नेपालगन्ज । बाँके जिल्लाका दुई ठुला निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूति सेवाको चाप अत्यधिक बढेको छ । सोही कारणले त्यहाँ आउने सुत्केरीहरुको उपचारमा समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ ।
नेपालगन्जस्थित सन्जीवनी अस्पताल र कोहलपुरस्थित मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम हटेपछि पछिल्लो करिब एक वर्षयता भेरी अस्पतालमा सुरक्षित सुत्केरी सेवाको चाप अत्यधिक बढेको चिकित्सकहरूले बताएका छन् ।
Advertisement
बाँकेकै बिरामी धेरै भएको बेला बर्दियालगायत केही जिल्लामा पर्याप्त चिकित्सक नहुँदा पनि भेरी अस्पतालमै बिरामी आउने क्रम बढेको सो अस्पतालका स्त्री तथा प्रसूति विभाग प्रमुख डा. उर्मिला पराजुलीले बताउनुभयो ।
उहाँले निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि त्यहाँ प्रसूति गराउन निकै महँगो पर्ने भएकाले अधिकांशले भेरी अस्पतालनै रोज्ने गरेको हुँदा प्रसूति सेवामा बिरामीको चाप अत्यधिक बढेको बताउनुभयो ।
भेरी अस्पतालको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको पहिलो पाँच महिनामा अस्पतालले दुई हजार महिलालाई सुत्केरी सेवा दिएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा यो सङ्ख्या बढेर करिब चार हजार पुगेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले पहिले मासिक चार सय जनाले सुत्केरी सेवा लिने गरेकोमा अहिले उक्त सङ्ख्या बढेर सातदेखि नौ सयसम्म पुगेको जानकारी दिनुभयो ।
उहाँले प्रसूति सेवामा पहिलेदेखि नै चाप बढी रहेकोमा आमा सुरक्षा कार्यक्रमको सुविधाका लागि भेरी अस्पतालमाथि मात्रै भर पर्नुपर्ने बाध्यताका कारण थामिनसक्नु गरी भिड बढेको हुँदा सेवालाई व्यवस्थापन गर्न समस्या भइरहेको बताउनुभयो ।
अस्पतालले प्रसूति सेवा लिन आएका कसैलाई पनि फिर्ता नपठाउने नीति लिएकाले चाप बढेको बेला भुईँमै राखेर पनि सेवा दिनुपरेको डा. सुवेदीको भनाइ छ ।
एक सिफ्टमा दुईदेखि तीन जनाले २० जनासम्म बिरामीलाई सेवा दिनुपर्ने अवस्था रहेको अस्पतालको प्रसूति विभागले जनाएको छ । प्रसूति सेवातर्फका नर्सिङ इन्चार्ज शिला शर्माले अहिले प्रसुति वार्डमा १८ जना नर्स रहेकोमा तीन सिफ्टमा बाँड्दा एउटै नर्सले तीनदेखि पाँचजनासम्म सुत्केरीलाई हेर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
भेरी अस्पतालको गुरुयोजनामा अलग्गै प्रसूतिगृह बनाउने योजना छ । उक्त गृहको डीपीआर समेत बनिसकेको छ । तर सरकारले बजेटको व्यवस्था नगर्दा सो योजना अलपत्र परेको छ ।
अस्पतालमा बढिरहेको सेवाग्राहीको चापलाई धान्न अस्पतालमा नयाँ प्रसूतिगृह निर्माण गर्नु नै समस्याको दीर्घकालीन समाधानको उपाय हुने स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् ।
अस्पतालमा प्रसूति सेवासँगै डायलासिस, आइसियु, एनआइसियु, मेडिकल, अर्थोपेडिक र इमर्जेन्सी वार्डमा पनि बिरामीको चाप बढ्दै गएको छ । कम जनशक्ति र सीमित स्रोतसाधनका बाबजुद पनि स्वास्थ्यकर्मीले सेवा दिइरहेको अस्पताल प्रशासनले जनाएको छ । भेरी अस्पतालको बढ्दो बिरामीको चापले पश्चिम नेपालमा स्वास्थ्य सेवा विस्तार र स्रोतसाधन थप्नु अपरिहार्य बन्दै गएको छ ।









