बाँके— बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा करिब ९ लाख मतदाता थपिएका छन् । निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता सूचीअनुसार १३ निर्वाचन क्षेत्रमा १० हजारभन्दा बढी मतदाता थपिएका छन् ।
लुम्बिनी प्रदेशको बाँके–क्षेत्र २ मा १० हजार भन्दा बढी मतदाता थपिएका निर्वाचन क्षेत्रमा लुम्बिनी प्रदेशबाट एकमात्र निर्वाचन क्षेत्र परेको छ । बाँके–२ बाट अघिल्लो निर्वाचनमा राप्रपाका धवलशमशेर जबरा साढे २९ हजार मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका इस्तियाक राई ५ हजार मतले पछि परेका थिए । त्यतिबेला बाँके–२ मा ९७ हजार मतदाता थिए । अहिले मतदाता थपिएर एक लाख ८ हजार पुगेका छन् । निवर्तमान सांसद जबरा निर्वाचनको दौडमै छैनन् भने यसअघि जसपाका उम्मेदवार राई एमालेबाट उम्मेदवार छन् । कांग्रेसबाट सुधांशु कोइराला, नेकपाबाट दीपेन्द्र बिष्ट र रास्वाबाट विवेककुमार श्रेष्ठ उम्मेदवार छन् ।









