सुर्खेत/ रातोपाटी- गुर्भाकोट नगरपालिका–६, बडाखोलीकी १६ वर्षीया इनिशा विकको वीरेन्द्रनगरस्थित जङ्गलमा बलात्कारपछि हत्या भएको घटनाप्रति सबैको ध्यान केन्द्रित भइरहेका बेला गुर्भाकोटमै अर्को कहालीलाग्दो घटना घट्यो । गुर्भाकोट नगरपालिकाको वडा नम्बर १२ स्थित पिप्ले गाउँकी ३८ वर्षीय माया कठायत आइतबार आफ्ना दुई छोराछोरीसहित भेरी नदीमा हामफालेर अस्ताइन् ।
पारिवारिक कलह सहन नसकेर मायाले मृत्युको बाटो रोजेको हालसम्मको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घरमा मायाका श्रीमानले मदिरा सेवन गरी श्रीमती र छोराछोरीलाई यातना दिने, श्रीमतीलाई मारिदिने धम्की दिने गरेको खुलेको छ ।
Advertisement
श्रीमानको दैनिक किचलोबाट विक्षिप्त बनेकी उनले आफूलाई सम्हाल्न नसकी आत्महत्याको बाटो रोज्न विवश भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतको भनाइ छ ।
माया गत आइतबार बिहान ११ वर्षीय छोरी आशा र ५ वर्षीय छोरा दीपक कठायतसहित सम्पर्कविहीन भएकी थिइन् । मायाका श्रीमान् भूपेन्द्र कठायतले बेलुका प्रहरी चौकी गुमीमा आफैँ फोन गरेर छोराछोरीसहित माया सम्पर्कविहीन भएकोबारे खबर गरे । त्यसपछि प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमाण्डमा ४ जनाको प्रहरी टोली र स्थानीयहरू खोजतलासमा खटिए ।
घरदेखि करिब ३ किलोमिटर टाढा पर्ने भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला पर्यो । त्यसपछि प्रहरीलाई लाग्यो– छोराछोरीसहित माया भेरीमै हामफालेकी हुन सक्छिन् ।
भेरी नदी आसपासको क्षेत्रमा खोजतलासका लागि ३५ जना प्रहरी तथा स्थानीय बासिन्दा सक्रिय रहे । सोमबार बेलुकातिर लेकबेशी नगरपालिका–३ को पटारोस्थित भेरी नदीमा मायाको शव भेटियो ।
छोरी आशाको शव मंगलबार बिहान गुर्भाकोट नगरपालिका–१३, भम्कास्थित भेरी नदीमै फेला पर्यो । यद्यपि छोरा दीपकको अवस्था भने अझै अज्ञात छ । प्रहरी र स्थानीयले खोजीकार्य जारी राखेका छन् ।
इलाका प्रहरी कार्यालय छिन्नुका प्रहरी निरीक्षक प्रकाश केसीका अनुसार, अहिलेसम्मको अनुसन्धानबाट पारिवारिक कलहकै कारण यो घटना भएको देखिन्छ । घटना हुनुभन्दा अगाडि माया शुक्रबार करिब एक घण्टाको दुरीमा पर्ने माइतीघर पुगेकी थिइन् । त्यहाँ उनी कान्छोबुबा अम्मरदेव गिरीको घरमा बसिन् ।
मायाले नेपालगञ्जबाट उपचार गरेर फर्केको भनेर अम्मरदेवलाई भनेकी थिइन् । बेलुकापख मायाका श्रीमान् भूपेन्द्रले अम्मरदेवलाई फोन गरे । माया र छोराछोरीलाई घर पठाइदिन उनले आग्रह गरे ।
अम्मरदेवले खाना खुवाएर आधा बाटोसम्म पुर्याइदिए, तर भूपेन्द्र राति ९ बजेतिर अम्मरदेवको घर पुगे । जबकि अम्मरदेवले केही घण्टा अघि नै आधा बाटोसम्म माया र उनका छोराछोरीलाई पुर्याइसकेका थिए ।
