बर्दियाका बस्ती छिर्दै चितुवा, सर्बसाधारण आतंकित

बर्दिया/ ईकान्तिपुर— बर्दियामा चितुवाको त्रास यति बढेको छ कि किसानहरू अब एक्लै खेत जान पनि डराउन थालेका छन् । खेत, जंगल र घरआँगनसम्म चितुवा पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि गाउँबस्तीका बासिन्दा समूह बनाएर मात्रै काम गर्न बाध्य भएका छन् ।

चालु आर्थिक वर्षमै जिल्लामा चितुवाको आक्रमणबाट ८ जनाको ज्यान गएपछि मानव–वन्यजन्तु द्वन्द्व गम्भीर बन्दै गएको छ ।

Advertisement

बारबर्दिया नगरपालिका–१० बेलभारका रामबहादुर थारु एक वर्षअघिसम्म निर्धक्क एक्लै खेतमा काम गर्न जान्थे । चितुवाको त्रासले अहिले खेतमा जानु पर्दा गाउँका किसानको समूह बनाई आलोपालो मिलेर जानुपर्ने बाध्यता रहेको उनले सुनाए ।
यस आर्थिक वर्ष यस पालिकाको १० र ११ नम्बर वडामा चितुवाले मानिसको ज्यान लिन थालेपछि गाउँबस्तीका बासिन्दा निकै त्रसित छन् । बारबर्दिया मात्रै नभई बर्दियाका आठै पालिकासँग जोडिएको वन नजिक रहेका बस्तीका मानिस वन्यजन्तुको त्रासले दिउँसो एक्लै हिँडन् डराउँछन् ।

‘कतिबेला चितुवाले आक्रमण गर्ने हो भन्ने चिन्ता छ । साँझ नपर्दै किसान खेत छाडेर घर आइपुग्छन्,’ थारुले भने, ‘उमेरले ७० कट्यो, यस्तो अवस्था पहिलोपटक भोगिरहेका छौं ।’

घरमा पालेका संगुर, बाख्रा, कुखुरालगायत पशुपन्छीसमेत चितुवाले खाने गरेको बारबर्दिया–११ बेलभारकी प्रेमकुमारी थारुले बताइन् । ‘साँझ पर्नासाथ खेतबारीको काम छाडेर घर आइपुग्छौं,’ उनले भनिन्, ‘नानीहरु विद्यालय जान, बजार पुग्न र हिँडडुल गर्न डर लाग्छ ।’

गत पुस ९ मा फेनापति सामुदायिक वनमा घाँस काट्न गएका बेला चितुवाको आक्रमणमा परी बारबर्दिया–१० बैदीकी ५२ वर्षीया पवित्रा डाँगीको ज्यान गयो । सोही पालिका–१० डफैयाका ३६ वर्षीय दिनेश चौधरी पेरहवा सामुदायिक वनमा शौच गर्न जाँदा गत पुस ५ गते चितुवाको आक्रमणमा परे । उनको पनि मृत्यु भयो ।

सोही पालिका–११ कि ६२ वर्षीया खिदनी थारु गत माघ ७ गते आफ्नै बारीमा तोरी उखेल्दै थिइन्, चितुवाको आक्रमणमा मृत्यु भयो । गत मंसिर १२ गते सोही पालिका–११ की ६३ वर्षिया गोपी थरुनी कालाबेलभारमा घाँस काट्न गएका बेला चितुवाको सिकार बनेको डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरीले बताए ।

गुलरिया नगरपालिका–४ का ३६ वर्षीय नन्दबहादुर रोकाय माघ २३ गते जनजागृति सामुदायिक वन बारबर्दिया–१० मा घाँस काट्न गएका बेला चितुवाको आक्रमणमा परे ।

