‘
नेपालगन्ज र सुर्खेत — दसैंको पर्सिपल्ट छोरी इशासहित ५० वर्षीया सुवर्न शाह टीका लगाउन जाजरकोट खलंगास्थित माइती पुगेकी थिइन् । उनी आइतबार बाँकेको बैजनाथ गाउँपालिका–४ बाँनियाभारस्थित घर फर्कने योजना थियो । तर, शुक्रबार मध्यराति जाजरकोटकै बारेकोट–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गयो ।
भूकम्प जाँदा सुवर्न माइतमै थिइन् भने २२ वर्षीया छोरी इशा दिदीबहिनीसँग रमाइलो गर्न खलंगाभन्दा केहीपर थाप्लेस्थित सानीआमाको घरमा गएकी थिइन् । भूकम्पले घर भत्किँदा सँगै सुतेका तीन दिदीबहिनीको ज्यान गएको छ भने इशा घाइते भएकी छन् । सुवर्नले आफ्नी बहिनीकी २५ वर्षीया छोरी र दिदीका २२ र १९ वर्षीया छोरीको भूकम्पमा परेर ज्यान गएको बताइन् । ‘इशाको टाउकोमा चोट लागेको छ । सँगै सुतेका दिदीबहिनी रहेनन् भन्ने सुनेर ऊ विक्षिप्त भएकी छे,’ सुवर्नले भनिन्, ‘दिदीबहिनीका तीन छोरी गुमे, मेरी छोरी भाग्यले बाँची ।’
Advertisement
जाजरकोटकै नलगाड नगरपालिका–१ का यादव महरा भूकम्प जाँदा निदाइसकेका थिएनन् । भूकम्पको धक्कासँगै चनाखो बनेका उनले भत्किएको घरबाट हतारहतार बालबच्चा र श्रीमतीलाई निकाल्न सफल भए । टाउकोमा चोट लागेका साढे तीन वर्षका छोराको भेरी अस्पतालमा उपचार भइरहेको छ । अन्य सदस्य सकुशल छन् । घर भत्किँदा सख्त घाइते भएका जाजरकोटकै रावतगाउँकी यमुना रावत दम्पतीको दुई घण्टापछि उद्धार भएको थियो । टाउको र कम्मरमा चोट लागेका उनीहरूले अढाई वर्षको छोरालाई लुकाएर जोगाएको बताए । ‘उठ्न लाग्दा घरै भत्किएपछि चोट लाग्यो । छोरालाई च्यापेर जोगाएँ,’ भेरी अस्पतालको शय्याबाट यमुनाले भनिन्, ‘छिमेकीको परिवारमा ज्यानकै क्षति भएको छ । दुई घण्टासम्म उद्धार नहुँदा बाँचिँदैन कि जस्तो लागेको थियो, धन्न बाँच्न सफल भयौं ।’
नेपालगन्ज ल्याइएका ३३ जना घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ । थप घाइते आउने अवस्थालाई मध्यनजर गरेर भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालमा १०५ बेड र शिक्षण अस्पताल कोहलपुरलाई पनि तयारी अवस्थामा राखिएको उनले बताए । ‘अस्पतालमा जनशक्ति र सामग्रीसँगै हेलिकोप्टरबाट आउने बिरामीका लागि विमानस्थल र आर्मीको हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ,’ उनले भने, ‘थप रगत आवश्यक भएमा रक्तदाताको पनि व्यवस्था मिलाइएको छ ।’
नलगाड–७ की २५ वर्षीया उपासना सिंह काठमाडौं जान भन्दै सदरमुकाम खलंगास्थित फुपूको घरमा पुगेकी थिइन् । भूकम्पमा परेर घाइते भएकी उनको अहिले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । सँगै रहेका उनका काका र नलगाडकी उपप्रमुख सरिता सिंहको भूकम्पमा परी मृत्यु भएको छ । ‘एकै पटक गड्याङगुडुङ भएर घर भासिएको थाहै भएन । कसो कसो हाम फालेर बाँचियो,’ उपासनाले भनिन्, ‘आसपासका सबै घर भत्किएको सम्झेर अझै मुटु कामिरहेको छ ।’
रुकुम पश्चिम आठबिसकोट नगरपालिकाकी ४० वर्षीया कमला परियार प्रदेश अस्पतालको इमर्जेन्सी वार्डमा छटपटाइरहेकी छन् । बिहे गरेर आइरहेका साइँलो छोरा र बुहारी भित्र्याउने साइत कुरेर बसेकी उनी भूकम्पमा परेर घाइते भइन् । ‘होसमा आउँदा त हस्पिटलमा रहेछु, श्रीमान्को गाउँमै उपचार भइरहेको छ भन्ने सुनाएका छन्,’ उनले भनिन्, ‘गाउँमा धेरै जनाको मृत्यु भएको सुनें । अन्य परिवारको अवस्था के छ, थाहा छैन ।’
राति ड्युटीमै रहेका बेला पर्खाल भत्किएर च्यापिएका चौरजहारी नगरपालिकाका नगरप्रहरी ३५ वर्षीय नीरज विष्टको अहिलेसम्म होस खुलेको छैन । उनको प्रदेश अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । घटनापछि घरमा रहेकी गर्भवती २३ वर्षीया छोरी चन्द्रकला पनि बेहोस रहेको नीरजका ससुरा देवबहादुर वलीले बताए । काखमा खेल्दै गरेको नाति गुमाएकी जाजरकोट भेरी नगरपालिका–१ रावतगाउँकी ७७ वर्षीया कौशिला विक पनि अस्पतालको बेडमा छटपटाइरहेकी छन् ।
कर्णाली प्रदेश अस्पतालमा शनिबार साँझसम्म जाजरकोट र रुकुम पश्चिमका २५ जना गम्भीर घाइतेलाई ल्याइएको छ । घाइतेको उपचारमा कमी हुन नदिन सतर्कता अपनाइएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । अस्पताल परिसरमा सेनाले होल्डिङ सेन्टर पनि राखेको छ । ‘अस्पतालमा स्वास्थ्यकर्मी र औषधिको पर्याप्त व्यवस्था मिलाएका छौं, उनले भने, ‘यहाँ उपचाररत अधिकांश खतरामुक्त छन् ।’ ईकान्तिपुर ।









