहरु सार्वजनिक स्थानमा भेला गरी बडघरको भूमिकाप्रति प्रश्न गर्छन । बडघरले सबैको जवाफ दिनै पर्छ । गाउँमा भएका विवाह, मृत्यू संस्कार, देबीदेवताको पूजा, गाउँमा भएका आम्दानी तथा खर्च र सार्वजनिक काम बारे बडघरले आफ्ना कुरा राख्छन् । त्यसप्रति सर्वसाधारणहरुले सार्वजनिक टिप्पणी गर्छन ।
बडघरको भूमिका प्रभावकारी भएनभएको बारे छलफल गरिन्छ । ‘बडघरको भूमिका सकारात्मक नभए नेतृत्वका लागि खुला निर्वाचन गरिन्छ । माघीकै अवसरमा थारु समुदायले गाउ“का लागि आफ्नै तरिकाले नीति नियम बनाउँछन् । सार्वजनिक कामका लागि श्रमदान, विवाह, मृत्यू संस्कारका लागि आवश्यक पर्ने जनशक्ति परिचालन, देबीदेउताको पूजा, थारु देउताको देउथानको हेरदेख, कुलो, पानी लगायतका कामका लागि नीति बनाईन्छ । त्यही नीतिलाई टेकेर बडघरले गाउँको नेतृत्व गर्छन । त्यसैले माघी महत्वपूर्ण हुनुको बैज्ञानिक कारण रहेको अगुवाहरुको तर्क छ ।









