बबई (बर्दिया)। बर्दियाको ठाकुरबाबा नगरपालिकाको हिमालय आधारभूत विद्यालय हाताभित्र रहेको एउटा कोठामा बेड र बिस्तारा मिलाएर राखिएको छ । कक्षाकोठा हेर्दा कुनै पनि होटेलमा सजाइएको कोठाभन्दा कम देखिँदैन । सजाइएको कक्षाकोठामा तीन वटा बिस्तारा र अध्ययन गर्नका लागि टेबुल, कुर्सीसमेत नजिकै राखिएको छ । पिउने पानीदेखि सबै सामग्री व्यवस्थापन गरिएको छ ।
विद्यालयमा अध्ययन गर्ने किशोरीले विद्यालय समयमा महिनावारी हुँदा सो कोठा प्रयोग गर्छन् । राधाकृष्ण थारू जनसेवा केन्द्र बर्दियाको सहयोगमा विद्यालयमा सञ्चालन गरिएको किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य परियोजनाले आवश्यक सामग्री सहयोग गरेपछि विद्यालयमा किशोरीका लागि महिनावारी आरामकक्ष स्थापना गरिएको हो । विद्यालयमा अध्ययनरत किशोरीलाई महिनावारी हुँदा अध्ययन छाड्न नपरोस् भनेर अहिले बर्दियाका धेरै जसो स्थानीय तहमा किशोरी आरामकक्ष स्थापना सुरु गरिएको छ । यौन तथा प्रजनन स्वास्थ्य अधिकार परियोजना अन्तर्गत किशोरी आरामकक्ष स्थापना गरेर विद्यालयको एउटा कोठालाई सुविधासम्पन्न कोठाका रूपमा प्रयोग गरिएको छ ।
Advertisement
हिमालय आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत किशोरी बबिताले विद्यालयमा किशोरी आरामकक्षको व्यवस्थाले पढाइमा निरन्तरता भएको बताउनुभयो । हिमाली आधारभूत विद्यालयका प्रधानाध्यापक सुनीलकुमार थारूले किशोरी आरामकक्ष र विद्यालयका शिक्षकसहित अभिभावकलाई परियोजनाले प्रभाव पारेको बताउनुभयो । विद्यालयमा परियोजना सञ्चालन भएपछि किशोरीको विद्यालय छाड्ने क्रमसमेत रोकिएको छ ।
विद्यालयमा विद्यार्थीका लागि मात्र नभई अभिभावकलाई समेत किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य परियोजनाले समेटेको छ । ठाकुरबाबा नगरपालिका शिक्षा शाखा प्रमुख सीताकुमारी भण्डारीले विद्यालयमा हुने आरामकक्षले किशोरीको पढाइमा निरन्तरता दिएको बताउनुभयो । बर्दियाका पाँच स्थानीय तहमा परियोजना सञ्चालन भएको राधाकृष्ण थारू जनसेवा केन्द्रका कार्यक्रम संयोजक सुरज अर्यालले बताउनुभयो । राधाकृष्ण थारू जनसेवा केन्द्र बर्दियाका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले परियोजनाबाट किशोरकिशोरी, शिक्षक, अभिभावक र विद्यालयलाई जोडिएको बताउनुभयो ।
नेपाल सरकारले आगामी २०८७ सम्ममा सबै स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने तयारी सुरु गरेपछि कोइकाको आर्थिक सहयोगमा प्लान इन्टरनेसनलको समन्वयमा बर्दियाको राधाकृष्ण थारू जनसेवा केन्द्रले ठाकुरबाबा नगरपालिकासहित मधुवन नगरपालिका गेरुवा गाउँपालिका, बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका अन्तर्गतका विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार परियोजना सञ्चालन भएका छन् ।
गोरखापत्र अनलाइन









