दाङ । लुम्बिनी प्रदेशको राजधानी रहेको दाङ निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा निर्वाचनका लागि १४ जना उमेदवार प्रतिस्पर्धामा छन् ।
कुनै समय नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको बचस्र्व रहेको यस क्षेत्रमा यसपटक प्रमुख राजनीतिक दलका उमेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
Advertisement
फागुन २१ गते हुने निर्वाचनका लागि क्षेत्र नं. १ मा दुईजना स्वतन्त्र उमेदवारसहित १४ जना प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी, नेकपा (एमाले)का नेता एवं लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य रेवतीरमण शर्मा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वमन्त्री मेटमणि चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक उमेदवार बनेका छन् ।
नेकपा (माओवादी)बाट प्रकाश शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनय बिसी, राष्ट्रिय जनमोर्चाबाट गणेशप्रसाद आचार्य, नेसनल रिपब्लिक नेपालबाट मीनबहादुर ठेडी मगर, मंगोल नेसनल अर्गनाइजेसनबाट खुमबहादुर गाहा मगर, जनता समाजवादीबाट भरतलाल चौधरी, आम जनता पार्टीबाट सिताराम यादव, राष्ट्रिय परिवर्तन पार्टीबाट रन्जित चौधरी उमेदवार छन् ।
क्षेत्र नं. १ नेपाली कम्युनिष्ट पार्टीका नेता एवं लुम्बिी प्रिदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी र मालिकराम यादव स्वतन्त्र उमेदवार छन् । नेकपाभित्रको आन्तरिक राजनीतिक विवादपछि टिकट नपाएका पूर्वमुख्यमन्त्री केसीले स्वतन्त्र उमेदवारी दिएका कारण दुईपटक क्षेत्र नं.१ बाट निर्वाचित भएका मेटमणि चौधरीलाई निर्वाचनमा चुनौती थपिएको छ ।
०७९ सालको निर्वाचनमा मेटमणि चौधरीले २६ हजार ५६३ मत प्राप्त गरी विजयी हुँदा एमालेकी शान्ता चौधरी २१ हजार ४७९ मतसहित दोस्रो भएकी थिइन् । शान्ता यसपटक एमालेको समानुपातिक सूचीमा हुँदा एमालेबाट रेवतीरमण शर्मा उमेदवार बनेका छन् ।
०७९ को निर्वाचनमा तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७९८ मत प्राप्त गरेका थिए । पाठक रास्वपाका लुम्बिनी प्रदेश सभापति समेत हुन् ।
लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकासँगै घोराही उपमहानगरपालिकाका वडा न. १, २, ३ र ४ वडा समेटिएको निर्वाचन क्षेत्र १ मा एक लाख ४० हजार एक मतदाता छन् । विगतको निर्वाचनभन्दा यसपटकको निर्वाचनमा पाँच हजार २६८ बढी मतदाता थपिएका छन् ।









