विगतमा भित्तेलेखन गर्ने, पोस्टर लेख्ने लगायतका प्रचारात्मक गतिविधिले सार्वजनिक स्थल कुरुप हुन्थे। अहिले यस्तो देखिएन।
निर्वाचनका बेला सडक र चोकहरू फोहोर हुन पाएनन्। यसो हुनुमा राजनीतिक दल, उम्मेदवार र कार्यकर्ताको मात्रै होइन निर्वाचन आयोगको भूमिका पनि सराहनीय छ। यस्ता गतिविधिले हाम्रो लोकतान्त्रिक अभ्यास सुदृढ हुँदै गएको आभास समेत दिएको छ।
Advertisement
अघिल्लो निर्वाचनका बेला निर्वाचन प्रक्रियामै सामेल नभएका केही राजनीतिक शक्ति यसपटक निर्वाचनमा सहभागी भएका छन्। यद्यपि केही शक्तिहरूले बहिष्कार गरेर चुनौती खडा गर्न पनि सक्रिय भइरहेका छन्। तिनलाई मूलधारको राजनीतिमा ल्याउने जिम्मेवारी अब चयन हुने नेतृत्वकै काँधमा रहेको छ।
यो निर्वाचनबाट निर्वाचन आयोग पनि बिस्तारै प्रविधिमैत्री हुन खोजेको छ। आयोगले सामाजिक सञ्जालबाट हुन सक्ने डिसइन्फरमेसन (दुष्प्रचार) रोक्ने सकारात्मक पहल गरेको छ। यसबाट आचारसंहिता उल्लंघन पक्कै कम भएको छ। साथै आयोगले बढीभन्दा बढी मतदाताले आफ्नो मतको प्रयोग गर्न पाऊन् भनेर जुनसुकै परिचय खुल्ने कार्डले भोट दिन आह्वान गर्नु अर्को सकारात्मक पक्ष हो।
आयोगले मतदानका लागि चारवटा फरक मतपत्रको व्यवस्था गरेको छ– प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ, प्रदेशसभा सदस्यको समानुपातिकतर्फ तथा प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ र प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फका अलगअलग मतपत्रमा मतदान गर्नुपर्नेछ। यो पनि मतदाताले बुझ्नैपर्ने विषय हो।
निर्वाचन स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन राजनीतिक दल तथा उम्मेदवारसँगै आमनागरिकको पनि उत्तिकै भूमिका हुन्छ। निर्वाचन स्वच्छ र भयरहित भएमा मात्रै आफूले चाहेका व्यक्ति वा दललाई नेतृत्वमा पुर्याउन सहज हुनेछ। यसका लागि राजनीतिक दल र तिनका कार्यकर्ता, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक सबैको समान दायित्व हुनेछ।
कुनै डर, धाकधम्की, प्रलोभन आदिमा नपरी शान्तिपूर्ण ढंगले मतदानमा सहभागी भएर मताधिकार प्रयोग गर्नु सबै नागरिकको संवैधानिक अधिकार हो। यस प्रक्रियामा नेपाल राज्यमा रहेका सबै बालिगहरू निर्धक्कसाथ सहभागी भई सही नेतृत्वको छनोट गरौँ। सबै मतदाता र उम्मेदवारलाई शुभकामना !









