प्रतिनिधिसभाका प्रत्यक्षतर्फका सांसद निश्चित भएको छ । १६५ निर्वाचन क्षेत्रकै परिणाम सार्वजनिक भएको छ । रास्वपा पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ मात्रै रास्वपाका १२५ सांसद चुनिएका छन् । हालसम्म नेपाली कांग्रेसले १८ सिट पाएको छ । नेकपा एमालेले ९ सिट जितेको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्षमा ८ सिट जितेको छ । नयाँ दलका रुपमा श्रम संस्कृति पार्टी उदाएको छ । प्रत्यक्षमा ३ उमेदवारले संसदीय यात्रा तय गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सिट मात्रै जितेको छ । म्याग्दीबाट महावीर पुन स्वतन्त्र सांसद बनेका छन् ।
Advertisement
समानुपातिकतर्फ भने धमाधम मत गणना भइरहेको छ ।
समानुपातिकतर्फको मतमा पनि रास्वपा अरु दल भन्दा निकै अघि देखिएको छ । अनुसार समानुपातिकतर्फ १ करोड ९ लाख मत खसेको थियो । त्यसको मत परिणाम सार्वजनिक हुन अझै केही दिन लाग्ने छ ।
मत गणना सकिएपछि आयोगले समानुपातिकतर्फ दलले पाउने सिट बाँडफाँड गर्नेछ । समानुपातिकतर्फ सिट ल्याउनका लागि थ्रेस होल्ड कटाउनुपर्छ । अर्थात् सदर मतको ३ प्रतिशत मत कटाउने दलले समानुपातिकतर्फ सिट पाउनेछन् ।
मतका आधारमा आयोगले दलले पाउने सिट निर्धारण गर्छ । समानुपातिक मतमा हालसम्म आएको नतिजा हेर्दा रास्वपाले धेरै सिट पाउने देखिन्छ ।
निर्धारित संख्यामा समानुपातिकतर्फ निर्धारित कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न आयोगले राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ ।
दलहरूले समानुपातिक बन्दसूची भित्रबाट नाम सिफारिस गरे पछि ती नामावली समावेशी कलष्टर बमोजिम मिले नमिलेको रूजु गर्नेछ ।
समानुपातिकतर्फका निर्वाचित सांसदको नाम एकिन भएपछि आयोगले प्रमाणपत्र उपलब्ध गराउँछ । निर्वाचनको मत परिणाम सार्वजनिक भएपछि आयोगले त्यसको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्छ । आयोगले चैतको पहिलो साताभित्र मत परिणाम बुझाउने सम्भावना छ ।
“चैत्र ५ गते भित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको छ,” प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन् ।
त्यसपछि मात्रै सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।









