१ मंसिर, । बाँके प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–११ का ३० वर्षीय आकाश रानालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।
Advertisement
उनलाई जानकी गाउँपालिका ४ मा प्रहरीले गोली चलाएरपक्राउ गरेको हो । रानाको खुट्टामा एक राउण्ड गोली लागेको र उनी खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
तिहारको टीकाको दिन कोहलपुरमा मिनबहादुर विकलाई खुकरी प्रहार गरी गम्भीर घाइते बनाएर भागेका उनलाई प्रहरीले खोजीरहेको थियो । सोही क्रममा जानकी गाउँपालिकामा लुकेर बसेको सूचना पाएपछि प्रहरी उनलाई नियन्त्रणमा लिन पुगेको थियो । उनी भागेपछि प्रहरीले एक राउण्ड गोली चलाएको हो ।
आकाश राना लागुऔषध मुद्दामा ५ वर्ष जेल बसेर छुटेका थिए । उनीविरुद्ध गत कात्तिक २८ गते एक १० वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको उजुरीसमेत प्रहरीमा परेको छ । उनले तिहारको टीकाको दिन राति ३ बजेतिर कोहलपुरमा मिनबहादुर विकलाई खुकरी हानेर घाइते बनाएका थिए । मिनबहादुरको उपचार नेपालगञ्जमा हुन नसकेपछि भारतको लखनउ लगिएको छ ।









