निर्वाचनमा खटिएका १५ जनाको मृत्यु

बाँके- बैतडीमा ३, बारामा २, रूपन्देही, धनुषा, महोत्तरी, नवलपरासी, मकवानपुर र कञ्चनपुरमा १–१ जना निर्वाचन प्रहरीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विभिन्न जिल्लामा निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारी गरी १५ जनाको मृत्यु भएको छ । बैतडीमा ३, बारामा २, रूपन्देही, धनुषा, महोत्तरी, नवलपरासी, मकवानपुर र कञ्चनपुरमा १–१ जना निर्वाचन प्रहरीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रामेछाप र सर्लाहीमा १–१ जना मतदान अधिकृतको मृत्यु भएको छ । मुस्ताङमा १ जना निर्वाचन अधिकृत र रामेछापमा १ प्रहरीको मृत्यु भएको छ ।

Advertisement

१८ फागुनमा रामेछापमा मतदान अधिकृत डोरप्रसाद घिमिरे र प्रहरी सहायक निरीक्षक परशुराम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछाप नगरपालिका शीतलदेवी मावि सिरुबारी र वडा कार्यालय भवन साँघुटारका लागि निर्वाचन सामग्री लैजाँदै गर्दा गाडी दुर्घटना भएर उनीहरूको मृत्यु भएको हो । मृतक घिमिरे निमावि द्वितीय श्रेणीका शिक्षक थिए । सप्तरी रूपनी गाउँपालिका–१ का यादव जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत थिए ।

मतपत्र, मतपेटिकासहित निर्वाचन सामग्री लिएर गएको ना ७ ख ६७६८ नम्बरको गाडी सडकमा मोड नपुगी ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनामा ७ जना घाइते भएका थिए । घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको थियो । निर्वाचनमा खटाइएका कर्मचारी दुर्घटनामा परेपछि दुवै मतदान केन्द्रमा अन्य कर्मचारी र निर्वाचन सामग्री पठाइएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत नारायण लामिछानेले बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु