निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाँकेले ‘प्याब्सन डे’ भव्यताका साथ आज नेपालगन्जमा मनाएको छ । प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रमको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख बिष्टले प्याब्सनले शिक्षामा गुणस्तर वृद्धि गर्न उल्लेखनीय भूमिका खेलेको बताउँदै शिक्षा ऐनले निजी विद्यालयका मागहरूलाई सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले प्याब्सन खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा पनि समन्वयात्मक भूमिका निर्वाह गर्दै अगाडि बढिरहेको र विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “निजी विद्यालयहरूले प्रदान गरेको शिक्षाले शिक्षा क्षेत्रको विकासमा सहयोगी भूमिका खेलेको छ । अब आगामी दिनमा अझै उत्कृष्ट क्रियाकलाप गर्दै विद्यार्थी र शिक्षकहरूको मनोबल बढाउन आवश्यक छ ।”
Advertisement
कार्यक्रममा बाँके जिल्ला शिक्षा समन्वय इकाई प्रमुख धनसुधन चौलागाईंले शिक्षा क्षेत्रमा गुणस्तर ल्याउनु अहिलेको आवश्यकता भएको र यसका लागि निजी विद्यालयहरूको लगानीले उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले अबका दिनमा व्यवहारिक तथा विद्यार्थीहरूको रुचि अनुसारको शिक्षा हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सल्लाहकार ऋषिकेश जी.सी., शिक्षक महासंघ बाँकेका अध्यक्ष महेश शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, खजुरा गाउँपालिका प्याब्सन अध्यक्ष गीता गोदार, कोहलपुर प्याब्सन नगर अध्यक्ष रमेश केसी र नेपालगन्ज प्याब्सन अध्यक्ष मानबहादुर थापा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा कला–संस्कृति, मानव बेचबिखन नियन्त्रण, खेलकुद, पत्रकारिता लगायत विभिन्न क्षेत्रमार्फत सामाजिक कार्यमा योगदान पु¥याउने व्यक्तिहरूलाई साथै प्रत्येक विद्यालयका उत्कृष्ट शिक्षक र विद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ । एक भव्य समारोहकाबीच कला–संस्कृति क्षेत्रमा योगदान पु¥याएबापत सुन्दर गुरुङ, मानव बेचबिखन विरुद्ध क्रियाशील अधिकारकर्मी केशव कोइराला, बैनाथको शैक्षिक क्षेत्रमा योगदान पु¥याउने शान्ति शाह, कोहलपुरको शैक्षिक क्षेत्रमा सहयोग पु¥याउने रामजानकी मावि कोहलपुर बाँकेका संस्थापक नारायणप्रसाद सिग्देल, खजुराको शैक्षिक क्षेत्रमा सहयोग पु¥याउने दीपक इङ्ग्लिस मिडियम हाईस्कुल खजुरा–३, बाँकेका संस्थापक चिनियाराम आचार्य, बाँकेको शैक्षिक क्षेत्रमा सहयोग पु¥याउने बलराम यादव, क्रिकेट क्षेत्रबाट नेपालगन्जका दुर्गा थापा, प्याब्सन पत्रकारिता पुरस्कारबाट पत्रकार दिलबहादुर खत्री तथा प्याब्सन बाँकेमा आबद्ध १०६ विद्यालयका उत्कृष्ट विद्यार्थी र शिक्षकहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले निजी विद्यालयहरूले रोचक ढंगले शिक्षण–सिकाइ क्रियाकलाप गर्दै आएको र यस्ता क्रियाकलापमा सबै विद्यालयहरूसँग समन्वय गर्न सफल भएको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई छात्रवृत्ति दिने विषय, गुणस्तरीय शिक्षाको सवाल र विद्यार्थीहरूको व्यक्तित्व निर्माणमा तदारुकताका साथ योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रम सुरु हुनु अघि नेपालगन्जको बीपी चोकबाट ¥याली निकालिएको थियो । ¥याली नगरका विभिन्न भाग परिक्रमा गरी कार्यक्रम स्थल नेपालगन्ज रंगशालामा भव्यताका साथ सहभागी हुन सफल भयो । कार्यक्रममा स्वागत मन्तव्य बाँके प्याब्सनका उपाध्यक्ष महेन्द्र शर्माले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन प्याब्सन बाँकेका सचिव लक्ष्मणबहादुर सिंह र सहसचिव गणेश आचार्यले गर्नुभएको थियो ।