गत साउन ३० गते गुलरिया–११ भैसाहीकी जगतरानी थरुनीलाई खेतमा धान गोडिरेका बेला चितुवाले ज्यान लियो । डिभिजन वन कार्यालयका अनुसार गत भदौ ५ गते किदवई सामुदायिक वनमा घाँस काट्न जाँदा गुलरिया–१२ की ३३ वर्षीया कविता मोक्तानको चितुवाको आक्रमणबाट मृत्यु भएको तथ्यांक वन कार्यालयसँग छ । पछिल्लो पटक फागुन २० गते राजापुर नगरपालिका–१० कालाबन्जरमा भैंसी चराउन गएका बाजेलाई खाजा दिन गएका बेला ६ वर्षीय आदित्य थारूलाई चितुवाको आक्रमणमा परी ज्यान गयो ।

यो आर्थि वर्षको हालसम्म चितुवाको आक्रमणमा ८ जनाले ज्यान गुमाइसके भने दर्जनभन्दा बढी घाइते छन् । सोही अवधिमा पाटेबाघबाट २ र गैंडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

वन्यजन्तुको आक्रमणबाट मृत्यु हुने क्रम नरोकिएपछि कैयौंपटक स्थानीयले जिल्ला प्रशासनमा विरोध प्रदर्शन गरे । पीडितहरुले चितुवा र बाघ नियन्त्रणका लागि सरकारलाई दबाब दिँदै ‘कि आफूहरुलाई मार्न दिनुपर्ने’ भन्दै आक्रोश पोखेका थिए ।

बर्दिया निकुञ्ज र भारतीय सीमा कतरनियाघाट वन्यजन्तु आरक्षमा बाघको संख्या बढ्दै गएपछि चितुवा बाहिर निस्कन थालेको संरक्षणकर्मी बताउँछन् । बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बर्दिया निकुञ्ज र कतरनियाघाट वन्यजन्तु आरक्षमा बाघको संख्या बढ्दा चितुवा गाउँबस्ती छिर्न थालेको बताए । ‘चितुवाले आहार नपाएपछि गाउँबस्तीमा कुकुर खाएर भ्याएपछि अहिले बाख्रा,गाईबस्तुको सिकार गर्न थालेको छ,’ उनले भने, ‘यी वस्तु जोगाउन तारजालीले छेकबार गरेपछि आहाराका लागि मानिसमाथि आक्रमण गर्न थालेको हो ।’

बर्दियाका सामुदायिक वन, निकुञ्जलगायत क्षेत्रमा करिब एक सय चितुवा रहेको अनुमान वनका कर्मचारीको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फे आहाराको कमी भएपछि भारतीय वन कर्मचारीले कतरनियाघाट आरक्षमा समस्याग्रस्त चितुवा छाडेकाले ती बर्दियाका गाउँबस्तीमा पसेको एक अध्ययनले देखाएको बताउँछन् ।

जिल्ला वन प्रमुख विजयराज सुवेदीले वन्यजन्तुको समस्या जटिल भएकाले अल्पकालीन र दीर्घकालीन कार्यक्रम गरिरहेका छौं । ‘मानिसलाई चेतना बढाउने, वन र आबादीबीचमा तारबार लगाउने, वन जोगाउने, समस्याग्रस्त वन्यजन्तुलाई समातेर अन्यत्र राख्ने लगायत वन्यजन्तुको बासस्थानलाई सुधार गर्ने काम भइरहेको छ,’ उनले भने ।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा रणनीतिक पहल थाल्न नितान्त जरुरी देखिएको स्थानीय बताउँछन् । वन प्रशासनले यस आवमा ६ वटा समस्याग्रस्त चितुवा नियन्त्रणमा लिइसकेको जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र सामुदायिक वनमा आहारा कम हुँदै गएकाले चितुवा बस्तीमा प्रवेश गर्न थालेको संरक्षणकर्मी बताउँछन् । वन कार्यालय प्रमुख सुवेदीका अनुसार आहारको कमी र वन क्षेत्रमा बाघका कारण चितुवा बाहिर निस्कन थालेका हुन् । ‘बर्दियामा चितुवाको संख्या यकिन छैन,’ उनले भने, ‘यसको गणना पनि गरिएको छैन ।’

चितुवा बस्ती छिर्न थालेको एक दशकयता हो । उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र दक्षिणी सीमा भारतको कतरनियाघाट वन्यजन्तु आरक्षले बर्दिया घेरिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु