मलामी बस्ने टहरा भत्काएका वनका कर्मचारीले काटे बन्दै गरेको कल्भर्टका सरिया

 

बर्दिया — मलामी बस्ने टहरा भत्काएको बनका अधिकारीहरुले फेरि बारबर्दिया नगरपालिका–४ झोलुङ्गे पुल जाने बाटोमा निर्माणाधीन कल्भर्टको वनका कर्मचारीले सरिया काटेका छन् । डिभिजन वन कार्यालयका कर्मचारीले बिहीबार निर्माणाधीन कल्भर्टका सातवटा सरिया काटेपछि स्थानीय आक्रोसित भएका छन् ।

Advertisement

सरिया काटेको जानकारी पाउनासाथ स्थानीय सर्वसाधारणले अवरोध गरेपछि वनका कर्मचारीको भागाभाग भएको थियो । बैरियाघाटस्थित बबई नदीमा रहेको झोलुङ्गे पुल जाने बाटोमा खाल्डो रहेको हुँदा बर्खामा आवतजावत गर्न सर्वसाधारणलाई सास्ती व्यहोर्नु पर्छ ।

पराम्परादेखि चलनचल्तीमा रहेको बाटोमा कल्भर्ट निर्माण गर्दा वनले भत्काउन खोजेको बारबर्दिया नगरपालिका–४ बैरिया गाउँका बडघर राधेश्याम थारुले बताए । ‘बघैला र जिराह सामुदायिक वनको सिमानामा पर्ने उक्त बाटो पराम्परादेखि चलनचल्तीमा छ,’ उनले भने, ‘पुर्खादेखि चलनचल्तीको बाटोमा अघिल्लो सातादेखि कल्भर्ट निर्माण सुरु भएको हो ।

अहिले वनका कर्मचारीले दादागिरी शैलीमा रोक्न खोजेका छन् ।’ हामी गाउँलेले २०४४ सालमा वृक्षारोपण गरी बनाएको वन हो । शुक्रबार यस विषयमा तीनरचार गाउँका स्थानीय जम्मा भएर डिभिजन वन कार्यालयमा जाने तयारी भइरहेको उनले जनाए ।

झोलुङ्गे पुल जाने बाटोमा खाल्डो हुँदा सर्वसाधारणको आवश्यकतालाई मध्यनजर गरी बिग्रुप संस्थासँग समन्वय गरी कल्भर्ट निर्माण सुरु भएको बारबर्दिया नगरपालिकाकी उपप्रमुख रत्नकुमारी पाण्डेले बताइन् । ‘सम्बन्धित सामुदायिक वनसँग समन्वय गरी कल्भर्ट निर्माण सुरु गरेका थियौं, कल्भर्टको आरसीसी ढलानसमेत भइसकेको छ,’ उप–प्रमुख पाण्डेले भनिन्, ‘तर बिहीबार कुनै जानकारीबिना वनका कर्मचारीले निर्माणाधीन कल्भर्टको सरिया काटेका छन् ।’ स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा सरिया काटिसकिएको उप–प्रमुख पाण्डेले बताइन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु