नेपालगन्ज । मुगुमा एकै परिवारको चार जनाको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले १३ दिनपछि छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाहीलाई पक्राउ गरेको छ । पकाउ परेका गोरखबहादुर मृतकका नातेदार पर्छन्।
कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका-६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो।
Advertisement
घटना भएको पर्सिपल्ट अर्थात कात्तिक १० गते बिहान छिमेकीले घरको ताला फोडेर हेरेपछि चारै जना मृत अवस्थामा फेला परेका हुन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नारायण शर्मा र नेपाल प्रहरी प्रदेश कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदीको नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो।
अनुसन्धानकै लागि कर्णाली प्रहरी प्रमुख डिआइजी भीम ढकाल समेत मुगु पुगेका थिए। जाजरकोटमा भूकम्प गएपछि उनी फर्किएका थिए। त्यहाँ जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापा नेतृत्वको टोलीले पनि अनुसन्धान गरिरहेको थियो। पछि प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट पनि डिएसपी धर्माराज भण्डारी नेतृत्वमा अनुसन्धान टोली खटाएको थियो।