पछि खोजतलास गर्दा माया छोराछोरीसहित जङ्गलमा लुकेर बसेको अवस्थामा भेटिए । मायाले कान्छोबुबालाई पारिवारिक सम्बन्धमा आएको खटपटबारे सुनाइन् । आफूलाई श्रीमानले कुटपिट गर्ने, यातना दिने गरेको कुरा उनले बताइन् ।
अम्मरदेवका अनुसार त्यसबेला आफ्नै अगाडि भूपेन्द्रले मायामाथि कुटपिट गरेका थिए । त्यसदिन माया अम्मरदेवकै घरमा बसिन् । शनिबार छोरी आशा घर गएर बुबालाई खाना पकाएर खुवाइन् । बेलुकापख भूपेन्द्र छोरीसहित आएर मायालाई फकाउने प्रयास गरे । मायाका माइतीपक्षहरूबिच छलफल चल्दा विगतमा भएका कमजोरी नदोहोर्याउने प्रतिबद्धता उनले व्यक्त गरे । त्यसपछि आइतबार बिहानै उनीहरू आफ्नो घर फर्किए ।
तर, आइतबार बिहानैदेखि माया र छोराछोरी सम्पर्कविहीन भए । गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना विकले पनि पारिवारिक कलहकै कारण दुखद् घटना भएको बताइन् । ‘अहिलेसम्म हेर्दा पारिवारिक कलहले नै घटना भएको देखिन्छ,’ उनले भनिन् ।
मायाले अन्य आफन्तलाई पनि ‘मैले दुःख पाउने भएँ, म मरेँ भने केटाकेटीले दुःख पाउने भए’ भन्दै दुखेको पोख्ने गरेकी थिइन् । ‘निकै टर्चर रहेछ, आफू मर्दा केटाकेटीले दुःख पाउँछन् भनेर ऊ सामूहिक आत्महत्याको बाटो रोज्न बाध्य भई,’ एक आफन्तले भने ।
छोरी आशा कक्षा ५ मा पढ्थिन् भने छोरा दीपक भर्खर स्कुल जान थालेका थिए । ती आफन्तका अनुसार भूपेन्द्रले पछिल्लो ५ महिना यता मायामाथि निकै यातना दिन थालेका थिए ।
भूपेन्द्र पहिला रोजगारीका लागि भारत जान्थे । पछिल्लो समय उनी अटो चलाउँथे । त्यस क्रममा उनको अन्य महिलासँग सम्बन्ध रहेको पनि सुन्नमा आएको ती आफन्तले बताए । ‘जसका कारण घरमा दिनहुँ कोलाहल भइरहने रहेछ,’ उनले भने ।
मायाका बुबाले दिए ज्वाइँविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
भूपेन्द्रविरुद्ध मायाका बुबाले बिहीबार आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता गराएका छन् । इलाका प्रहरी कार्यालय छिन्नुका प्रहरी निरीक्षक प्रकाश केसीका अनुसार श्रीमानको चरम यातनापछि नै छोरीले छोराछोरीसहित भेरीमा हामफालेको भन्दै मायाका बुबाले जाहेरी दर्ता गराएका हुन् ।
मायाका बुबा बालुदेव गिरीले दैनिक मदिरा सेवन गरी छोरी तथा नाती–नातिनालाई ज्वाइँले यातना दिने गरेको जाहेरीमा उल्लेख गरेका छन् । ‘हामीले भूपेन्द्रलाई पक्राउ गरिसकेका छौँ,’ प्रहरी निरीक्षक केसीले भने, ‘अब बाँकी कुरा अदालतले फैसला गर्छ ।’
माया र छोरी आशाको शवको मेहलकुना अस्पतालमा पोस्टमार्टम भइरहेको छ ।









